कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहुघाट र प्राधिकरणबीच पीपीए

घनश्याम खड्का

म्याग्दी — राहुघाट जलविद्युत् आयोजना र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक श्रीरामराज पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उत्पादित बिजुली वर्षायाममा ४ दशमलव ८० र हिउँदमा ८ दशमलव ४० रुपैयाँ प्रतियुनिटमा खरिदबिक्री गर्ने गरी सम्झौता भएको छ ।


‘प्राधिकरणसँग पीपीए भएपछि आयोजनाले निर्माण हुने सुनिश्चितता प्राप्त गरेको छ,’ रघुगंगा हाइड्रोका सहायक निर्देशक गोपाल पाठकले भने, ‘कार्यस्थलमा सबै भौतिक सामग्री तयारी अवस्थामा रहेकाले अब आयोजना निर्माणले गति लिनेछ ।’ अर्धजलाशययुक्त आयोजनाबाट सुक्खा मौसममा ४ करोड ९९ लाख ७८ हजार र बर्खामा २४ करोड ५ लाख ९३ हजार युनिट विद्युत् प्रतिघण्टा उत्पादन हुने क्षमता रहेको उनले बताए ।


८ अर्ब ६० करोड लागत अनुमान गरिएको आयोजनाबाट उत्पादित विद्युत् आयोजनाको स्विच यार्डबाट दाना–कुस्मा २२० केभीए प्रसारण लाइनमा ‘लुप इन, लुप आउट’ सिस्टममा जोड्ने प्रस्ताव छ । विद्युत् प्राधिकरणले आयोजनाको डिजाइन, मोडेल र छुट्टै कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेड बनाई काम थालेको छ ।


राहुघाट हाइड्रोको क्ष्मँता वृद्धि गरी ३२ बाट ४० मेगावाट बनाइएको छ । नयाँ मोडलअनुसार रघुगंगा हाइड्रोमा ७० प्रतिशत प्राधिकरण र ३० प्रतिशत सर्वसाधारणको सेयर रहने कम्पनीले जनाएको छ ।


रघुगंगा हाइड्रोपावर लिमिटेडले भारतीय ठेकदार कम्पनी जयप्रसाद (जेपी) एसोसिएट्ससँग ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । ०७५ जेठबाट ‘नोटिस टु प्रोसिडर’ पाएको ठेकेदारले ४५ महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने सम्झौता छ ।


जग्गा अधिग्रहण गर्ने, वनसम्बन्धी काम, आवास निर्माण, १० किमि पहुँच मार्गको ट्र्याक खोल्ने, सिभिल एन्ड हाइड्रो मेकानिकलतर्फको लट १ सम्झौता भएर कार्यस्थलमा परिचालन भएको, निर्माण उपकरण कार्यस्थल पुगेको, विस्फोटक पदार्थ राख्न बंकर निर्माणसमेत कुल १२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनामा हाल इलेक्ट्रो मेकालिनक ‘लट २’ को प्राविधिक परीक्षण बोलपत्र मूल्यांकन भइरहेको छ । लट २ मा तीनवटा कम्पनीको बोलपत्र परेकाले ऋणदाता भारतीय एक्जीम बैंकमा स्वीकृतिका लागि पठाइएको छ ।


प्राधिकरणले २०६५ देखि राहुघाट जलविद्युत् आयोजनाको सिभिल इन्जिनियरिङको काम सुरु गरेको हो ।


ऋणको सर्तअनुसार नै प्राधिकरणले २०६७ कात्तिकमा दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी भारतीय कम्पनी आईभीआरसीएल इन्फ्रास्ट्रक्चर प्रोजेक्ट्स इन्डिया लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो ।

प्रकाशित : चैत्र २१, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?