कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्युलोमा झुल्दैन धान

हरि गौतम

रुकुम पश्चिम — सत्र हजार वर्गमिटरमा फैलिएको मलिलो ज्युलो, जहाँ एक सिजनमा ३ सय मुरी धान फल्छ । सिजनअनुसार धान लहलह झुल्छ भने मास, मसुरो, काउली, केराउ, टमाटर सधैं लटरम्म फल्छ ।

ज्युलोमा झुल्दैन धान

सिम्ली ज्युलोको यो दृश्य अब एकादेशको कथा बनेको छ । सानीभेरी गाउँपालिका ९ मा पर्ने ऊक्त ज्युलोमा खेतबारी छैन । सबैतिर घर बनेका छन् । हिजोको मलिलो ज्युलो अहिले कंत्रिटमय बनेको छ ।


२६ घरधुरी निर्भर उक्त ज्युलोमा एउटै खेत बाँकी छैन । ‘पैसाको लोभले सिम्ली ज्युलो सखाप भयो,’ स्थानीय शिक्षक चक्रबहादुर भण्डारी भन्छन्, ‘सिम्ली ज्युलो घडेरीका रूपमा बिक्री भएरै सकियो ।’ सिम्ली ज्युलोमा खेतीपाती गर्ने स्थानीय पलायन भएर अहिले व्यापारी/व्यवसायी मात्र बसोबास गर्न थालेका उनले बताए । उनका अनुसार मध्यपहाडी लोकमार्गसँग जोडिएको ऊक्त ज्युलोमा २०७३ देखि धान, गहुँ र तरकारीको साटो घर निर्माण त्रम बढेको हो । त्यसअघि ज्युलोमा फाट्टफुट्ट मात्रामा घर बन्ने गरेका उनले बताए ।


सिम्ली ज्युलोमै सानीभेरी गाउँपालिकाको कार्यालय पनि छ । ज्युलो संरक्षण गर्ने दायित्व बोकेको निकाय आफैंले ज्युलोमा संरचना बनाएपछि यसको अस्तित्व संकट झन् गहिरिएको हो । हाल एउटा घडेरीलाई २ लाख ५० हजारदेखि ३५ लाख रुपैयाँसम्म पर्छ ।

सिम्लीको जस्तै हविगत सोही गाउँपालिकाका गरायला र चाइनाबगर ज्युलोको पनि भएको छ ।


स्थानीय तह बनेसँगै धान, गहुँ फल्ने ज्युलोलाई बजारको रूपमा विकास गर्न थालिएको छ । गाउँपालिकाले पनि सहरीकरणमै जोड दिएको छ । व्यवस्थित सहरीकरण गर्ने योजना बनाएको गाउँपालिकाले ज्युलालाई नै सहरको रूपमा विकास गर्ने योजना अघि सारेको छ । ‘विकासका नाममा विनास भइरहेको छ,’ शिक्षक भण्डारी भन्छन्, ‘सबै ज्युला र फाँटलाई सहर बनाए स्थानीयले खाने के हो स्थानीय उत्पादन पनि पाउन मुस्किल हुने भयो ।’


बाँफिकोट गाउँपालिका ४ को छिनखेत ज्युलो पनि धान र गहुँको लागि प्रसिद्ध ज्युलो हो । अहिले त्यहाँ ज्युलो होइन, बजार छ । गाउँपालिकाको मुख्य बजारको रूपमा रहेको छिनखेतमा घर तथा भवन बनाउनेहरू दैनिक बढिरहेका छन् । खेतमा घर बनाउनेहरूको संख्या पनि बढ्दै गएको छ । गाउँपालिकाका केही कार्यालयहरू समेत छिनखतेमा राखिएको छन् । खेत मासेर घर बनाउन उत्साहित हुनेको संख्या बढ्दै गएको छ ।


स्थानीयले ज्युलालाई बजार बनाउन आनो जग्गालाई सरकारको नाममा पास गर्दैछन् । सरकारलाई जग्गा दिएमा सरकारी कार्यालय स्थापना हुने र त्यसले बजार विस्तारमा सहयोग पुग्ने विश्वास सर्वसाधारणको छ । ‘अघिल्लो वर्षसम्म अलि धान रोपेका खेती देखिन्थे,’ स्थानीय डिलबहादुर कुसारीले भने, ‘यो वर्षदेखि मुस्किलले धान रापेका खेत देखिन्छन् होला ।’ बजार बनाउने लोभमा स्थानीयले खेतमै बसपार्क बनाएका उनले बताए ।


समस्या सानीभेरी र बाँफिकोट गाउँपालिकाको मात्रै होइन । जिल्लाका अधिकांश स्थानीय तहका अधिकांश धान फल्ने ज्युलोहरू मासिँदै छन् । आठबीसकोट नगरपालिकाको मुख्य ज्युलो राडी घर र भवनले ढाकिँदै छ । कतिले त यसअघि नै खेतमा धान, गहुँ तथा अन्य बालीसमेत लाउन छाडिसकेका छन् ।


‘सबै परनिर्भर भइसकेका छन्, स्थानीयस्तरमा उत्पादन भएको खाद्यान्न खान छाडेर बाहिरको बजारबाट आएको खाद्यान्नले पेट भरिरहेका छन्,’ राडीज्युला शिक्षा क्याम्पसका शिक्षक तेजबहादुर मल्लले भने, ‘यो स्वास्थ्यका दृष्टिकोणले पनि त्यति राम्रो होइन ।’ भविष्यको वास्ता नगरेर धमाधम ज्युलो मास्नुको असर दीर्घकालसम्म पर्ने उनले बताए ।


सानीभेरी गाउँपालिका अध्यक्षले सहरीकरण र उत्पादन क्षेत्रलाई व्यवस्थित बनाउने योजना रहेको बताए । ‘कतिपय अवस्थामा व्यक्तिगत सम्पक्तिमा व्यत्तिकै हक लाग्ने भयो,’ उनले भने, ‘गाउँपालिकाले उत्पादन हुने सबै ठाउँ मासिने गरी सहरीकरण गर्दैन र गर्न पनि प्रोत्साहित गर्दैन ।’ उनले बढ्न थालेको बजार तथा वस्तीलाई व्यवस्थित बनाउन पनि गाउँपालिका लागिरहेको बताए ।

प्रकाशित : चैत्र ११, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?