कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'सबै विद्युत् सरकारले किन्छ’

कान्तिपुर संवाददाता

काठमाडौँ — ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा उत्पादित सबै विद्युत् सरकारले किन्ने प्रतिबद्धता जनाएका छन् । सरकारले विद्युत्को बजार खोज्ने भन्दै ढुक्क भएर लगानी गर्न उनले आग्रह गरेका हुन् । 

'सबै विद्युत् सरकारले किन्छ’

‘बंगलादेशले तत्काल १५ सय मेगावाटको पीपीएका लागि समझदारी गरौं भनिरहेको छ, भारतले पनि त्यस्तै आग्रह गरिरहेको छ,’ उनले भने, ‘हामीसँग उत्पादन नभएकाले गर्न सकिरहेका छैनौं, ढुक्क भएर लगानी गर्नुहोस् विद्युतको बजार सरकारले खोज्छ ।’


विद्युत् विकास विभागले बुधबार निर्माणाधीन जलविद्युत् आयोजनाले व्यहोरिरहेका समस्या र समाधानका प्रयासबारे गरेको छलफलमा मन्त्री पुनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा दशकसम्बन्धी विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।


ऊर्जा मन्त्रालयले वैशाख २५ गते जारी गरेको श्वेतपत्रमा १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य तोकिएको छ । यसलाई कार्यान्वयन गर्न प्राधिकरणले कुल लक्ष्य (१५ हजार मेगावाट) मा ३५ प्रतिशत अर्थात् ५ हजार २ सय ५० मेगावाट नदी प्रवाही (रन अफ रिभर) टेक अर पेमा पीपीए गर्ने निर्णय गरेको थियो । यसैगरी ऊर्जा मिश्रणमा ३५ प्रतिशत जलाशययुक्त (५२५० मेगावाट) र ३० प्रतिशत (४५०० मेगावाट) अर्धजलाशययुक्त (पीआरओआर) हुने व्यवस्था गरिएको छ ।


मन्क्रालयमा आयोजित अन्तरत्रियामा ऊर्जा उत्पादकहरूले अनुमतिपत्र प्राप्त आयोजनामा समेत स्थानीय तहले अवरोध गर्न थालेको गुनासो गरेका थिए । छलफलमा सहभागी प्रवर्द्धकले ढुंगा, गिट्टी, बालुवालगायतका जलविद्युत् आयोजनाको निर्माणमा प्रयोग हुने स्थानीय निर्माण सामग्री प्रयोगमा स्थानीय तहले शुल्क तिर्नु भन्दै अवरोध गरेको भन्दै यसलाई समाधान गरिदिन माग गरेका थिए ।


आयोजनाले विद्युत् उत्पादनको अनुमतिपत्रमा उल्लेखित क्षेत्रमा समेत गाउँपालिका/नगरपालिकाले ढुंगा, गिट्टी, बालुवा, माटोजस्ता स्थानीय निर्माण सामग्रीको उत्खनन तथा प्रयोगको अधिकार आफ्नो भएको भन्दै त्यसमा आयोजनाले शुल्क तिर्नुपर्ने माग राखी उत्खनन तथा प्रयोगमा नै रोक लगाइरहेका छन् । मन्त्री पुनले वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्या समाधान गर्न वन मन्त्रालयसँग समन्वय गर्ने र जलविद्युत् आयोजनालाई सुरक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।


विभागले मन्त्री पुनको उपस्थितिमा पहिलो चरणमा निर्माणाधीन २५ मेगावाटभन्दा माथिका प्रवर्द्धकसँग छलफल गरेको थियो । छलफलमा १५ आयोजनाका प्रवर्द्धकले आफ्नो प्रस्तुति राखेका थिए ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?