निर्यात अनुदान प्रदान गर्न निर्देशन

अनुदानका लागि वस्तु निर्यात गरेबापत विदेशबाट पैसा प्राप्त भएपछि आफूले कारोबार गरेको बैंकमा सम्पर्क गर्नुपर्नेछ । प्रक्रिया पूरा भएका सबैले सोही बैंक मार्फत अनुदानको रकम प्राप्त गर्ने व्यवस्था कार्यविधिले गरेको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्र बैंकले सोमबार कार्यविधि जारी गरेर अनुदानसम्बन्धी नयाँ व्यवस्था लागू गर्न बैंकहरूलाई निर्देशन दिएको छ । निर्यातमा नगद अनुदान बढाउने सम्बन्धमा सरकारले करिब २ महिनाअघि कार्यविधि पारित गरेको थियो ।

त्यसपछि कार्यान्वयनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्र बैंकलगायत सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार राष्ट्र बैंकले ‘निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि ०७५’ जारी गरेको हो ।

सरकारले एक महिनाअघि निर्यातमा दिंदै आएको नगद अनुदानको सीमा बढाएर पाँच प्रतिशतसम्म पुर्‍याएको थियो । उच्च आयात र न्यून निर्यातका कारण व्यापारघाटा चुलिंदै गएको बेला सरकारले निर्यातबापत नगद अनुदानको सीमा बढाएको हो ।

घरेलु उत्पादन बढाएर निर्यात प्रोत्साहन गर्ने उद्देश्यले सरकारले अनुदानको सीमा बढाएको बताइएको छ । यसअघि एकदेखि दुई प्रतिशतसम्म नगद अनुदान पाउने व्यवस्था थियो । यो व्यवस्थाअन्तर्गत गत वर्ष सरकारले ३० करोड रुपैयाँ अनुदान दिइसकेको राष्ट्र बैंकको तथ्यांक छ ।

नयाँ व्यवस्थाअनुसार अब निर्यातकर्ताले तोकिएका २६ प्रकारका वस्तु निर्यातमा तीनदेखि पाँच प्रतिशतसम्म नगद अनुदान पाउनेछन् । यी वस्तुलाई औद्योगिक र अन्य उत्पादन गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ ।

औद्योगिक उत्पादनको सूचीमा परेका १५ प्रकारका वस्तुको निर्यातमा सरकारले ५ प्रतिशत नगद अनुदान दिनेछ । यस्तै, अन्य उत्पादनको सूचीमा रहेका ११ प्रकारका वस्तु निर्यातमा तीन प्रतिशत अनुदान प्रदान गरिने कार्यविधिमा उल्लेख छ । यो व्यवस्थाले घरेलु उत्पादन बढ्ने र नयाँ रोजगारी सिर्जना हुने सरकारको दाबी छ ।

अब भारतमा वस्तु निर्यात गरेबापत पनि अनुदान पाइने व्यवस्था कार्यविधिमा गरिएको छ । यसअघि भारतबाहेकका तेस्रो मुलुकमा भएको निर्यातमा मात्र अनुदान दिने व्यवस्था थियो । दुवै प्रकारको अनुदानका लागि निर्यातको कारोबार बैंकिङ प्रणाली मार्फत (एलसी) हुनुपर्नेछ ।

अनुदानका लागि वस्तु निर्यात गरेबापत विदेशबाट पैसा प्राप्त भएपछि आफूले कारोबार गरेको बैंकमा सम्पर्क गर्नुपर्नेछ । प्रक्रिया पूरा भएका सबैले सोही बैंक मार्फत अनुदानको रकम प्राप्त गर्ने व्यवस्था कार्यविधिले गरेको छ । यसरी अनुदान दिएबापतको रकम राष्ट्र बैंक मार्फत सम्बन्धित बैंकले प्राप्त गर्नेछन् ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा औद्योगिक उत्पादनको निर्यातमा ५ प्रतिशतसम्म निर्यात अनुदान दिइने घोषणा गरिएको थियो । त्यसपश्चात् आपूर्ति मन्त्रालयले कार्यविधि बनाएर निर्णयार्थ मन्त्रिपरिषदमा पेस गरेको थियो । उक्त कार्यविधि दुई महिनाअघि मन्त्रिपरिषदबाट स्वीकृत भएको थियो । सरकारले नगद अनुदानका लागि चयन गरिएका अधिकांश वस्तु तुलनात्मक लाभका वस्तुभित्र पर्छन् ।

