कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : पार्किङ क्षमता बढाउन प्रधानमन्त्रीको निर्देशन

माधव ढुंगाना

भैरहवा — प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङस्थल बढाउन निर्देशन दिएका छन् । विमानस्थलको शुक्रबार स्थलगत निरीक्षणका त्रममा उनले उक्त निर्देशन दिएका हुन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : पार्किङ क्षमता बढाउन प्रधानमन्त्रीको निर्देशन

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थलको वर्तमान अवस्थाबारे जानकारी गराउँदै छवटा बोइङसम्म पार्किङ गर्न सकिने बताएका थिए । त्यसपछि प्रधानमन्त्रीले क्षमता बढाउन निर्देशन दिँदै भने, ‘विमानस्थलको प्रत्यक्ष सम्बन्ध लुम्बिनीसँग जोडिएकाले निर्माणमा ढिलाइ गर्न हुँदैन ।’


विमानस्थलमा जेटीआर, बोइङजस्ता ठूला जहाज मात्रै होइन, साना जहाज, हेलिकप्टरसमेत पार्किङ गर्नुपर्ने भएकाले क्षमता बढाउनुपर्ने प्रधानमन्त्रीको तर्क थियो । ‘अहिलेकै अवस्थामा पार्किङस्थल सानो भयो,’ उनले भने, ‘नजिकै लुम्बिनी छ । लुम्बिनीको विकास गर्न पनि यहाँ प्रशस्त विमान पार्किङस्थल हुन जरुरी छ ।’ आयोजना निर्माणमा अब विलम्ब नगरी तोकिएको समयमा पूरा गर्न निर्देशन दिए । रूपन्देहीमा सञ्चालन हुने विभिन्न आयोजनाको सुरुवात गर्न प्रधानमन्त्री भैरहवा आएका हुन् ।


विमानस्थल आयोजना निर्माण सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक सबै तयारी सरकारले गरेको उनले जनाए । उनका अनुसार एयर रुटलगायत अन्तर्राष्ट्रिय एयरलाइन्ससँग सम्झौता गर्ने काम धमाधम भइरहेको छ । ‘यो विमानस्थल अन्तर्राष्ट्रिय उडानले खचाखच भरिनेवाला छ,’ उनले भने । महानिर्देशक गौतमले आयोजनाको ६८ प्रतिशत भौतिक कार्य सम्पन्न भएको र सञ्चालनका लागि आवश्यक पूर्वाधार, सुरक्षा, भन्सार, क्वारेन्टाइन, अध्यागमन, आयल निगमलगायत सबै निकायसँग समन्वय भइरहेको बताए ।


उनका अनुसार धावनमार्गको तीन तहको कालोपत्रे सकिएको, ट्याक्सीवे र पार्किङको निर्माण कार्य पूरा भइसकेको छ । उपकरण जडानका लागि टेन्डर भइसकेको छ । निर्माणका काम धमाधम भरहेका छन् । यहाँ तीन सय मिटरसम्मको भिजिबिलिटीमा उडान सञ्चालन गर्न सकिने उपकरण जडान गरिनेछ । ‘यसै वर्ष उडान सञ्चालन गर्ने तयारीका साथ निर्माण अघि बढेको छ,’ उनले भने, ‘भदौबाट परीक्षण उडान गर्ने तयारी गरिएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा यो विमानस्थल अत्याधुनिक र सुरक्षित रहेको उनले बताए ।

प्रकाशित : चैत्र ९, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?