कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर कन्क्लेभ सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको विद्यमान अर्थतन्त्र र यसका अवसरबारे बहस केन्द्रित गर्ने उद्देश्यले आयोजित दुईदिने कान्तिपुर कन्क्लेभ आइतबारदेखि सुरु भएको छ ।

कान्तिपुर कन्क्लेभ सुरु

काठमाडौंमा आइतबार दिउँसोबाट सुरु भएको कन्क्लेभमा युवा उद्यमीदेखि अर्थशास्त्री, विकासविद्, राजनीतिज्ञ, कलाकारदेखि साहित्यकारसम्मले आफ्नो क्षेत्रको चुनौती, अवस्था र सम्भावनाबारे छलफल गर्नेछन् । ‘नेपालको सम्भावना प्रस्फुटन’ भन्ने नाराका साथ कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले कन्क्लेभको आयोजना गरेको हो । अन्तरसम्बन्धित विषयमा छलफल, चिनोडको आदानप्रदान र समकालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा समालोचनाका लागि कन्क्लेभ लाभदायी हुने केएमजीले जनाएको छ ।

कन्क्लेभ उद्घाटनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि निर्देशक इडा रिदिहग, एमबी बिर्ला सिमेन्टका कार्यकारी निर्देशक सन्दीप घोषले प्रवचन दिने कार्यक्रम छ । दुईदिने कन्क्लेभको अवसरमा युवाहरूले नेपालमा गरिहेको पौरखदेखि, विश्वमञ्चमा नेपालको उपस्थिति र नेपालले भविष्यमा खोल्न सक्ने सम्भावनाका ढोकाहरूको विषयमा छलफल हुनेछ ।

पहिलो दिन आज युथ फर नेपाल शीर्षकमा फरकफरक क्षेत्रमा उपलब्धि हासिल गरेका नेपाली युवाहरूले आफ्नो सफलताको कथा बाँड्ने कार्यक्रम छ । जसमा लेक्स लिम्बु, मिस नेपाल शृंखला खतिवडा, टुटलका सहसंस्थापक शिक्षित भट्ट र सुम्निमा उदासले आफ्ना संघर्ष र सफलताका कथामार्फत अरूलाई प्रेरणा दिने प्रयास गर्नेछन् ।

दोस्रो दिन

सोमबार विभिन्न सामाजिक अनिश्चितताका बाबजुद पनि २०३० सम्ममा मध्य आय भएको मुलुकमा फड्को मार्ने नेपालको लक्ष्य र यसको यात्राबारे बहस हुने कार्यक्रम छ ।

यो सत्रमा नेपालको आर्थिक र सामाजिक विकासको विभिन्न आयामबारे छलफल गर्न एसियाली विकास बैंकका क्षेत्रीय आर्थिक सल्लाहकार लेई लेई सङ र अर्थशास्त्री स्वर्णिम वाग्लेलगायतले नेपालको आगामी यात्रा र चुनौतीका विषयमा विमर्श गर्नेछन् ।

नेपालमा पर्यटन उद्योगको अवस्था र यसको बढ्दो बजारको विषयमा छलफलका लागि पर्यटन : उत्पादनदेखि अनुभवसम्म सत्र राखिएको छ । वार्षिक लाखौं पर्यटकका लागि नेपाल गन्तव्य बन्दै आएको छ । यो क्षेत्रले नेपालको अर्थतन्त्रमा ५ प्रतिशतसम्म योगदान दिएको छ ।

यो सत्रमा नेपालमा पर्यटनको सम्भावना र स्थानीयस्तरमा यसको प्रभावको विषयमा बृहत् छलफल हुने जनाइएको छ । सत्रमा आयो होटल्स एन्ड होम्सका प्रमुख प्राविधिक अधिकृत अनील गोयल, द्वारिकाज ग्रुप अफ होटल्स एन्ड रिसोर्टका कार्यकारी निर्देशक रेने विजय श्रेष्ठ, नेपाल पर्यटन बोर्डकी प्रबन्धक श्रद्धा श्रेष्ठलगायतले छलफल गर्नेछन् ।

पैसा कहाँ छ ?

