कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विशेष आर्थिक क्षेत्र : जग्गा प्राप्ति नहुँदा अलमल

विनोद भण्डारी

विराटनगर — सरकारले जमिन उपलब्ध नगराउँदा सुनसरीको अमडुवामा स्थापना गर्ने भनिएको विशेष आर्थिक क्षेत्र (सेज) को प्रक्रिया सुरु हुन सकेको छैन । 

विशेष आर्थिक क्षेत्र विकास समितिले दुई वर्षअघि सेज स्थापनाका लागि सुनसरीको अमडुवा फार्ममा रहेको ५ सय १२ बिघा जमिनमध्ये ३ सय १२ बिघा उद्योग र अर्थ मन्त्रालयसँग अधिग्रहणका लागि सिफारिस गरेको थियो ।


जमिन अधिग्रहण गर्न सम्बन्धित मन्त्रालयलाई सिफारिस गरे पनि जग्गा प्राप्त हुन नसक्दा काम अगाडि बढाउन नसकिएको समितिका निर्देशक चण्डी भट्टले बताए । उनका अनुसार गत वर्ष सेजका लागि भौतिक पूर्वाधार विस्तार गर्न समितिले छुट्याएको ८८ करोड बजेट फ्रिज भयो ।


‘सेजका लागि डीपीआर र डिजाइन सबै तयार छ,’ भट्टले भने, ‘फाइल सबै अर्थ मन्त्रालयमा थन्किएका छन् । जग्गा प्राप्तिका लागि जनप्रतिनिधिले पनि चासो दिएका छैनन् ।’ स्थानीय जनप्रतिनिधिले जग्गा प्राप्तिका लागि दबाब दिने हो भने प्रक्रिया अगाडि बढाउन सजिलो हुने उनले बताए ।


सुनसरी र मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीलाई सरकारले दुई दशकदेखि देखाउँदै आएको सेजको सपना अहिलेसम्म पूरा हुन सकेको छैन ।


विराटनगरमा विशेष आर्थिक क्षेत्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न दुई दशक पहिला आएको सरकारी टोलीले अमडुवा फार्मलाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्न सकिने सिफारिस वाणिज्य मन्त्रालयमा गरेको थियो । मोरङ सुगर मिल क्ष्ोत्रको करिब ५ सय १२ बिघा जमिनमध्ये एउटै प्लटमा रहेको १ सय ८० बिघा जमिनमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न सकिने सुझाव दिएको थियो ।


‘सेज स्थापनाका लागि हामीले प्रधानमन्त्री केपी ओलीसँग पटकपटक आग्रह गर्‍यौं । उहाँले भेटैपिच्छे आश्वासन पनि दिनुभयो,’ मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले भने, ‘कामचाहिँ एक इन्च पनि अगाडि बढेको छैन ।’


जमिन अभावले यस क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने ठाउँ नै नभएकाले विशेष आर्थिक क्षेत्र स्थापना भए त्यहाँ उद्योग स्थापना गर्न सजिलो हुने उद्योगीको भनाइ छ । उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेश जाजूले भने, ‘बिघामा पाइने जमिन अहिले धुरमा पाइन्छ । एक दुई धुर जमिनमा उद्योग स्थापना गर्ने कुरै भएन ।’


सेज स्थापनाका लागि विराटनगर उपुक्त स्थान हो । भन्सार विन्दुसम्म ब्रोडगेज रेलको सुविधा छ । जोगबनीदेखि किमाथांकासम्मको सडक निर्माण भइरहेको छ । जाजूले भने, ‘सरकारले यहाँ सेज स्थापना गर्ने हो भने विराटनगर भारत, भुटान, बंगलादेश र चीनको व्यापारिक केन्द्रका रूपमा विकसित हुने स्थिति छ ।’


विराटनगरमा विशेष आर्थिक क्षेत्र स्थापना भएपछि प्रदेश १ ले अन्य प्रदेशसँग समन्वय नै नगरी भारत, चीन, बंगलादेश र भुटानसँग सिधा व्यापार गर्न सक्ने एसियाली विकास बैंकको व्यापार सहजीकरणका विज्ञ श्याम दाहालको बुझाइ छ । सेज स्थापनासँगै भारतको जोगबनी र चीनको किमाथांका मार्ग जोडिँदा विराटनगर भारत, चीन, भुटान र बंगलादेशको व्यापारिक केन्द्रका रूपमा विकसित हुने दाहालले बताए ।

प्रकाशित : चैत्र १४, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?