कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याग्दीमा ३ सय ५० मेगावाट धमाधम

घनश्याम खड्का

म्याग्दी — जलविद्युत् आयोजनाको लर्को लागेपछि अन्नपूर्ण फेदीको छेउ परेको बस्ती नारच्याङ गाउँमा चहलपहल मात्र बढेको छैन, स्थानीयले खेर गएको ठानेका बयरघारीको जमिनले पनि चौगुना मूल्य पाएको छ । शिक्षा, स्वास्थ्य, कृषि र गाउँलेको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ ।

दैलोदैलोमा मोटरबाटो जोडिएको छ । सीप र जाँगर भएका गाउँलेले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन् ।

गाउँपालिका, वडा र स्थानीयले चन्दा हालेर पनि विद्युत् आयोजनाहरूलाई लोभ्याउन सडक योजनामा जोड दिइरहेका छन् । जिल्लाका राहुघाट, म्याग्दीखोला र कालीगण्डकी करिडोरका विभिन्न खोलाबाट ७ सय ३४ भन्दा बढी मेगावाट विद्युत् उत्पादन हुने भएको छ ।


जिल्लामा हाल ३ सय ५० मेगावाट क्षमताका १३ वटा आयोजना निर्माणाधीन छन् । निर्माणाधीनमध्ये तीन वटा योजनाको ५५ मेगावाट विद्युत् २०७६ भित्रै राष्ट्रिय प्रसारणमा जोडिनेछ । घलेम्दी हाइड्रो पावरले ५ मेगावाटको घलेम्दीले ०७६ जेठभित्र, रोबर्स्ट इनर्जीको ४२ मेगावाटको मिस्त्रीखोलाले आगामी पुसभित्र र म्याग्दी हाइड्रो पब्लिक कम्पनीको ८ मेगावाटको घारखोलाले २०७६ भित्र विद्युत् उत्पादन सुरु गर्ने दाबी गरेका छन् ।


‘लगानीमैत्री वातावरण, कच्ची भए पनि सडक सञ्जाल र प्रसारण लाइनको सुगमता बढेपछि आयोजना कार्यान्वयनमा आउन थालेका छन्,’ जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले भने, ‘प्राधिकरणले निर्माण गर्ने राहुघाट र चाइनाले निर्माण गर्ने भनिएको कालीगण्डकी गर्जमा स्थानीयको तहबाट सहयोग भए पनि संघीय सरकारले पहल गर्न जरुरी छ ।’


विद्युत् प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर लिमिटेडले ४० मेगावाट राहुघाट जलविद्युत् आयोजना निर्माण गर्न भारतिय ठेकेदार जयप्रसाद (जेपी) एसोसिएटससँग सम्झौता गरेको छ । यसमा ७० प्रतिशत नेपाल विद्युत् प्राधिकरण र ३० प्रतिशत सर्वसाधारणको सेयर लगानी रहने कम्पनीले जनाएको छ । राहुघाट खोलामा छुट्टै टुँडी पावर कम्पनीले ३७ मेगावाट क्षमताको राहुघाट मंगले माथिल्लो आयोजना निर्माण गर्ने भएको छ ।


अन्नपूर्ण गाउँपालिका, नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला (४२) र घलेम्दी खोला जलविद्युत् (५) भन्दामाथि नीलगिरिखोला हाइड्रो लिमिटेडले ३८ मेगावाटको नीलगिरि, नीलगिरि हाइड्रो पावर कम्पनीले ७२ मेगावाटको नीलगिरि क्यास्केट, उसैको ५ मेगावाटको नीलगिरि दोस्रो आयोजनाले धमाधम पहुँच मार्ग निर्माण गरिरहेका छन् । एचवाईएम कन्सल्टको ७ मेगावाटको रेलेखोला र १० मेगावाटको सुपर घलेम्दीले पनि पहुँच मार्ग निर्माण गरिरहेका छन् ।


‘जलविद्युत् आयोजना सहज निर्माण गर्न गाउँपालिकाले सहजकर्ताका रूपमा काम गर्छ तर आयोजनाले पनि स्थानीय सरकारको मर्यादा राख्नु आवश्यक छ,’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले भने ।


पश्चिम भेगको म्याग्दी खोलामा धौलागिरि कालिका हाइड्रोले २५ मेगावाटको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण थालनी गरेको छ । हाइड्रो इम्पायर कम्पनीले निर्माण गर्न २० मेगावाटको अपर म्याग्दी र हाइड्रोभिलेज कम्पनीले ५७ मेगावाट क्षमताको म्याग्दीखोला २ आयोजना सञ्चालन गर्न प्रवेश मार्ग निर्माण गरिरहेका छन् ।