अहिलेको दशक एसियालाई विश्वकै ठूलो बजारका रूपमा लिइन्छ । नेपाल पनि यसैको एक हिस्सा हो । नेपालको बढ्दो सहरीकरणको रफ्तारमा यसले लगानीको ठूलो सम्भावना पनि देखाएको छ । पैसा कहाँ छ भन्ने शीर्षकमा वक्ताहरूले नेपालमा लगानीको सम्भावना र यसले अर्थतन्त्र वृद्धिमा पुर्‍याउने योगदानबारे चर्चा गर्नेछन् ।

विश्व बैंकका प्रबन्धक फरिस हदाद जर्भोस, भोजराज पौडेल र सिद्धान्त पाण्डेसहितले नेपालमा सम्भावित लगानीको क्षेत्रको विषयमा चर्चा गर्ने कार्यक्रम छ । आर्थिक समृद्धिको म्यान्डेडसहित स्थिर सरकार पाएको नेपालको उपस्थिति अब विश्व मञ्चमा कहाँ हुन्छ भन्ने विषयमा मन्त्रीद्वय प्रदीप ज्ञवाली र युवराज खतिवडाले चर्चा छन् । सोमबार हुने विश्व मञ्चमा नेपाल शीर्षकको सत्रमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति, प्रभाव र भूमिकाबारे बहस हुनेछ ।

मुख्यमन्त्रीसँग मुखामुख

कान्तिपुरका प्रधान सम्पादक नारायण वाग्लेले प्रदेश सरकारले भोग्नुपरेको चुनौती, प्रदेशका सम्भावना र केन्द्र सरकारसँग प्रदेश सरकारको सम्बन्धका विषयमा मुख्यमन्त्रीहरूसँग बहस गर्नेछन् । मुख्यमन्त्रीसँग मुखामुख शीर्षक दिइएको सत्रमा सात वटै प्रदेशका मुख्यमन्त्री सहभागी हुनेछन् ।

विदेशमा पौरख

विदेशमा रहेका नेपालीको मिहिनेत, सफलता र सम्भावनाबारे केन्द्रित सत्र पौरखी प्रवासी र मूलदेशमा वसन्त बस्नेतले अर्थशास्त्री र प्रवासी नेपालको अनुभवबारे अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

विदेशमा रहेका नेपालीहरूले आफ्नो सीप, मिहिनेत र कौशलको आधारमा कसरी नेपालको आर्थिक विकासमा योगदान गर्न सक्छन् ? भन्ने विषयमा अर्थशास्त्री विश्व पौडेल, उद्यमी जीवा लामिछाने र अध्येता मलिका शाक्यले अन्तरक्रिया गर्नेछन् । सञ्चार प्रविधिमा नेपालले हासिल गर्न सक्ने प्रगतिको विषयमा चर्चा गर्न आकांक्षा त्यागी, असिम बन्स्यात र विश्वास ढकाल सहभागी हुनेछन् ।

अन्य देशले सूचना प्रविधिमा ठूलो फड्को मारे पनि हामीले भर्खरै मात्र यो क्षेत्रमा प्रगति गर्दै छौं । नेपालले गर्न सक्छ ? नाम दिइएको सत्रमा वक्ताहरूले नेपालमा सूचना प्रविधि क्षेत्रको सम्भावनाबारे बहस गर्नेछन् ।


आजको सत्र

युथ फर नेपाल

फरकफरक क्षेत्रमा उपलब्धि हासिल गरेका युवाहरूको अनुभव । व्यापारको बदलिँदो दृष्टिकोण, सफलताको कथा र अन्य युवाका लागि प्रेरणादायी कथाहरू ।


वक्ताहरू :

  • लेक्स लिम्बु, संस्थापक, ट्रेसिङ नेपाल
  • शृंखला खतिवडा, मिस नेपाल वल्र्ड २०१८
  • शिक्षित भट्ट, सहसंस्थापक र प्रमुख कार्यकारी अधिकृत, टुटल
  • सुम्निमा उदास, संस्थापक र निर्देशक, बौद्ध संग्रहालय

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?