कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुदी 'ए' को उत्पादन केन्द्रीय प्रसारणमा

आश गुरुङ

लमजुङ — रुदीखोलामा निर्मित ८ दशमलव ८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ  । उत्पादित बिजुली सोमबार राति १२ बजेदेखि विद्युत् प्राधिकरणको ‘मिटरिङ’ प्रणालीमा जोडिएको हो  ।

रुदी 'ए' को उत्पादन केन्द्रीय प्रसारणमा

कास्की र लमजुङको सीमा रुदीखोलामा निर्माण गरिएको उक्त आयोजनाको निर्माण कार्य गएको असोजमै सकिएको हो । निर्माण सकिएको ६ महिनापछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । आयोजनाले प्राधिकरणलाई १५ दिन निःशुल्क बिजुली दिएको छ ।


आयोजना प्रमुख सरोज भट्टराईका अनुसार परीक्षणका सबै प्रक्रिया र चरण पूरा भएपछि विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) अनुसार विद्युत् बिक्री हुने गरी प्रसारण लाइनमा जडान गरिएको छ । ०६९ माघ २८ मा हिउँदको समय ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको थियो ।


हिउँदको समय ३ देखि ४ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको छ । आगामी जेठदेखि बर्खायाममा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनेछ । वार्षिक ४७ गिगावाट अवार विद्युत् उत्पादन हुने उनले बताए । उनका अनुसार विद्युत्गृहमा जडित ४ दशमलव ४ मेगावाटका २ वटा पेल्टन टर्बाइन दुवै सञ्चालनमा छन् ।


१ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण हुने प्रक्षेपण गरिएको उक्त आयोजना १ अर्ब ६० करोड रुपैयाँ लगानीमा निर्माण भएको हो । अनुमानभन्दा १० करोड बढी लागे पनि उक्त आयोजना सस्तो मान्न सकिने भट्टराईले बताए । उनका अनुसार प्रतिमेगावाट १८ करोड १८ लाख रुपैयाँमा निर्माण भएको हो । ‘अहिले सबै आयोजनाको लागत प्रतिमेगावाट २० करोडभन्दा माथि पुगेको छ ।


यस हिसाबले हामी सस्तोमा छौं,’ उनले भने । प्राधिकरणसँगै व्यावसायिक विद्युत् उत्पादन मिति (सीओडी) गएको असार तोकिएको थियो । भूकम्प, नाकाबन्दी, बाढीपहिरो, चुनाव, प्रसारण लाइनलगायतको समस्याले ढिला भएको उनले बताए । उनका अनुसार ट्रान्समिसन लाइनका कारण मात्रै ३ महिना ढिला भएको हो । आयोजना २०७४ असार मसान्तभित्र सक्ने लक्ष्य राखिएको थियो । प्रवर्द्धक विन्ध्यवासिनी हाइड्रो पावर डेभलपमेन्टले निर्माण गरेको उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न बैंकले ७० प्रतिशत लगानी गरेका छन् । प्रवर्द्धकको ३० प्रतिशत लगानी छ ।


लमजुङको क्व्होलासोंथर गाउँपालिका ५ सिङ्दी र कास्कीको मादी गाउँपालिका ८ सिङ्दीबेंसीमा बाँध निर्माण गरिएको छ । ६ किलोमिटर लामो पेनस्टक पाइपमार्फत पानीलाई मादी गाउँपालिका ९ बालुवाबेंसीमा निर्माण गरिएको पावर हाउसमा झारेर विद्युत् उत्पादन गरिएको छ । आयोजनाको सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्सट्रक्सन, हाइड्रोमेकानिकलतर्फ नर्थ हाइड्रो एन्ड इन्जिनियरिङ र इलेक्ट्रोमेकानिकलतर्फ तोसिबा प्लान्ट सिस्टम एन्ड सर्भिस कर्पोरेसनले निर्माण गरेका हुन् ।


उत्पादित विद्युत् मादी गाउँपालिका ९ मुंग्रीबेंसीमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा जडान गरिएको छ । आयोजनाले विद्युत्गृहदेखि सबस्टेसनसम्म ३ दशमलव ८ किलोमिटर लामो ३३ केभीको डबल सर्किट ट्रान्समिसन लाइन आफैं निर्माण गरेको छ ।


प्रकाशित : चैत्र ६, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?