जिल्लाका अन्य खोलाबाट थप २ सय ५१ मेगावाट विद्युत् उत्पादन गर्न विभिन्न आयोजना अनुमति लिने प्रक्रियामा छन् । ९० मेगावाट विद्युत् उत्पादनका लागि सर्भे भइरहेको छ । रहुगंगा गाउँपालिकामा ठूलोखोला कुइनेमंगले २१.३ मेगावाट, ५.५ बगरखोला चिमखोला, स्यानो खोला ४.२ मेगावाट, कुइनेमंगले, ४.७ मेगावाटको तल्लो ठूलोखोला चिमखोला र ५८ मेगावाटको तिप्ल्याङ–कालीगण्डकी अन्नपूर्ण गाउँपालिकामा ट्रेडलिंक ग्लोबलले कालीगण्डकी अपर ६५ मेगावाट, मध्य कालीगण्डकी ५० मेगावाट, १ सय ६४ मेगावाटको ‘कालीगण्डकी गर्ज, १२ मेगावाटको मिस्त्रीखोला २ पनि प्रक्रियामा छन् । धौलागिरि गाउँपालिकामा ६.५ मेगावाटको दरखोला मुना, ८.२ मेगावाटको कुनवाखोला मुदी, ३.४ मेगावाटको सिम्कोसखोला मुदी, १४.७ मेगावाटको मुदीखोला, ८ मेगावाटको अपर मुदी, ९.५ को म्याग्दीखोला, ९.५ को धौलाखोला गुर्जा, मालिका गाउँपालिकामा १७ मेगावाटको मध्यम्याग्दी, बेनी नगरपालिकामा बेनी कालीगण्डकीमा ५० मेगावाट क्षमताका विद्युत् आयोजना निर्माण पाइपलाइनमा छन् ।


सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिकामा १३ वटा आयोजनाले ३ सय ६० मेगावाट, दोस्रोमा धौलागिरि गाउँपालिकामा ९ वटा आयोजनाबाट १ सय ३८ मेगावाट, तेस्रोमा राहुघाटमा ७ आयोजनाबाट १ सय १५ मेगावाट विद्युत् उत्पादन हुनेछ । त्यसपछि मालिका गाउँपालिकामा ३ र बेनी नगरपालिकामा २ वटा आयोजना छन् ।


भूक्षय र प्राकृतिक सम्पदामा जोखिम

जलविद्युत् आयोजनाको मुआब्जाले व्यवसाय गर्ने अवसर दिएको छ । स्थानीयले आयोजनामा सेयर लगानी गर्ने अवसर पाएका छन् । गाउँपालिकाले रोयल्टी पाउने भएका छन् ।


अन्नपूर्ण गाउँपालिका बाढी पहिरोको जोखिममा पनि परेको छ । भौगोलिक रूपमा पनि कमजोर भूबनोट रहेका अन्नपूर्णको अन्धगल्छी क्षेत्रमा भइरहेका दर्जनौं आयोजनाले दैनिक गर्ने ठूला विस्फोटनको कम्पन, जथाभावी खनिएका सडकबाट निक्लेको ढुंगामाटोले बाढी पहिरोको जोखिम थपिएको छ ।


आयोजनाको सुरुङ निर्माणले धेरै पानीका मूल भासिएका पनि छन् । मिस्क्रीखोला आयोजनाको सुरुङ खन्ने त्रममा सतहको पानी भासिएको छ । अन्य क्षेत्रमा पनि यसरी खानेपानीको मुहान सुक्ने जोखिम छ । अन्धगल्छीमा अवस्थित प्रख्यात तातोपानीको मुहान सुक्ने जोखिम बढेको छ । कालीगण्डकी नदीमा पानी बढदा तातोपानीको मुहान पनि बढ्ने घट्दा घट्ने तथा नदीमा पानीको सतहसँगै तातोपानीको मुहान पनि तलमाथि सर्ने हुँदा कालीगण्डकीको पानी सुरुङबाट अन्यत्र लगेपछि नदीमा पानी स्वतः घट्ने भन्दै स्थानीय चिन्तित छन् ।


‘कालीगण्डकीको पानीलाई जलविद्युत् आयोजनाहरूले सुरुङबाट अन्यत्र लग्ने हुँदा बेनी–जोमसोम सडकका आधा दर्जन तातोपानीका मूलहरू सुक्नेछन् । प्राकृतिक स्रोत र सम्पदा नासिने पक्का छ,’ अन्नपूर्ण गाउँपालिका २ तातोपानीका सामाजिक कार्यकर्ता श्याम रानाले मगरले भने, ‘यहाँको ढुंगामाटो र तातोपानीको स्वभाव हामी पुस्तौंदेखि अनुभव गरी बुझेका छौं ।


अन्धगल्छीको दानादेखि तल तिप्ल्याङसम्मको करिब ६ किमि कालीगण्डकी नदीमा बन्ने जलविद्युत् आयोजना यस क्षेत्रको पर्यटन नास्नेछ, हामी नांगैभोकै पर्नेछौं ।’


