पूर्वाधारमा बिमा कम्पनी : लगानीको बाटो खुल्यो

काठमाडौँ — बिमा कम्पनीले कृषि, पर्यटन, जलविद्युत्, घरजग्गालगायत पूर्वाधारमा लगानी गर्न पाउने भएका छन् । बिमा समितिले हालै जारी गरेको ‘बिमकको लगानी निर्देशिका २०७५’ मार्फत यस्तो व्यवस्था गरेको हो । यसअघि बिमा कम्पनीले सिधै पूर्वाधारमा लगानी गर्न नपाउने व्यवस्था थियो ।

नयाँ व्यवस्थाअनुसार कम्पनीले बढीमा २० प्रतिशतसम्म लगानी पूर्वाधार क्षेत्रमा गर्न पाउँछन् । एउटै परियोजनामा लगानी गर्नका लागि भने १० प्रतिशतको सीमा तोकिएको छ । यसमा कम्पनीले आह्वान गरेको कुल रकमको १० प्रतिशतभन्दा बढी लगानी गर्न पाइने छैन । लगानी गरिने कम्पनी पब्लिक कम्पनी हुनुपर्नेछ ।


स्पष्ट नीति नभएकै कारण बिमा कम्पनीसँग लगानीयोग्य पुँजी भए पनि वाणिज्य बैंक, विकास बैंकको मुद्दती निक्षेप र सरकारी ट्रेजरी बिल्समा लगानी गर्दै आएका थिए । समितिले पहिलो पटक बिमा कम्पनीका लागि लगानी निर्देशिका जारी गरेको हो । यसअघि जारी लगानी नीतिमा बिमा कम्पनीको लगानीसम्बन्धी साँघुरो व्यवस्था थियो । यसकारण बिमा कम्पनीले पूर्वाधारलगायत विविध क्षेत्रमा लगानी गर्न पाउनुपर्ने माग गरेका थिए ।


मुद्रा र पुँजी बजारको विकासका लागि सुझाव दिन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले पनि बिमा कम्पनीको लगानी दायरा फराकिलो बनाउन सुझाव दिएको थियो । त्यसपछि सुझाव कार्यान्वयनका लागि सरकारले बिमा समितिलाई निर्देशन दियो । सोही निर्देशनअनुसार बिमा समितिले लगानी निर्देशिका जारी गरेको हो ।


नयाँ व्यवस्थाअनुसार बिमा कम्पनीले घरजग्गा व्यवसायमा पनि लगानी गर्न पाउने छन् । कुल टेक्निकल रिजर्भ (कम्पनीको सबै दायित्व समावेश गरी गणना गरिएको बचत) को बढीमा ५ प्रतिशतसम्म घरजग्गा व्यवसायमा लगानी गर्न पाउने व्यवस्था निर्देशिकामा छ । निर्देशिकामा जीवन र निर्जीवन बिमा कम्पनीलाई क्षेत्रगत रूपमा लगानी गर्न पाउने सीमा पनि तोकिएको छ ।


त्यसो त कम्पनीले निर्देशिकामा क्षेत्रगत रूपमा तोकिएको सीमाभन्दा बढी पनि लगानी गर्न पाउँछन् । त्यसका लागि तोकिएको मापदण्डसहित समितिबाट पूर्वस्वीकृति लिनुपर्छ । घरजग्गा व्यवसायमा रहेको लगानीलाई कम्तीमा हरेक तीन वर्षमा एकपटक र अन्य क्षेत्रमा गरेको लगानीलाई प्रत्येक दिन मूल्यांकन गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।


बिमा कम्पनीहरूको लगानी दायरा विस्तार गरेर निकै राम्रो काम भएको नेपाल लाइफ इन्स्योरेन्सक कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । ‘यसअघि लगानीका लागि धेरै विकल्प थिएन,’ उनले भने, ‘अहिले धेरै विकल्प दिइएको छ । यसले सही दिशामा बिमा कम्पनीको लगानी विस्तार गर्न मद्दत गर्छ ।’


नयाँ व्यवस्थाअनुसार बिमा कम्पनीले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४० प्रतिशतसम्म लगानी गर्न पाउँछ । ‘वाणिज्य बैंक र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल टेक्निकल रिजर्भको ४० प्रतिशतसम्म लगानी गर्न सकिनेछ,’ निर्देशिकामा उल्लेख छ । बैंकमा मुद्दती निक्षेपमा बचत गर्न सम्बन्धित बैंक स्थापना भएको ५ वर्ष पूरा भएको र पछिल्ला तीन वर्षसम्म नाफामा गएको हुनुपर्नेछ । यसरी निक्षेप गर्दा एउटा बैंकमा अधिकतम १५ प्रतिशतसम्म मात्र बचत गर्न सकिनेछ । यस्तै विकास बैंकको मुद्दती निक्षेपमा २० प्रतिशत र वित्त कम्पनीको मुद्दती निक्षेपमा १० प्रतिशत बचत गर्न पाइने व्यवस्था निर्देशिकामा छ ।


यसैगरी बिमा कम्पनीलाई कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म पब्लिक कम्पनीको सेयरमा लगानी गर्न छुट दिइएको छ । सेयर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ ।


यस्तै बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, डिबेन्चरका साथै सरकार, राष्ट्र बैंक तथा सरकारबाट मान्यता प्राप्त बचतपत्र वा ऋणपत्रमा पनि बिमा कम्पनीलाई लगानी छुट दिइएको छ । बिमा कम्पनीले कुल लगानीको बढीमा ५ प्रतिशत सामूहिक लगानी कोषको एकाइमा लगाउन सक्ने सुविधा पनि निर्देशिकामा दिइएको छ ।


प्रकाशित : चैत्र १, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?