कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिमेन्ट उद्योगका लागि बगरमै सडक : दुई गाउँपालिकाबीच विवाद

हरिहरसिंह राठौर

ताल्ती (धादिङ) — जिल्लाको बेनिघाट रोराङस्थित राजमार्गसँग जोड्ने निर्माणाधीन सडक विवाद चुलिएको छ । ताल्तीमा बन्न लागेको हुआसिन धादिङ सिमेन्ट उद्योगको लागि रोराङको सीमानामा पर्ने मलेखु खोलाको बगरैबगर बेनीघाट गाउँपालिकाले मुख्य राजमार्ग निस्कने ११ किमी लिड्डरोड जोड्न लागेपछि गजुरी गाउँपालिकातर्फ खोला किनारका जग्गाधनीले विरोध जनाएका हुन् । विरोधमा मलेखुका क्रसर व्यवसायीले पनि साथ दिएका छन् ।

सिमेन्ट उद्योगका लागि बगरमै सडक : दुई गाउँपालिकाबीच विवाद

बगरमा चौडा सडक निर्माणले क्रसरहरु बन्द हुने अवस्था आएपछि विरोध भएको वेनीघाट गाउँपालिका प्रमुख हरि डल्लाकोटीले बताए । उनले गिट्टी बालुवा रातारात चोरी हुनबाट रोक्न, दोहनबाट जोगाउन सडक निर्माण गरेको दाबी गर्दै उक्त सडक निर्माणपछि मलेखु-ताल्ती हुँदै चितवनको भण्डारा जोड्ने सडकमा चाप कम हुने बताए । उक्त खोलामा वर्षौंदेखि क्रसहरु सञ्चालनमा थिए । २०४१ र २०५० सालमा भीषण बाढीले अधिकांश खेत पुरेर बगरमा परिणत गरेको थियो ।


तर, सडक निर्माणप्रति गजुरी गाउँपालिकाले समेत विरोध जनाएको छ । उपाध्यक्ष सीता ढुंगानाले सडकका कारण बाढीले गजुरीतर्फका बचेखुचेका करिब ५ हजार रोपनी खेतमा बाढी पस्ने खतरा रहेको बताइन् । गजुरी गाउँपालिकाले बगरमा सडक निर्माण गर्नुको साटो चेपाङ्गमार्गलाई थप चौडा गर्नु पर्ने माग गर्दै आएको छ भने वेनीघाटले खोला बगरबाट सडक सोझो पर्ने र राजमार्गमा निस्कन समयको पनि बचत हुने भएकोले बगरको सडक विकल्प नभएको दाबी गर्दै आएको छ । हुआसिन सिमेन्टका स्थानीय व्यवस्थापक तुलसी थापाले स्थानीय तहको पूर्व स्वीकृतिमा खोलाकिनारका बगर र खेर गएका व्यक्तिगत जग्गामा सडक निर्माण गरेको भन्दै खेतमा बाढी पस्न नदिने बताए ।


स्थानीयको विरोध कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै गजुरी गाउँपालिकाका अध्यक्ष राजन्द्रविक्रम बस्नेतले भने, 'उद्योगका लागि निर्माण गरिएको सडकले पुर्‍याउने क्षतिबारे आपत्ति छ ।' उनले सडक निर्माण गर्दा गजुरीतर्फको अधिकांश खेतियोग्य जमिन खोलाको कटान हुने खतरा रहेकाले उद्योग सञ्चालक तथा बेनिघाट रोराङ गाउँपालिका, जिल्ला समन्वय समिति, ३ नम्बर प्रदेश ३ तथा केन्द्र सरकारले चासो दिनुपर्ने माग गरे । तर, बस्नेतले सिमेन्ट उद्योगको भने आफूहरुले विरोध नगरेको प्रस्ट्याए ।


कांग्रेसका स्थानीय नेता राजेन्द्र कँडेलले हुआसिन सिमेन्ट प्रा.लिले मलेखु खोलाको अस्तित्व नै मेटाएर निर्माण गरिरहेको सडकले ठूलो धनजनको क्षति पुर्‍याउन सक्ने बताए ।


त्रिशूली बचाउ महाअभियानका अभियन्ता शिवप्रसाद पाण्डेले उक्त सडक निर्माण कार्यले गजुरी गाँउपालिकातर्फका अधिकांश खेतीयोग्य जमिन कटान गर्ने भएकाले स्थानीय सरकार र उद्योग सञ्चालकले समयमै ध्यान दिनुपर्ने बताए । सिमेन्टको ८० प्रतिशत र नेपाली उद्योगपति सुरज वैद्यको २० प्रतिशत सेयर रहेको छ । अबको ९ महिनामा दैनिक ६० हजार बोरा सिमन्ट उत्पादन गर्ने गरी कम्पनी निर्माण भइरहेको छ ।

प्रकाशित : चैत्र ७, २०७५ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?