कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दिया खाद्यान्न उत्पादनमा अब्बल

प्यूठान, रोल्पा, बाँके र पश्चिम नवलपरासी भने खान पुग्ने उत्पादन गर्न पनि असमर्थ
अमृता अनमोल

बुटवल — प्रदेश ५ को मुख्य आर्थिक उपार्जन कृषि हो । यहाँको कुल उत्पादनमा ४५ दशमलव ६ प्रतिशत योगदान कृषिको छ । यो कुल कृषि उत्पादनको १८ दशमलव ४ प्रतिशत हो । सरकारले सार्वजनिक गरेको स्थितिपत्रअनुसार प्रदेश धान र तेलहन उत्पादनमा देशमै पहिलो स्थानमा पर्छ ।

खाद्यान्नमा आत्मनिर्भर मात्र होइन, यसले प्रदेश बाहिरसमेत निर्यात गर्ने गरेको छ । तथ्यांकअनुसार ४८ लाख २१ हजार २८ जनसंख्या भएको प्रदेशले प्रतिवर्ष १ लाख ६३ हजार ६ सय ६४ टन खाद्यान्न निर्यात गर्ने गरेको छ । प्रदेश ५ का १२ मध्ये ४ जिल्लाले आफूलाई आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न नसकेको तथ्यांक बाहिर आएको छ । प्यूठान, रोल्पा, बाँके र पश्चिम नवलपरासी त्यस्ता जिल्लामा परेका छन् ।


प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उत्पादन भएको खाद्यान्नको अनुपात जनसंख्याको अनुपातमा संयोजन गरी तथ्यांक निकालेको हो । त्यसमा सबैभन्दा कमजोर पश्चिम नवलपरासी देखिएको छ । तथ्यांकअनुसार पश्चिम नवलपरासीमा ६ हजार २ सय ५ टन खाद्यान्न अझै अपुग छ । ३ लाख ४४ हजार ५० जनसंख्या रहेको यस जिल्लामा वार्षिक रूपमा ५६ हजार ६८ टन खाद्यान्न उत्पादन हुने गरेको छ ।


रोल्पामा २ हजार ५ सय २० टन खाद्यान्न अपुग छ । २ लाख ३२ हजार १ सय ५४ जनसंख्या रहेको यस जिल्लामा प्रतिवर्ष ४४ हजार १ सय ४३ टन खाद्यान्न उत्पादन हुँदै आएको छ । बाँकेमा १ हजार ७ सय ६७ टन खाद्यान्न कम उत्पादन हुने गरेको छ । प्रतिवर्ष ९८ हजार ५ सय ९९ टन खाद्यान्न उत्पादन हुँदै आएकामा जिल्लामा सबै जनसंख्यालाई पुग्न १ लाख ३ सय ६६ टन आवश्यक पर्छ । पहाडी जिल्ला प्यूठानमा समेत १ हजार ७ सय ३० टन खाद्यान्न अपुग छ । यहाँ वार्षिक ४५ हजार ७ सय ७५ टन खाद्यान्न उत्पादन हुने गरेको छ ।


भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेश ५ मा १९ लाख ६९ हजार ७ सय ७६ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमा २२ लाख ७४ हजार ६ सय ३२ टन खाद्यान्न उत्पादन हुन्छ । क्षेत्रका हिसाबले भने धेरै खेतीयोग्य जमिन भएको प्रदेशमा यो तेस्रो नम्बरमा पर्छ । ३८ लाख २० हजार मानिस कृषिकर्ममा संलग्न छन् ।


मन्त्रालयले अहिले खाद्यान्न आयात गर्नुपर्ने जिल्लालाई थप प्राथमिकतामा राखेर आवधिक योजना निर्माणको काम सुरु गरेको छ । आवधिक योजना निर्माणमार्फत ती क्षेत्रमा उत्पादन बढाउने र खेती प्रणाली सुधार्ने कार्यक्रम गर्ने मन्त्रालयका प्रवक्ता श्रीकृष्ण नेपालले बताए ।


जिल्लामा कृषि ज्ञान केन्द्रमार्फत पनि कृषि अनुदान र सहयोगका कार्यक्रम चलाएको उनले जनाए । बर्दिया खाद्यान्न उत्पादनमा अब्बल जिल्ला देखिएको छ । कुल ४ लाख ५० हजार ४ सय ७० जनसंख्या रहेको यस जिल्लामा १ लाख ४३ हजार २ सय २८ टन खाद्यान्न उत्पादन हुँदै आएको छ । यसले ६१ हजार ६ सय ९३ टन खाद्यान्न अन्य जिल्लामा निर्यात गर्ने गरेको मन्त्रालयको तथ्यांक छ ।


दोस्रो अब्बल जिल्लामा रूपन्देही देखिएको छ । यसले २ लाख १४ हजार ९ सय टन उत्पादन गरेको छ । यसबाट ३७ हजार ३ सय २६ टन खाद्यान्न निर्यात गर्ने गरेको छ । कपिलवस्तुले २५ हजार ५ सय २, अर्घाखाँचीले २२ हजार २८, गुल्मीले १२ हजार २ सय ९ टन खाद्यान्न निर्यात गर्ने गरेका छन् । दाङले ७ हजार ६५, पाल्पाले ५ हजार ९ सय ४२ र पूर्वी रुकुमले ३ हजार १ सय २१ टन खाद्यान्न बाहिरी जिल्ला पठाउने गरेको तथ्यांक सार्वजनिक भएको छ ।


भूमि–व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले खाद्यान्न उत्पादनमा कमजोर रहेका जिल्लालाई अगाडि बढाउन किसान सहयोग र प्रविधिमा समेत लगानी गर्ने योजना बनाएको बताए ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?