कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईसीपीबाट ६० प्रतिशत कारोबार

शंकर आचार्य

पर्सा — सञ्चालनमा आएको ११ महिनापछि वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) नाकाबाट ६० प्रतिशत कारोबार हुन थालेको छ । वीरगन्ज नाकाबाट भने करिब ४० प्रतिशत मात्र कारोबार हुन्छ ।

वीरगन्जस्थित आईसीपी भन्सारका सूचना अधिकृत मनीष महतोले पछिल्लो समय तेस्रो मुलुकबाट आयात हुने वस्तु, इन्धन र नयाँ सवारी पनि यही नाकाबाट भित्रिन थालेको बताए । ‘इन्धनदेखि औद्योगिक कच्चा पदार्थसम्म यहीँबाट भित्रिरहेको छ,’ उनले भने, ‘वीरगन्ज नाकाकै हाराहारीमा इन्धन र नयाँ सवारी भित्रिन थालेको र तेस्रो मुलुकका कन्साइन्मेन्ट कारण आईसीपी नाकाबाट कारोबार बढेको हो ।’


वीरगन्ज नाकाबाट खुद्रा वस्तु, कोइला, इन्धनका ट्यांकर र केही नयाँ सवारी भित्रिरहेका छन् । यसरी वीरगन्ज भन्सारबाट बिस्तारै सेवा आईसीपी भन्सारतर्फ सर्दै गएको हो । राजस्व संकलन पनि यसैबाट बढी हुन थालेको उनले जनाए ।


आईसीपी सञ्चालन गरिरहेको इन्टर मोडल यातायात विकास समितिका अधिकृत तर्कराज जोशीले पछिल्लो समय आईसीपी हुँदै खाली मालबाहक सवारी पनि भारत जान लागेको बताए । चालु वर्षमा बिहीबारसम्म आईसीपी नाकाबाट ९० हजार ८ सय ७० मालबाहक तथा नयाँ सवारी भित्रिएका छन् । आईसीपी हुँदै भारततर्फ ७ हजार ५ सय ३४ मालबाहक सवारी बाहिरिएका छन् । नेपालबाट बढीजसो डाबर नेपाल प्रालिका उत्पादन र सूर्यमुखीको तेल निकासी हुने गरेको छ । यसबाहेक ३३ हजार ७ सय ५६ खाली मालबाहक सवारी भारत गएका छन् ।


मालबाहक सवारीको आवागमन बढेसँगै समितिको आम्दानी पनि बढिरहेको छ । यस अवधिमा इन्टर मोडलले ११ करोड ९१ लाख ९२ हजार १ सय ९५ रुपैयाँ ७ पैसा राजस्व संकलन गरेको छ । यसमा मूल्य अभिवृद्धि कर र अन्य करसमेत समावेश छ ।


संकलित राजस्वमा ६७ लाख ८५ हजार ४ सय ५३ रुपैयाँ ६१ पैसा वेब ब्रिजबाट, १ करोड ८५ लाख ७३ हजार ११ रुपैयाँ ११ पैसा वेयर हाउस शुल्कबाट, ४ करोड १५ लाख ४४ हजार २ सय ८७ रुपैयाँ ३ पैसा र अन्य शीर्षकबाट ७ लाख ६ हजार ३ सय ९६ रुपैयाँ ७ पैसा राजस्व संकलन भएको छ ।


गत वर्ष चैत तेस्रो साताबाट आईसीपी सञ्चानलमा आएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाटै आईसीपीको संयुक्त उद्घाटन गरेका थिए ।


वीरगन्जस्थित सिर्सिया र अलौ गाउँको बीचमा ८६ करोड ९ लाख भारु (१ अर्ब ३९ करोड रुपैयाँ) को लागतमा भारतले उपहारस्वरूप यो चौकी निर्माण गरिदिएको हो । यसका लागि ३ सय १५ जग्गा धनीको १ सय १५ बिघा जग्गा अधिग्रहण गरिएको थियो । भारतले आफ्नो सीमा र नेपालतर्फसमेत दुरुस्त एउटै खाले भौतिक संरचना निर्माण गरेको छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?