कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घाटा घट्दै

गत मंसिरमा ८५ अर्ब ३२ करोड रुपैयाँ घाटा रहेकामा पुसमा केही सुधार भई ६३ अर्ब ६८ करोड रुपैयाँमा झर्‍यो । माघसम्म आइपुग्दा यो घाटा थप साढे १४ अर्ब रुपैयाँले घटेको हो ।
यज्ञ बञ्जाडे

काठमाडौँ — पछिल्ला दुई महिनामा मुलुकको घाटा (शोधानान्तर घाटा) मा सुधार देखिएको छ । गत मंसिर र पुसको तुलनामा माघमा शोधनान्तर घाटा घटेको हो । मुलुक भित्रने र बाहिरिने रकमबीचको अन्तर शोधनान्तर हो । बाहिरिने भन्दा भित्रने रकम कम भएमा शोधनान्तर घाटामा जान्छ ।

मुलुक भित्रनेभन्दा बाहिरिने रकम धेरै भएकै कारण करिब दुई वर्षयता अर्थतन्त्र घाटामा छ । यो वर्षको सात महिनामा शोधनान्तर घाटा ४९ अर्ब ३२ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा १८ अर्ब २८ करोड रुपैयाँ थियो । गत मंसिरमा ८५ अर्ब ३२ करोड रुपैयाँ घाटा रहेकामा पुसमा केही सुधार भई ६३ अर्ब ६८ करोड रुपैयाँमा झर्‍यो । माघसम्म आइपुग्दा यस्तो घाटा थप साढे १४ अर्ब रुपैयाँले घटेको हो ।


पछिल्लो समय रेमिट्यान्स वृद्धिदर स्थिर, विदेशी ऋण बढेको, आयात वृद्धिदर घटेकाले शोधनान्तर घाटा कम हुँदै गएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘सात महिनामा ४८ अर्ब रुपैयाँ विदेशी ऋण आएको छ,’ उनले भने, ‘त्यसमध्ये गत माघमा मात्र १५ अर्ब रुपैयाँ विदेशी ऋण आएको छ ।’ गएको सात महिनासम्मको गतिविधिका आधारमा आउँदा महिनामा शोधनान्तर घाटा घट्दै जाने उनको अनुमान छ । ‘वस्तुगत आयातको तथ्यांक हेर्दा पछिल्ला महिनामा पेट्रोलियम पदार्थ, सिमेन्ट तथा मेसिनरी औजारको आयात घटेको छ,’ उनले भने, ‘रेमिट्यान्स वृद्धिदर गत वर्षको भन्दा धेरै राम्रो छ ।’


करिब साढे दुई वर्षदेखि नै चालु खाता र शोधनान्तरमा चाप पर्दै आएको हो । गत वर्ष असोज, कात्तिक र असारबाहेक सबै महिना शोधनान्तर घाटामा थियो । चालु खाता भने गत वर्षभरि नै ऋणात्मक रह्यो । यो वर्षको सुरुदेखि रेमिट्यान्स आप्रवाह वद्धिदरमा सुधार देखिएको छ । तैपनि चालु खाता र शोधनान्तर निरन्तर रूपमा घाटामा रहेको तथ्यांकले देखाउँछ ।


गत माघसम्म चालु खाता घाटा १ खर्ब ६६ अर्ब रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ४२ अर्ब रुपैयाँ थियो । विदेशी लगानी ६४ प्रतिशतले घट्यो सात महिनामा ५ अर्ब १५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । गत वर्षको तुलनामा ६४ प्रतिशतले घटेको हो । गत वर्षको सात महिनामा १४ अर्ब ३४ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।


विदेशी लगानीका हिसाबले गत वर्ष राम्रो मानिएको थियो । यो वर्षको सुरुदेखि नै विदेशी लगानीमा उच्च दरले कमी आएको छ । यसकारण गएको सातै महिनामा एफडीआई उच्च प्रतिशतले घटिरहेको छ । लगानीकर्ता तथा उद्योगी व्यवसायीको आत्मबल देखाउने डुइङ बिजनेस प्रतिवेदनमा नेपालको अवस्था पाँच स्थान तल झरेको, ट्रान्सप्यारेन्सी प्रतिवेदनमा पनि नेपालको स्थान खस्किएको लगायत कारण यो वर्ष विदेशी लगानी बढ्न नसकेको जानकाहरू बताउँछन् ।


१० खर्ब ७८ अर्ब विदेशी विनिमय सञ्चिति

गत माघसम्म मुलुकसँग १० खर्ब ७८ अर्ब रुपैयाँ विदेशी विनिमय सञ्चिति छ । गत असारको तुलनामा यो कम हो । ०७५ असारमा कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब २ अर्ब रुपैयाँ थियो । माघसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत छ ।


गएका सात महिनाको आयातलाई आधार मान्दा बैंकसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.२ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले दाबी गरेको छ ।


५ खर्ब १५ अर्ब रेमिट्यान्स

सात महिनामा ५ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा साढे २८ प्रतिशतले बढेको हो । गत वर्षको सात महिनामा रेमिट्यान्स ४ खर्ब १ अर्ब रुपैयाँ भित्रिएको थियो । सात महिनामा रेमिट्यान्स वृद्धिदर औसतमा ३० प्रतिशतभन्दा बढी छ । यो अवधिमा भारत, दक्षिण कोरिया र अमेरिकाबाट आउने रेमिट्यान्स बढेको छ भने मलेसियालगायत खाडी मुलुकबाट आउने रेमिट्यान्स खासै बढ्न सकेको छैन । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६ प्रतिशतले बढेको छ ।


रोजगारीमा बिदेसिने घटे

रोजगारीका लागि बिदेसिने कामदारको संख्यामा कमी आएको छ । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गएको सात महिनामा ३९.२ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले घटेको थियो ।


रोजगारीको प्रमुख गन्तव्य मलेसिया जानेहरूका लागि समस्या समधान भएपछि यस्तो देखिएको हो । उक्त अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४.९ प्रतिशतले बढेको सरकारी तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको थियो ।

व्यापार घाटा पौने ८ खर्ब

गत सात महिनामा मुलुकले ७ खर्ब ८० अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो घाटा करिब २७ प्रतिशतले बढेको हो ।


०७४ माघसम्म व्यापार घाटा ६ खर्ब १३ अर्ब रुपैयाँले घाटामा थियो । व्यापार घाटा बढ्दै गए पनि पछिल्ला महिना आयात वृद्धिदरमा कमी आएको छ ।गत माघसम्म आयात २६ प्रतिशतले बढेर ८ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । पुसमा आयात वृद्धिदर साढे ३० प्रतिशत र मंसिरमा ३४.२ प्रतिशत थियो । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एमएस बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोसाक, अन्य मेसिनरी तथा पार्टपुर्जालगायतको आयात बढेको छ ।


दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायतको आयात

घटेको छ । यस्तै सात महिनामा कुल निर्यात साढे ११ प्रतिशतले बढेर ५३ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो ।


वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, दलहन, जडीबुटी, ऊनी गलैंचा, जुटका सामानलगायतको निर्यात बढेको छ । अलैंची, छाला, रोजिन, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात घटेको छ ।


मूल्य वृद्धि साढे ४ प्रतिशत

गत माघसम्म वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्य वृद्धिदर ५ प्रतिशत थियो । उक्त अवधिमा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर २.५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको वृद्धिदर ४ प्रतिशत थियो ।


माघसम्म गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ५.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यो समूहको मूल्य वृद्धिदर ५.८ प्रतिशत नै थियो ।

प्रकाशित : चैत्र २, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?