कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मौद्रिक नीतिले नेप्से बढायो

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक कर्जाको ब्याजदर घट्ने संकेत पाएपछि सेयर लगानीकर्ता उत्साही भएका छन् । अघिल्ला पाँच कारोबार दिन लगातार घटेको नेप्से मंगलबार साढे २२ अंकले बढयो । अघिल्लो दिनको तुलनामा यो २.०२ प्रतिशतको वृद्धि हो ।

मौद्रिक नीतिले नेप्से बढायो

यो वृद्धिसहित नेप्से १ हजार १ सय २४.९६ विन्दुमा उक्लेको छ । सोमबार नेप्से परिसूचक करिब तीन वर्षयताकै न्यून विन्दुमा ओर्लेको थियो ।


राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने खालको नीति ल्याएसँगै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । राष्ट्र बैंकले सोमबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ब्याजदर कम गर्न विभिन्न कदम चालेको छ ।


नयाँ व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउने सम्भावना बलियो बन्दै गएको छ । ब्याजदर सस्तिने र सस्तो ब्याजदरमा ऋण पाइने अनुमानका आधारमा लगानीकर्ताको आत्मविश्वास बढेकाले बजारमा सकारात्मक प्रभाव परेको ब्रोकरहरूले जनाएका छन् ।


मंगलबार कारोबारमा आएकामध्ये सबै कम्पनीको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले उकालो लागेको हो । करिब चार सातापछि मंगलबार नेप्से दोहोरो अंकले बढेको हो । यसअघि माघ १ गते नेप्से साढे १७ अंकले बढेको थियो ।


परिसूचक बढे पनि कारोबार रकममा कमी आएको छ । करिब साढे ५ हजार कारोबारबाट १ सय ६७ कम्पनीका २१ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । सोमबार २३ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन कारोबारका रहेकामध्ये १ सय २९ कम्पनीको सेयर मूल्य बढयो, २१ कम्पनीको सेयर मूल्य घटयो र बाँकी १७ कम्पनीको सेयर मूल्य स्थिर छ ।


दिनभरको कारोबारमा जीवन बिमा समूहको परिसूचक सबैभन्दा बढी ४.५७ प्रतिशतले बढयो । यस्तै लघुवित्त, अन्य, जलविद्युत् र जीवन बिमा समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले उकालो लागे । बाँकी समूहमध्ये उत्पादन तथा प्रशोधनबाहेक सबै समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको नेप्सेले जनाएको छ । उक्त दिन वित्त कम्पनीको परिसूचक स्थिर रहयो ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?