कार्यविधिअनुसार निर्यातकर्ताले स्वदेशमै प्रप्त हुने वा उत्पादन हुने कृषि वन तथा खानीजन्य वस्तुको हकमा कम्तीमा एक चरणको प्रशोधन प्रक्रिया पूरा गरेको, उत्पादनमा मूल्य अभिवृद्धि कम्तीमा ५० प्रतिशत भएको हुनुपर्ने
उल्लेख छ ।

पाँच प्रतिशत अनुदान प्रदान गर्ने वस्तु
प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरू, हाते कागज तथा सोबाट उत्पादित सामान, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामानहरू, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची, प्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडरलगायत) र प्रशोधित जडीबुटी तथा सारयुक्त तेल छन् । अनुदान प्राप्त गर्नका लागि उल्लिखित वस्तु शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित भई उत्पादन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

तीन प्रतिशत अनुदान प्रदान गर्ने वस्तु
स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैंचा र ऊनीका सामान, च्याङ्ग्रा पस्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादन, सुनचाँदीका गरगहना, स्वदेशी अर्ध प्रशोधित छाला, औषधि, फेल्ट (ऊनीजन्य) का वस्तु, पोलिस्टर यार्नरफाइबर भिस्कोर्स यार्नरकटन यार्न र तामाका सामान (हस्तकलाका सामान, पूजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुँडा) ।

प्रकाशित : माघ २९, २०७५ ०८:५७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

थामखर्क विमानस्थल पुन: सञ्चालन

सजना बराल, डम्बरसिं राई

खोटाङ — झन्डै २८ महिनापछि थामखर्क विमानस्थल पुन: सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी, प्रतिनिधिसभा सांसद विशाल भट्टराई, नेपाल वायु सेवा निगम अध्यक्ष मदन खरेल, उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, खोटेहाङ गाउँपालिका ४ का अध्यक्ष प्रदीपकुमार राईलगायतले संयुक्त रूपमा सोमबार विमानस्थल उद्घाटन गरे । 

खोटाङको थामखर्क विमानस्थल पुन: सञ्चालनमा आएपछि सोमबार सर्वसाधारण स्थानीय सांस्कृतिक पहिरनमा स्वागत गर्दै । तस्बिर : सजना बराल/कान्तिपुर

विमानस्थलमा सोमबार नै नेपाल वायु सेवा निगमले परीक्षण उडान भरेको थियो । परीक्षण उडान तथा उद्घाटनका क्रममा सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरिएको थियो ।

धावनमार्ग कालोपत्रे गरीवरी विमानस्थल सुचारु गरेपछि स्थानीय खुसी भएका छन् । यातायातको खास सुविधा नभएकाले विमानस्थल अत्यावश्यक रहेको स्थानीय मनकुमारी राईले बताइन् ।

‘पहिले यहीँबाट प्लेन चढेर म दुईचोटि काठमाडौं गएकी थिएँ,’ उनले भनिन्, ‘दु:ख, बिमार पर्दा प्लेन चाहिन्छ ।
मलाई ढाड दुख्ने र पायल्सको समस्या छ । बेलाबेला जँचाउन गइरहनुपर्छ । प्लेन भए सजिलो हुन्छ ।’ नेपाल वायुसेवाले साताको दुई दिन उडान भर्ने निगमका अध्यक्ष खरेलले बताए । यहाँबाट काठमाडौं र विराटनगर जान सकिनेछ ।

स्थानीयले भने साताको कम्तीमा चार दिन प्लेन चलिदिए हुन्थ्यो भन्ने अपेक्षा राखेका छन् । पहिले पनि दुई दिन मात्रै प्लेन चल्दा ‘टिकट नपाएर लाप्पा खेल्नुपरेको’ बडकादियालेका जीवनप्रकाश श्रेष्ठले बताए । ‘हिउँदमा त जसोतसो दुई दिन लगाएर काठमाडौं, विराटनगर जान्छौं,’ उनले भने, ‘बर्खामा विजोग हुन्छ ।’ खोटाङको दक्षिणी भेगमा रहेको विकट खोटेहाङ गाउँपालिकासहित बराह पोखरी, जन्तेढुंगालगायत आसपासका बासिन्दालाई थामखर्क विमानस्थल महत्त्वपूर्णयातायात विकल्प रहेको स्थानीयवासीको भनाइ छ ।

