कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१९ विद्युत् आयोजनामा सर्वसाधारणको लगानी उठाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले १९ वटा विद्युत् आयोजनामा सर्वसाधारणबाट लगानी संकलन गर्ने अभियान घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अभियानको सुरुवात गरे ।

१९ विद्युत् आयोजनामा सर्वसाधारणको लगानी उठाइने

३ हजार ४ सयभन्दा बढी कुल क्षमता हुने १९ वटा आयोजनामा सर्वसाधारणबाट लगानी संकलनको काम भने अबको केही समयपछि सुरु हुनेछ । प्रत्येक आयोजनाका लागि लगानी आह्वान गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिए ।

‘सर्वसाधारणले सुरुमा आफ्नो प्रतिबद्धता रकमको १० प्रतिशत रकम बैंक खातामा जम्मा गर्नुपर्छ,’ उनले भने, ‘प्रत्येक आयोजनाका लागि फरकफरक समयमा लगानी आहान गरिनेछ ।’

सुरुमा सर्वसाधारणबाट प्रतिबद्धताको १० प्रतिशत उठाएर बाँकी ९० प्रतिशत रकम भने आयोजनाको ७५ प्रतिशत काम सकिएपछि संकलन गर्ने मन्त्रालयको योजना छ । ‘सुरुमा संकलन गरिने कुल प्रतिबद्धताको १० प्रतिशत रकम सेयरमा रूपान्तरण नहुन्जेल ब्याज दिने अवधारणा छ,’ प्रवक्ता अर्यालले भने, ‘कति ब्याज दिने भनेर निर्धारण गर्न भने बाँकी छ ।’

नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत् सेयरधनी नारा दिएर यो अभियान सुरु गरिएको हो । सर्वसाधारणबाट १९ आयोजनाका लागि १ खर्ब २ अर्ब रुपैयाँ संकलन गर्ने योजना छ ।

जनताको रकम संकलन गरेर बनाइने यी आयोजनाहरू सात वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । छनोट गरिएका आयोजनामध्ये केही आयोजनाको काम सुरु भइसकेको छ भने केही आयोजना अध्ययनको चरणमा छन् । सुरुमा ३७ मेगावाटको त्रिशूली थ्रीबी आयोजनाका लागि लगानी आह्वान गर्ने मन्त्रालयको तयारी छ ।

३ हजार मेगावाट विद्युत् उत्पादन गर्न ६ खर्ब ९५ अर्ब आवश्यक पर्ने अनुमान छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले तयार पारेको अवधारणा पत्रअनुसार आयोजनामा स्वपुँजी ३० र बाँकी ऋण लगानी गरिनेछ ।

स्वपुँजीको ४९ प्रतिशत रकम सर्वसाधारणबाट संकलन गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए । अभियानको घोषणा कार्यक्रममा बोल्दै ऊर्जामन्त्री पुनले सर्वसाधारणले विद्युत् आयोजनाबाट नाफा कमाऊन् भन्नका लागि आर्थिक रूपमा सम्भाव्य र नाफामूलक आयोजना छनोट गरिएको जानकारी दिए ।

अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई गतिशील क्षेत्रमा लगानी गर्न आहान गरे । ‘पैसा राखेर बढ्दैन,’ उनले भने, ‘ऊर्जाजस्तो गतिशील क्षेत्रमा लगानी गर्नुपर्छ ।’

यी आयोजना निर्माणका लागि प्रतिमेगावाट औसत २० करोड लागत लाग्ने अनुमान छ । नाफाको प्रतिफल १५ देखि १७ प्रतिशत हुने आयोजना चयन गरिएको मन्त्रालयले जनाएको छ ।

यी आयोजनाहरूको स्वपुँजी जुटाउन सर्वसाधारणबाहेक हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोषजस्ता निकायबाट रकम संकलन गर्न सकिने मन्त्रालयको योजना छ ।

आयोजना निर्माण गर्न आवश्यक ऋण कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको कल्याणकारी कोषजस्ता निकायबाट बर्सेनि ऋण लगानी आउने मन्त्रालयको आकलन छ ।

मन्त्रालयले वैशाख २५ गते श्वेतपत्र जारी गर्दै ३ हजार मेगावाट क्षमताका विभिन्न आयोजनामा सर्वसाधारणबाट लगानी जुटाउने घोषणा गरेको थियो । चालु आवको बजेटमा पनि यही अभियानलाई समेटिएको थियो । हरेक प्रदेशमा विद्युत् आयोजना निर्माण गर्ने गरी आयोजना चयन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?