कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश राजधानीसँग जोडिएन सम्बन्ध

यातायातमा हवाईबाहेक अर्काे विकल्प छैन । स्थानीयलाई नेपालगन्ज भएर सुर्खेत जानुपर्ने बाध्यता छ ।
जयबहादुर रोकाया

हुम्ला — सडक यातायात सुविधा नभएको हुम्लासँग कर्णाली प्रदेशको राजधानी सुर्खेतको सम्बन्ध अझै जोडिन सकेको छैन । यातायातको एक मात्र विकल्प हवाई उडान प्रदेश राजधानीसँग सोझै नहुँदा स्थानीयलाई आउजाउमा सास्ती छ ।

कुनै पनि हवाई कम्पनीले सुर्खेत–सिमकोट नियमित यात्रु उडान नगर्दा प्रदेश राजधानीसँग हुम्ला प्रत्यक्ष सम्पर्क नजोडिएको हो । निजी हवाई कम्पनी र सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले नेपालगन्जबाट मात्र यात्रु उडान गर्ने गरेका छन् ।


केही समयअघि सीता एयरले सुर्खेत–सिमकोट र डोल्पा नियमित यात्रु उडान गर्ने तालिका निकाल्यो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सीता एयरको जहाजबाट डोल्पाको जुफाल र सिमकोट पुगेर नियमित यात्रु उडानको सुरुआत गरेको घोषण गरे । कम्पनीले यात्रु उडानको सुरुआतमै सीमित बनायो । यात्रु उडान कहिले पनि गरेन । प्रदेशको केन्द्रसँग जिल्ला सदरमुकाम जोड्न सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि वास्ता गरेको छैन । स्थानीयका अनुसार संघ र प्रदेश दुवै सरकारले यसमा ध्यान दिएका छैनन् ।


हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जालसँग जोडिएको छैन । जोडिन अझै केही वर्ष लाग्ने अवस्था छ । सडक सञ्जालमा नजिडिएकाले यातायातमा हवाईबाहेक अर्काे विकल्प छैन । स्थानीयलाई नेपालगन्ज भएर सुर्खेत जानुपर्ने बाध्यता छ । निर्वाचित जनप्रतिनिधि सुर्खेतमा काम पर्दा वा गोष्ठी/बैठकमा सहभागी बन्न पनि नेपालगन्ज भएरै आउजाउ गर्ने गरेका छन् ।


हुम्लाका बासिन्दा आफ्नो प्रदेशको केन्द्र पुग्न नियमित ५ नम्बर प्रदेशको नपालगन्ज भएर आउजाउ गर्न बाध्य छन् । सुर्खेतबाट सिमकोटका लागि कार्गाे उडान हुने गरेको भए पनि जहाजले यात्रु बोक्ने गरेका छैनन् । सबै हवाई कम्पनीले नेपालगन्जबाट मात्रै यात्रु उडान गर्ने गरेका छन् । समिट एयरका सिमकोटस्थित स्टेसन इन्चार्ज गोविन्द लामाले आफ्नो कम्पनीले सुर्खेत–सिमकोट उडान गर्ने लक्ष्य लिएको भए पनि सुर्खेतमा टिकट लिन कुनै यात्रु नहुँदा उडान नगरेका बताए ।


तारा एयरको सिमकोट स्टेसन इन्चार्ज सरास्वती लामाका अनुसार ताराले सुर्खेतबाट–सिमकोट महिनामा एक उडान गर्ने गरेको छ । तर सुर्खेतबाट हुने उडानमा यात्रु नआउने गरेको उनको भनाइ छ । सुर्खेतबाट पनि टिकट दिने गरेको छ भन्ने जानकारी नहुने भएकाले अधिकांश यात्रु नेपालगन्ज पुग्ने गरेका छन् । सीता एयरको जहाज मौसमी छ । नियमित नेपालगन्ज वा सुर्खेत बस्दैन । लामाका अनुसार सिमकोटदेखि सुर्खेतसम्म ३५ मिनेट र नेपालगन्ज ५० मिनेटको यात्रा हो ।

कर्णालीमा सरकारको स्वामित्व भएको नेपाल वायु सेवा निगमलगायत निजी हवाई कम्पनीका तारा, समित, सीता, मकालु एयरका जहाजले उडान भर्दै आएका छन् । यी निजी हवाई कम्पनीमध्ये तारा र समिटले एकएक वटा जहाज नेपालगन्जमा नियमित राख्ने गरेका छन् । नेपाल वायु सेवा निगमले पनि सातामा दुई उडान गर्ने तालिका बनाए पनि नियमित उडान भने हुने गरेको छैन । सरकारकै स्वामित्वमा भएको निगमले सुर्खेतबाट कर्णालीका कुनै जिल्लामा उडान गर्ने गरेको छैन ।


हवाई कम्पनीले नेपालगन्जबाट यात्रु र कार्गाे उडान गर्ने गरेका छन् । सुर्खेतबाट चाटर तथा कार्गो उडान मात्र गर्दै आएका छन् । सुर्खेतबाट सिमकोट आउजाउ गर्दा सात हजार भाडा दर कायम गरिएको छ । नेपालगन्ज सिमकोट हवाई भाडा ५ हजार एक सय लिँदै आएका छन् । सिमकोटमा उडान गर्ने हवाई कम्पनीले सिमकोटबाट सुर्खेत जाँदा भने यात्रु बोक्ने गर्ने गरेका छन् ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?