प्रसारण लाइन समस्या

जिल्लाको राहुघाट तथा कालीगण्डकी जलाधार र हिमालपारिको मुस्ताङमा समेत उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न निर्माणाधीन २२० केभीए प्रसारणलाइन सबस्टेसन निर्माणमा ढिलाइ हुँदा यस क्षेत्रका जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

अन्नपूर्ण गाउँपालिका ३ दानामा निर्माण गरिने २२०/१३२/३३/११ केभीए प्रसारण लाइनको ४० किमि तल पर्वत सदरमुकाम कुस्मा रहने अर्को सबस्टेसन लक्ष्यभन्दा तीन वर्ष ढिलाइ भइसकेकाले आयोजनाको काम अझै सुस्त छ ।


प्रसारण लाइन ढिलाइ हुँदा मुस्ताङमा निर्मित १३.६ मेगावाट क्षमताको थापाखोला आयोजनाको ०७४ असोजदेखि आधाभन्दा बढी बिजुली खेर गइरहेको छ । ग्रिड नपाउँदा थापाखोला आधा क्षमता मात्र विद्युत् उत्पादन गरी ११ केभीए प्रसारण लाइनमा जोडेको छ । पुरानो र जीर्ण कम भार क्षमताको विद्युत् लाइनमा भार थेग्न नसकी ट्रिप (सबस्टेसनमा विद्युत् काटिने) समस्या हुने गरेको छ ।


‘सानो क्षमताको प्रसारण लाइनमा धेरै क्षमताको विद्युत् जोड्दा विद्युत्को लोड र फ्रिक्वेन्सीअनुसार भार थेग्ने सन्तुलन नमिल्दा हन्टिङ हुने र ट्रिप हुने समस्या आइरहेको हो,’ विद्युत् प्राधिकरणका बेनी वितरण केन्द्र प्रमुख नेत्रमणि अधिकारीले बताए ।


थापाखोला जलविद्युत् मात्र होइन, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा निर्माणाधीन ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाले पनि तीन महिनाभित्र ३३ केभीए वानवे प्रसारण लाइनमा विद्युत् सिंक्रोनाइज्ड गर्ने तरखरमा छ । प्रसासरण लाइन निर्माणमा ढिलाइ हुँदा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाले निर्माण गतिलाई होल्ड गरिरहेको दाबी गरेको छ ।

‘हामीले प्राधिकरणलाई जरिवाना तिरेरै पनि कामको गति सुस्त बनाएका छौं । उत्पादनपछि खेर फाल्नुभन्दा काम ढिला गर्नु ठीक ठानेका छौं,’ मिस्त्रीखोलाका कन्स्ट्रक्सन मेनेजर चूडामणि निरौलाले भने, ‘आयोजना ८० प्रतिशत काम पूरा भएको छ । प्रसारण लाइनको प्रगति हेर्दै काम गरिरहेका छौं ।’


कामदारको सुरक्षा

भीरपहरामा जोखिमयुक्त काम गर्नुपर्ने भए पनि आयोजनाहरूले कर्मचारी एवं मजदुर सुरक्षाका लागि अपनाउनुपर्ने दुर्घटना पर्दा खोज, उद्धार तथा प्राथमिक उपचारसमेतका आधारभूत सुरक्षाका योजना बनाएका छैनन् । निर्माण क्षेत्रमा दुर्घटना न्यूनीकरण योजना नहुँदा यस क्षेत्रमा कार्यरत मजदुरहरू बढी जोखिममा परेका छन् । ‘ठूला आयोजनाहरूले स्वास्थ्य, सुरक्षा र वातावरणका मापदण्ड पछ्याएका छैनन् । कार्यस्थलमा मानव स्वस्थ्य र सुरक्षामा हेलचेक््रयाइँ गरेको देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘अर्ब बढी बजेटका आयोजनामा पनि कार्यस्थलमा मजदुरलाई सामान्य चोटपटक लाग्दा प्राथमिक उपचार गर्ने पद्धति वा स्वास्थ्य युनिट पनि छैन ।’


सेफ्टी बेल्ट, टोपीलगायत सुरक्षा उपकरण अनिवार्य लगाउनुपर्ने नियम छ । ‘कार्यस्थलमै स्वास्थ्यकर्मी राख्ने कुरा व्यावहारिक नहुने हुँदा चोटपटक लाग्दा वा बिरामी हुँदा नजिकको स्वास्थ्य केन्द्र वा अस्पताल पुर्‍याउने गरेका छौं,’ घलेम्दी जलविद्युत् आयोजनाका सञ्चालक प्रमोद श्रेष्ठले भने, ‘मजदुरहरूले हेलचेक््रयाइँ गर्दा धेरै घटना भएका छन् ।’

प्रकाशित : फाल्गुन २७, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?