कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लगानीको लागि नेपाल 'भर्जिनल्याण्ड' : प्रधानमन्त्री

विजय तिमल्सिना

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको लागि नेपाल भर्जिनल्याण्ड भएको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि आह्वान गरे । 

लगानीको लागि नेपाल 'भर्जिनल्याण्ड' : प्रधानमन्त्री

उनले तीन करोड नेपालीको जीवनस्तर सुधार्न सरकारले काम गरिरहेको भन्दै विदेशी लगानीको लागि व्यवसाय गर्ने वातावरणमा धेरै सुधार गरेको बताए ।


उनले नेपालमा राजनीतिक स्थायित्व मात्रै नभई नीतिगत स्थायित्व पनि भएको बताए ।


‘एक वर्षमा हामीले धेरै नीतिगत र कानुनी सुधार गर्‍यौं । धेरै प्रारुपहरु तयार पार्‍यौं,’ प्रधानमन्त्री ओलीले भने,‘नेपाल लगानीको लागि तयार छौं ।’


उनले आर्थिक समृद्धिबिना राजनीतिक परिवर्तन दीगो नहुने भन्दै सरकारले द्रूततर आर्थिक विकासमा जोड दिएको बताए ।


उनले नेपालले सन् २०२३ सम्ममा मध्य आय भएको मुलुक बन्ने र सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको बताए ।


प्रधानमन्त्री ओलीले दुई अंकको आर्थिक बृद्धि गर्न सरकारलाई ५ वर्षभित्र ९८ खर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै वैदेशिक लगानी आवश्यक परेको प्रष्ट पारे ।

‘हामीले भर्खरै योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएका छौं,’ उनले भने, ’यसले कामदारलाई मात्रै होइन उद्योगीहरुलाई पनि सहजता प्रदान गर्छ ।’


प्रधानमन्त्री ओलीले सरकारले कर र उद्योग दर्ता प्रक्रियालाई पूर्णरुपमा स्वचालित बनाउने योजना बनाएको जानकारी दिए । उनले लगानीको लागि नेपाल उदार देश भएको भन्दै सरकारले सबै क्षेत्रमा लगानी खुला गरेको बताए ।


उनले मापदण्ड पूरा गर्ने लगानीलाई कर छुटको प्रतिबद्धता कानुनमा उल्लेख भएको भन्दै लगानीकर्ताको लागि यो अवसर भएको बताए ।


उनले अधिकांश नेपाली काम गर्ने उमेर समूहका भएको जानकारी गराउँदै श्रमको मूल्यको हिसाबले पनि नेपालमा लगानी गर्न उपयुक्त हुने दाबी गरे ।


उनले पूर्वधारका हिसाबले पनि नेपाल अघिल्लो पटक भन्दा बढी तयार भएको बताए ।


उनले नेपालको ऊर्जाको क्षेत्रिय बजारको खोला खुलेको भन्दै सडबाहेक छिमेकी देशसंग नेपालले रेल, पानीजहाज र प्रसारण लाइनको सञ्जाल बनाउने बताए ।

प्रकाशित : चैत्र १५, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?