०५६ मा स्थापना भएको विमानस्थल ०७३ असोजदेखि बन्द भएको थियो । रौता कन्स्ट्रक्सनले साढे १० करोड रुपैयाँ लगानीमा दुई वर्षमा कालेपत्रेसहित अन्य स्तरोन्नति गरेपछि विमानस्थल पुन: सञ्चालनमा आएको हो । ‘अब यहाँ बाह्रै महिना नियमित प्लेन चल्नेछ,’ मन्त्री अधिकारीले भने,‘पहाडी र दुर्गम क्षेत्रमा प्लेन जान छाडेकोमा अहिले हामीले त्यो चलन अन्त्य गर्नखोज्दै छौं ।’मन्त्री बनेयता आफूले थामखर्कसहित देशभरका ३२ वटा विमानस्थल कालोपत्रे गर्नुका साथै २८ वटा सुचारु गरेको अधिकारीको भनाइ थियो ।

यातायात सुविधा असहज भएका स्थानमा हवाई सेवा पुर्‍याउनु सरकारको जिम्मेवारी भएको उनले बताए । यसलाई सरल बनाउने प्रतिबद्धता व्यक्त गरे । सांसद विशाल भट्टराईले खोटाङलाई समृद्ध र विकसित जिल्ला बनाउन यातायातका पूर्वाधार बलियो बनाउनु आवश्यक रहेकोतर्फ जोड दिए । खोटाङमा लामिडाँडा, खानीडाँडा र थामखर्क गरी तीन विमानस्थल छन् ।

लामिडाँडालाई दुई महिनाभित्र सञ्चालनमा ल्याउनुका साथै खानीडाँडाको स्तरोन्नति गर्ने मन्त्री अधिकारीको भनाइ थियो । स्थानीयले मन्त्रीलाई विमानस्थल उद्घाटन गरेर मात्र नहुने बताएका थिए । ‘बलबहादुर केसी, प्रदीप ज्ञवालीलगायतले पनि आआफ्नो पालामा विमानस्थल उद्घाटन गर्नुभएको थियो,’ खोटाङ क्यापसका पूर्वक्याम्पस प्रमुख राजन ढकालले भने, ‘त्यसको केही समयपछि विमानस्थल बन्द भयो । त्यो नियति नहोरियोस् ।’

बीस रोपनी ६ आना क्षेत्रफल रहेको थामखर्क विमानस्थलमा राष्ट्रिय ध्वजाबाहकसँगै तारा एयरले पनि उडान भर्छ भन्ने सुनेपछि स्थानीय दुर्गा खत्री दंग थिए । ‘तारा आयो भने हामीलाई सुविधा हुन्छ,’ उनले भने, ‘दिनदिनै प्लेन उडिदिए हामीलाई बिमार पर्दा डर हुँदैन थियो तर ताराको टुंगो लागेको छैन ।’ हाल उनीहरू उपचारका लागि गाईघाट, रसुवा, फोक्सुन्टार हुँदै काठमाडौं, धरान वा विराटनगर पुग्ने गरेका छन् ।

खोटेहाङको रोक्सिङ भञ्ज्याङ, सोलढुंगालाई पर्यटकीय क्षेत्र घोषणा गरिएकाले विमानस्थल सञ्चालनमा आउनु सुखद भएको स्थानीयवासीले बताए ।

खोटेहाङ आसपासका सोलढुंगा, ट्याम्केडाँडा, सानो हलेसी, भाले ढुंगा, इन्द्रेणी पोखरी, बराह पोखरीजस्ता रमणीय स्थल रहेको खोटेहाङ ४ का वडाअध्यक्ष कीर्तन राईले जानकारी दिए । गाउँको विकासका लागि माग गर्दै उनले मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित : माघ २९, २०७५ ०८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT