कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्पादन गर्ने किसान फाइदा लिने बिचौलिया

कुखुरा उत्पादक किसान विरोधमा
भवानी भट्ट

कञ्चनपुर — भारतबाट अवैध रूपमा हुने आयात र बिचौलियाका कारण कुखुराको उचित मूल्य नपाएको भन्दै यहांँका कुखुरा उत्पादक किसानहरू विरोधमा उत्रिएका छन् । प्रतिबन्धित भारतीय कुखुराको आयात रोक्न र किसानले सोझै बिक्री गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूले सरकारसँग माग गरेका छन् । 

यतिबेला किसानले जिउँदो कुखुराको प्रतिकिलो १ सय २० रुपैयाँ पाउँछन् । उपभोक्ताले १ सय ९० तिर्नुपरेको छ । जिउँदो कुखुरा पनि बिचौलियाका कारण ७० रुपैयाँ महँगो हुन पुगेको छ । ‘हामीले सस्तोमा बेच्नुपरेको छ, उपभोक्ताले महँगोमा किन्नुपरेको छ,’ कुखुरा तथा अण्डा उत्पादक किसान संघ तदर्थ समिति कञ्चनपुरका अध्यक्ष महादेव भट्टले भने, ‘त्यही भएर हामीले भारतबाट आयात हुने कुखुरा बन्द हुनुपर्छ र किसानले सोझै बिक्री गर्न पाउनुपर्छ भनेका हौं ।’


साना किसानले समयमा कुखुरा बिक्री गर्न नपाउने, उचित मूल्य नपाउने र व्यापारीले मनपरी ढंगले मूल्य निर्धारण गर्ने भएकाले यसतर्फ स्थानीय प्रशासनको ध्यान जानुपर्ने किसानहरू बताउँछन् । ‘चल्ला खरिद गर्दादेखि हुर्काउँदा र बिक्री गर्दासम्म जताततै हामी मारमा परेका छौं,’ लामो समयदेखि कुखुरा उत्पादन गरिरहेका महाकाली नगरपालिकाका किसान भरत भट्टले भने, ‘पछिल्लो पटक अधिकांश किसान घाटामा गएका छन्, कतिपय त ऋणमा डुबेका छन् ।’


एक महिनाअघि कञ्चनपुरमा कुखुराको उत्पादन पर्याप्त भयो । व्यापारीले मूल्य घटाइदिए । कयौं किसानले सस्तोमै भए पनि बिक्री गरे । उपभोक्ताले भने सस्तोमा मासु पाएनन् । किसानदेखि खरिद गर्ने व्यापारी र बजारमा बिक्री गर्ने व्यापारीले जिउँदो कुखुरामै प्रतिकिलो ७०/८० रुपैयाँ बचाए ।


कञ्चनपुरमा ३ सयभन्दा बढी किसान कुखुरा र अण्डा उत्पादनमा लागेको अनुमान छ । कुखुरा र अण्डा उत्पादनमा आत्मनिर्भर हुँदा पनि भारतबाट प्रतिबन्धित कुखुरा र अण्डा अवैध रूपमा आयात भइरहेको छ । केही दिनदेखि स्थानीय किसानहरू अवैध आयात रोक्न सीमामा गस्ती गर्न थालेका छन् । ‘भारतबाट आयात हुने कुखुरा रोक्न सके पनि यहाँका किसानले उचित मूल्य पाउँछन्,’ महाकाली नगरपालिकाका कुखुरा उत्पादक किसान मुकेश धामीले भने, ‘स्थानीय प्रशासनले यसमा चासो दिनुपर्छ ।’


स्थानीय किसानले केही दिनयता जिल्लाका विभिन्न नाकाबाट अवैध रूपमा आयात भइरहेको ५ क्विन्टलभन्दा बढी कुखुरा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । दोधारा र चाँदनीको झोलुंगे पुलबाट मात्रै ३ क्विन्टल कुखुरा बरामद गरेर नष्ट गरिएको धामीले जानकारी दिए । यसैगरी अन्य नाकाबाट पनि कुखुरा र अण्डा बरामद भएको उनले बताए ।


कुखुरा तथा अण्डा उत्पादक किसान संघले बिक्रीलाई सहज बनाउन तथ्यांक संकलन र अनुगमन गर्ने भएको छ । तदर्थ समितिले शनिबार तथ्यांक समिति र अनुगमन समिति गठन गरेको छ । दुवै समितिले वास्तविक कुखुरा उत्पादक किसान र अहिले उत्पादन भइरहेका कुखुराको तथ्यांक संकलन गर्नेछ । तथ्यांक संकलन भएपछि जिल्लाभरि उत्पादन हुने कुखुरा एकद्वार प्र्रणालीबाट बिक्रि गर्ने तयारी भईरहेको अध्यक्ष भट्टले बताए ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?