कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्को साता चीन–अमेरिका व्यापार वार्ता

बीबीसी

बेजिङ — व्यापार विवाद सुल्झाउन अमेरिकी अधिकारीहरू आगामी साता चीन जाने भएका छन् । दुईबीचको व्यापार युद्ध अन्त्यका लागि आमने–सामने भएर वार्ता गर्न लागेको ह्वाइटहाउसले जनाएको छ । उक्त भेटपछि थप वार्ता गर्न चिनियाँ प्रतिनिधि अमेरिका जानेछन् ।

अमेरिका र चीनले एक–अर्काका सामानमा अर्बौं डलर भन्सार लगाउँदै आएका छन् । यही विषयमा दुई देशबीच किचलो छ ।

गत डिसेम्बरमा आयोजित जी टवान्टी सम्मेलनमा उनीहरूले विवाद मत्थर पार्न सहमति गरेका थिए । उनीहरूबीचको छलफल भने अझै कठोर देखिन्छ । यसो भए तापनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सकारात्मक प्रतिक्रिया दिने गरेका छन् । उनी भन्छन्, ‘हामीहरूको छलफल राम्रो चल्दै छ ।’


अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटथाइजर र अर्थमन्त्री स्टेभेन नुनिच यही बिहीबार चीनतर्फ लाग्दै छन् । उनीहरूले त्यहाँ चिनियाँ उपप्रधानमन्त्री लिउ हेसँग वार्ता गर्नेछन् । अमेरिकी टोलीमा सहायक व्यापार प्रतिनिधि जेफ्री गेरिसरसँगै अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयका अन्य उच्च सरकारी अधिकृतसमेत सहभागी हुँदै छन् ।


उपप्रधामन्त्री लिउले नेतृत्व गर्ने चिनियाँ प्रतिनिधि टोली भने अप्रिल ३ मा अमेरिका जानेछन् । अप्रिल अन्त्यसम्ममा सम्झौता टुंगो लगाउने दुई देशको लक्ष्य छ । दुवै टोलीले एकअर्कासँग बाझिने खालका प्रतिक्रिया दिएपछि वार्ता सोचेभन्दा लामो भइरहेको विज्ञहरूको बुझाइ छ । यसअघिको वार्ता फेब्रुअरी १५ मा रद्द भएको थियो । त्यो बेला अमेरिकाले ‘धेरै जटिल मुद्दाहरू’

को समाधान हुन नसकेको बताएको थियो ।


महिनाको अन्तिमसम्ममा ट्रम्पले दुई पक्ष व्यापार सन्धिको ‘धेरैधेरै नजिक’ नजिक पुगेको प्रतिक्रिया दिए पनि सम्झौता अद्यापि नजिक देखिएको छैन । उनले मार्च १ सम्ममा समस्या समाधान नभए चिनियाँ आयातमा शुल्क वृद्धि गर्ने चेतावनीसमेत दिएका थिए । उनले आफ्नो चेतावनीको मिति पर सारेका छन् । चीनमा सञ्चालित अमेरिकी कम्पनीलाई चीनले प्रविधि हस्तान्तरण गर्न दबाब दिएर आफूहरूको बौद्धिक सम्पत्ति चोरेको अमेरिकको आरोप छ ।


वासिङ्टन चाहन्छ कि चीनले आफ्ना आर्थिक नीतिमा सुधार ल्याओस् । उसका अनुसार चीनले घरेलु र अन्तर्राष्ट्रिय कम्पनीबीच सहुलियत र सहयोगमा विभेद गर्दै आएको छ । चीनले धेरै सामान खरिद गरेर आफ्नो व्यापार घाटा सन्तुलन गरिदेओस् भन्ने पनि अमेरिकाको चाहना छ । अमेरिकाले आर्थिक इतिहासमै सबैभन्दा ठूलो व्यापार युद्ध प्रारम्भ गरेको चीनको आरोप छ । अमेरिकाले चाहेझैं चीनले बृहत् संरचनागत परिवर्तन आत्मसात् गर्ने लक्षण देखाएको छैन ।


वालस्ट्रिट जर्नलका अनुसार सम्झौता लागू गर्नु र विद्यमान भन्सार शुल्कमा दुवै देशलाई पछाडि धकेल्नु नै वार्ताको महत्त्वपूर्ण विषय रहनेछ । चिनियाँ अधिकारीले व्यापार वार्ताका मुख्य मुद्दामा समझदारी नभएसम्म राष्ट्रपति सी जिनपिङ ट्रम्पसँग भेट्न नचाहेको बताएका छन् । तिनका अनुसार अन्तिम घडीमा ट्रम्प झोँक्किएर बाटो मोडून् भन्ने पक्षमा सी छैनन् ।


वार्ता विफल भएमा अमेरिकाले २ सय अर्ब डलरबराबरको चिनियाँ सामानका १० प्रतिशत भन्सार शुल्क वृद्धि गर्नेछ । अमेरिका छिर्ने सबै चिनियाँ सामानमा भन्सार लगाउने भन्दै ट्रम्पले यसअघि नै धम्की दिइसकेका छन् । अमेरिकाले २ सय ५० अर्ब डलरको चिनियाँ सामानमा भन्सार लगाइसेको छ भने चीनले पनि १ सय १० अर्ब डलरको अमेरिकी उत्पादनमा कर लगाएको छ ।


ट्रम्पले थप २ सय ६७ अर्ब बराबरको चिनियाँ उत्पादनका थप भन्सार शुल्क लगाउने चेतावनी दिएका छन् । यसो हुँदा अमेरिका भित्रिने सम्पूर्ण चिनियाँ सामान करको दायरामा आउनेछन् । उनीहरूको व्यापार युद्धका कारण विश्व व्यापार नै छायामा परेको छ भने विश्व अर्थतन्त्र सुस्त बनाउन यसले योगदान पुर्‍याएको छ ।

प्रकाशित : चैत्र १२, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?