कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुजरातमा लगानी सम्मेलनको प्रचार

नयाँदिल्ली — नेपाली उच्च अधिकारीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातका उद्यमी तथा व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार गुजरातको अहमदाबादमा आयोजित ‘नेपालमा व्यापार, पर्यटन तथा लगानीका सम्भावना’ विषयक गोष्ठीमा आग्रह गरिएको हो ।

गुजरातमा लगानी सम्मेलनको प्रचार

भारतको राजधानी नयाँदिल्लीस्थित नेपाली दूतावास र गुजरात चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (जीसीसीआई) को साझेदारीमा भएको गोष्ठीमा नेपाली उच्च अधिकारीहरूले भारतीय व्यवसायी तथा लगानीकर्तालाई लगानीका लागि आग्रह गरेका हुन् । गुजरातका सम्भावित लगानीकर्तालाई नेपालको लगानीमैत्री वातावरण, लगानीकर्ताका लागि एकद्वार प्रणाली र वैदेशिक लगानीका सम्बन्धमा पछिल्लो समय गरिएका कानुनी तथा प्रशासनिक सुधार तथा संशोधनबारे जानकारी गराइएको दूतावासका इकोनोमिक मिनिस्टर कृष्णहरि पुष्करले जानकारी गराए ।


कार्यक्रमको सुरुमा आसन्न लगानी सम्मेलन र नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित प्रस्तुति गरिएको थियो । दूतावासका इकोनोमिक मिनिस्टर कृष्णहरि पुष्करले लगानी सम्मेलनबारे विस्तृत जानकारी गराउँदै नेपालमा लगानी, व्यापार र पर्यटनका सम्भावनाहरूबारे चर्चा गरे । उनले भारतीय लगानीकर्तालाई नेपाली उत्पादन तथा वस्तुहरूले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा पाइरहेको सुविधाहरूबारे पनि जानकारी गराएको दूतावासले जनाएको छ । उनले रामायण सर्किट, बुद्ध सर्किट र हिन्दु सर्किटबारे जानकारी दिँदै भारतीय पर्यटकहरूलाई आफ्नो छिमेकी नेपालको भ्रमणबिना विश्वको चिन्न नसकिने जिकिरसमेत गरेका थिए ।


कार्यक्रलाई सम्बोधन गर्दै जीसीसीआईका पर्यटन समितिका सभापति प्रकाश शाहले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि नेपाल र गुजरातबीच साझेदारीको आवश्यकता औंल्याए । सीजीसीआईकै वैदेशिक व्यापार समितिका सभापति पदमन बुचले द्विपक्षीय व्यापार प्रवर्द्धनका लागि आपसी सहकार्यमा जोड दिएका थिए । उनले भारतीय लगानीकतालाई नेपालका पूर्वाधार, जलविद्युत्, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि आग्रह गरे । साथै नेपाललाई अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन र विविधीकरणका लागि गुजरातकै मुन्द्रा बन्दरगाह अनुकूल हुन सक्ने विश्वास पनि ऊनले व्यक्त गरे । कार्यत्रमका केही सहभागीहरूले तत्काल नेपाल र गुजरातबीच सिधा हवाई सम्पर्कको आश्वयकता औंल्याउँदै यसले पर्यटन मात्र नभएर व्यापार तथा लगानी प्रवर्द्धनमा सघाउन योगदान गर्ने बताए । नेपालमा लामो समयदेखि व्यापार व्यवसायमा संलग्न रहँदै आएका बुमाको फेब्रिकक्स प्रालिका प्रबन्ध निर्देशकले भरत छाजरले नेपालको सुरक्षा व्यवस्थाको प्रशंसा गर्दै नेपाल विश्वकै एक लगानीमैत्री मुलुक भएको समेत बताए । कार्यक्रममा गुजरातका प्रतिष्ठित व्यापारी तथा उद्योगीहरूका सँगै गुजरातमा व्यापार तथा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूको समेत उपस्थिति रहेको दिल्लीस्थित दूतावासले जनाएको छ ।


प्रकाशित : चैत्र १, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?