कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत् आयोजना अन्योलमा

एलपी देवकोटा

जुम्ला — भारतीय ठेकेदार कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण साना जलविद्युत् उपभोक्ता समिति जुम्लाको विद्युत्गृहमा रहेको टर्बाइन जडानको काम अलपत्र परेको छ । एक महिनाभित्र टर्बाइन जडान गरेर विद्युत् सेवालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको भए पनि अहिलेसम्म मर्मत कार्य नसकिँदा जुम्लाबासी अध्याँरोमा बस्न बाध्य छन् ।

भारतीय पासी शुभकामना जेभीले विद्युत् गृहमा रहेको टर्बाइन र आवश्यक उपकरण जडान गर्ने जिम्मेवारी २०७२ पुस महिनादेखि लिएको थियो ।


ठेकेदारको लापरबाहीले मर्मतको काम पूरा हुन नसकेको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढथापाले वताए । ‘सम्झौता भएपछि १८ महिनाको समय दिइएको थियो, त्यो समयमा कुनै काम पनि भएन,’ उनले भने, ‘निकै आलटाल भयो, ठेकेदार कम्पनी बजेट फुत्काउनमै लाग्यो तर काम अन्योलमा परिरहेको छ ।’


अहिलेसम्म १ करोड ३२ लाख रुपैयाँ ठेकेदार कम्पनीले भुक्तानी लगिसकेको उनले जनाए । ठेकेदार कम्पनीले एउटा टर्बाइन जोडेर पनि विद्युत् सञ्चालनमा ल्याउन सकेको छैन ।


जिल्ला समन्वय समितिले भारतीय दूतावासबाट प्राप्त २ करोड ६३ लाखको टेन्डर खोलेकोमा ३ करोड ९ लाखमा टेन्डर स्वीकृत भएको थियो । उच्च दरमा टेन्डर स्वीकृत भएपछि बाँकी रकम कताबाट व्यवस्थापन गर्ने भन्ने समस्या भइरहेको छ । साना जलविद्युत् उपभोक्ता समितिले टेन्डरअनुसारको थप दिनुपर्ने १५ लाख रुपैयाँ प्रमुख जिल्ला अधिकारीको रोहवरमा दिइसकिएको छ । पुससम्म दोस्रो पटक समय थपिएको थियो । त्यो समय पनि सकिसकेको छ । ठेकेदारले एउटा टर्बाइन जोडेर विद्युत् सञ्चालनमा ल्याउन सकेको छैन । बरु पुरानो टर्बाइन झिकेर जिल्लालाई अन्धकार बनाइएको छ ।


भारतीय दूतावासका सहायक सेक्सन अधिकृत मृगेन्द्रलालले जुम्लामा पुगेर कामको प्रगति विवरण बुझेका छन् । सम्झौता अनुसार खरिद हुनुपर्ने उपकरणका लागि अनुमगन गरेको उनले बताए । उनका अनुसार सम्झौताको कागजअनुसारको सामान छैनन् । एक पटक जिल्ला समन्वय समितिसँग भएको ठेक्का सम्झौताको कागजबीच तुलना गर्नुपर्ने उनले बताए ।


जिल्ला समन्वय अधिकारी हरिप्रसाद घिमिरेले पहिलो किस्तास्वरूप रकम उपलब्ध गराइसकेको जानकारी दिए । उनका अनुसार अब मर्मतको काम सकाएपछि कार्य सम्पन्नको प्रतिवेदन भारतीय राजदूतावासमा पठाएपछि थप निकासा आउनेछ । ठेकेदारले नियमित रूपमा इमान्दारपूर्वक काम सकाएको खण्डमा प्रक्रिया निकै छिटो हुने उनको तर्क छ ।


प्रकाशित : फाल्गुन १३, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?