कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुम्चिँदै कञ्चनजंघा पदमार्ग

पर्यटककै पर्खाइमा दोबाटो कुरिरहेका परिवार असन्तुष्ट
आनन्द गौतम

ताप्लेजुङ — कञ्चनजंघा संरक्षण क्षेत्रले पर्यटकीय पदमार्ग छोट्याउने भएको छ । फक्तालुङ गाउँपालिका ६ लेलेपको जौबारीबाट पदमार्ग ठाङगेन निकाल्न लागिएको हो । अम्जिलेसाका बासिन्दाले भने आफूहरुको रोजीरोटी खोस्न थालिएको भन्दै विरोध गरेका छन् ।

खुम्चिँदै कञ्चनजंघा पदमार्ग

उनीहरुले संरक्षण क्षेत्र र गाउँपालिकाले एउटा बस्तीलाई नै ओझेलमा पार्न खोजेको आरोप लगाए । सडक नसारिदिन उनीहरुको आग्रह छ ।


कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्‌का अध्यक्ष खगेन्द्र फेम्बू भने जौबारीदेखि घुन्सा खोलाको किनारैकिनार मार्ग ठाङगेन पुर्‍याउने बताउँछन् । दुबै बस्ती घुन्साखोलाको किनारमा छन् । अम्जिलेसा भने जौबारीबाट उकालो चढ्नुपर्छ । यहाँ चारवटा व्यावसायिक होटल रहेको ङिमा छेतेन शेर्पाले बताए । अन्यायमा परेको भन्दै सदरमुकाम फुङलिङ आएका ङिमाले भने, 'यहाँका मानिस पढेलेखेका छैनन्, जे गर्दा पनि हुन्छ भनेर बाइपास गर्न खोजियो ।'


उनका अनुसार यहाँ छिरिङकिपा गेष्ट हाउसका फुपु, लालीगुराँसका लाक्पा, ङिमा छेतेन र दोर्जे शेर्पाको परिवार पर्यटन व्यवसायमा आश्रित छ । तर फेम्वु भने दुइटा मात्रै व्यावसायिक होटल रहेको बताउँछन् । पर्यटककै लागि उनीहरु दोबाटो कुरेर बसेको उनले बताए ।


कञ्चनजंघा संरक्षणक्षेत्र व्यवस्थापन समितिका सचिव छेतेन वालुङले भने व्यावसायिक रुपमा विस्थापित हुने परिवारलाई बाटो जोडिने ठाउँमा निश्चित अवधिका लागि व्यापारको व्यवस्था गर्ने बताए । 'अहिलेको बाटो पर्यटकका लागि धेरै उकालो र अप्ठेरो छ,' छेतेनले भने, 'जहाँ बाटो जोडिन्छ विस्थापितलाई त्यहाँ निश्चित अवधिका लागि व्यवस्था गर्ने योजनामा छौं ।'


संरक्षण क्षेत्रभित्रको जग्गा रुख बिरुवा संरक्षण गर्ने गरी निश्चित अवधिका लागि भाडामा दिने कानुनी व्यवस्था छ । फेम्वुले भने विस्थापित नभएर छोटो र लामो बाटो हुने पर्यटकको इच्छानुसार दुवै बाटो चल्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए । गाउँपालिका अध्यक्ष सरोज एभेङ संरक्षण क्षेत्रसँगको सहकार्यमा गाउँपालिकाले १० लाख रुपैयाँ लगानी गरेको बताउँछन् । संरक्षण क्षेत्रले आवश्यकता अनुसार लगानी गर्ने फेम्बुले बताए । छेतेनले भने ३० लाख रुपैयाँ छुट्याएको बताए । घुन्साका व्यवसायीले पनि सडक बनाउन माग गरेका थिए ।


अम्जिलेसाका व्यवसायी बाटो घुमाउने पैसाले अहिलेकै बाटोलाई सुधार गरे अझ राम्रो हुने बताउँछन् । फुपु शेर्पाले भने, 'छुट्याइएको बजेटको आधा पैसामात्रै खर्च गरे पर्यटकका लागि स्तरीय बाटो बन्छ । त्यसले हामीलाई पनि राम्रो गर्छ र पर्यटकका लागि पनि राम्रो हुन्छ ।' लेलेपको पुलसम्म मात्रै सडक पुगेकाले यहाँबाट कञ्चनजंघा हिमालको यात्रामा जानेले पैदल यात्रा गर्नुपर्छ । गाउँपालिका अध्यक्ष एभेङका अनुसार घुन्सातर्फ सडक विस्तारको योजना बनेको छैन ।

प्रकाशित : चैत्र २६, २०७५ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?