कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७० नाघेकालाई निःशुल्क बिमा

यज्ञ बञ्जाडे

काठमाडौँ — ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गर्ने र सबै नेपालीमाझ बैंक खाता पुर्‍याउने महत्वाकांक्षी कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कार्यक्रमको उद्घाटन गरेका हुन् । ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षा तथा सबै नेपालीसमक्ष वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले सरकारले यो कार्यक्रमको शुभारम्भ गरेको हो । 

७० नाघेकालाई निःशुल्क बिमा

उमेरका भन्दा बूढाबूढीलाई बिमा धेरै आवश्यक हुने भएकाले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको प्रधानमन्त्री ओलीले बताए । ‘७० वर्षमाथिका सबै नागरिकले यो सुविधा पाउँछन्,’ उनले भने, ‘निरोगीलाई मात्र छानेर बिमा गर्ने होइन ।’ सरकारले बूढाबूढी, अपांग, गरिबीको रेखामुनि रहेकालगायत नागरिकलाई पनि स्वास्थ्य बिमा कार्यक्रममा समेट्ने बताए ।

यस्तो बिमाले प्रतिव्यक्ति एक लाख रुपैयाँसम्मको औषधोपचार खर्च व्यहोर्नेछ । यसका लागि वृद्ध नागरिकले कुनै शुल्क भुक्तानी गर्ने छैनन् । ज्येष्ठ नागरिकहरूको बिमाबापतका प्रिमियम (बिमा शुल्क) सरकारले व्यहोर्नेछ । यो कार्यक्रमअनुसार आइतबार मात्र ८० जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमाको प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं डिल्लीबजारका भैरव रिसाल, टोखा ११ का रामचन्द्र पौडेल, भक्तपुर बोडेगाँउका पशुपति महर्जनलगायत ८० जना ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । उनले आगामी बजेटमा वृद्धभत्ता बढाउने घोषणासमेत गरे । ‘यसपालिको बजेटमा वृद्धभत्ता बढ्छ । ढुक्क भए हुन्छ,’ उनले भने ।

सबै नेपालीको बैंक खाता कार्यक्रमअन्तर्गत पहिलो खाता प्रधानमन्त्रीको बुबा मोहनप्रसाद ओलीले खोलेका छन् । सो अवसरमा प्रधानमन्त्रीकी सासू धनमाया शाक्यको पनि बैंक खाता खोलिएको छ । ती दुवै खाता राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले बुबा मोहनप्रसाद र सासू धनमायालाई चेकबुक हस्तान्तरण गरेका छन् ।

वित्तीय पहुँचभन्दा बाहिर रहेका नागरिकलाई बैंकिङ प्रणालीमा जोड्ने उद्देश्यले सरकारले अभियानको रूपमा सबै नेफालीको बैंक खाता कार्यक्रम सुरु गरेको हो । यो कार्यत्रम सफल बनाउन अर्थ मन्क्रालय, राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थालगायतले सहकार्य गरेका छन् ।

यो कार्यत्रमअनुसार बैंक खाता खोल्दा पूर्ण रूपमा ग्राहक विवरण आवश्यक पर्दैन । सरकारद्वारा जारी गरिएको सामान्य परिचयपत्र (नागरिकता, राहदानी, मतदाता परिचयपत्र) का आधारमा खाता खोल्न सकिन्छ । यस्तो खाता खोल्दा प्रतिखाता बैंक तथा वित्तीय संस्थाले १ सय रुपैयाँ जम्मा गरिदिन्छन् । यसकारण यो खातालाई पनि निःशुल्क भनिएको हो । यो खातामा वार्षिक एक लाख रुपैयाँभन्दा धेरैको कारोबार गर्न नपाइने व्यवस्था छ ।

कुनै कारणले लाखभन्दा बढीको कारोबार गर्नुपरे सम्बन्धित बैंकमा सम्पर्क गरेर पूर्ण ग्राहक विवरण बुझाउनुपर्छ । यसअघि अन्य कुनै बैंक तथा विक्तीय संस्थामा खाता खोलिसकेको व्यत्ति र संस्थाले यस्तो (सय रुपैयाँ पाइने) खाता खोल्न पाउने छैन । अन्य बैंकमा खाता भए/नभएकोबारे खातावाला स्वयंले घोषणा गर्नुपर्नेछ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले सबै नागरिकलाई बैंकिङ प्रणालीमा समेट्न चाहेको बताए । ‘अब थैलीमा नगद होइन कार्ड (डेबिट/क्रेडिट) राख्नुपर्छ,’ उनले भने, ‘यसका लागि निकट भविष्यमै सबै नेपालीसमक्ष बैंक पुर्‍याउने सरकारको लक्ष्य छ ।’


कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले ७० वर्षभन्दा माथिका वृद्धवृद्धाको बिमा शुल्क सरकारले व्यहोर्ने भएकाले स्वास्थ्य बिमा निःशुल्क भएको बताए । यो बिमा कार्यक्रम आगामी बजेटमा समेटिने पनि उनले जानकारी दिए । ‘अब कसैले पनि बिरामी हुँदा सम्पत्ति बेच्न नपरोस् भनेर सरकारले यस्तो योजना ल्याएको हो,’ उनले भने । स्वास्थ्य बिमा बोर्डमार्फत सञ्चालन हुने यो कार्यक्रममा धेरैभन्दा धेरैले लाभ लिन उनले आग्रह गरे ।

वित्तीय पहुँच विस्तारक लागि यो वर्ष खोल्ने नयाँ खातामा बैंक तथा वित्तीय संस्थाले प्रतिखाता सय रुपैयाँ राखिदिने भए पनि त्यसकै मात्र भर नपरी धेरै रकम जम्मा गर्न उनले आग्रह गरे । ‘सय रुपैयाँको मात्रै भर नपरी यसमा थपेर खाता खोल्नुहोस्,’ उनले भने, ‘यसले तपाईलाई बचत गर्न सिकाउँछ, त्यो बचत आवश्यकताअनुसार उपयोग गर्न सकिन्छ ।’ आफूले पैसा नथप्दा खातामा अपनत्व नहुने सम्भावना भएकाले यसो गर्न उनले सुझाव दिएका हुन् ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिगो विकास लक्ष्य हासिल गर्न स्वास्थ्य बिमा कार्यक्रममा जोड दिइएको बताए । ‘प्रत्यक व्यक्ति स्वस्थ रहुन्, रोग लागे उपचार गर्न सजिलो होस् भनेर यो अभियान ल्याइएको हो,’ उनले भने । हालसम्म करिब १६ लाख नेपालीको स्वास्थ्य बिमा भइसकेको छ । जसमध्ये ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरुष रहेको मन्त्री यादवले बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो अभियानमा खाता खोल्न प्रक्रिया झन्झटिलो नभएको बताए । ‘हामी सरलीकृत रूपमा खाता खोल्छौं । खाता खोल्न नागरिकता नै चाहिँदैन,’ उनले भने, ‘पहिचान खुल्ने परिचयपत्र र फोटो ल्याउनुस् ।’

सरकारले स्वास्थ्य बिमा बोर्डमार्फत ज्येष्ठ नागरिकको बिमा गर्न लागेको हो । तीन वर्षअघि सुरु भएको यो कार्यक्रम हाल ४२ जिल्लामा मात्र सञ्चालित छ । यसको अर्थ ऊक्त कार्यत्रम सञ्चालन भएको ४२ जिल्लाभन्दा बाहेकका जिल्लाका नागरिकले तत्कालै स्वास्थ्य बिमा सुविधा पाउने छैनन् ।

कार्यक्रम नपुगेका जिल्लामा सम्भव भएसम्म छिमेकी जिल्लाका एजेन्टमार्फत र बाँकीलाई कार्यक्रम विस्तार गरेर मात्र सेवा दिन सकिने स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले बताए । ‘सरकारले सांकेतिक रूपमा कार्यक्रम सुरु गरेको हो,’ उनले भने, ‘बिस्तारै सबै जिल्लामा विस्तार गरिनेछ ।’ आइतबार बिमा प्रमाणपक्र वितरण गरिएका ज्येष्ठ नागरिकहरूको बिमालेख सत्रिय हुन करिब एक/डेढ महिना लाग्ने उनले बताए ।

विगतमा प्रतिपरिवार २५ सय बिमा शुल्कमा वर्षको ५० हजार रुपैयाँसम्मको स्वास्थ्योपचार खर्च समेटिने व्यवस्था थियो । यही चैतदेखि बिमाको सीमा बढेर प्रतिपरिवार एक लाख रुपैयाँ पुगेको छ । यसबापत एक घरपरिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ । सबै नेपालीसमक्ष बैंक खाता पुर्‍याउने कार्यक्रम पनि नयाँ भने होइन ।

सरकारले विगत तीन वर्षदेखि यो कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । सोही क्रममा गत वर्ष बैंक तथा वित्तीय संस्थालाई वार्षिक प्रति २ हजार ५ सय शाखा खोल्ने बैंकलाई एक वर्षका लागि निर्ब्याजी एक करोड रुपैयाँ सापटी दिने अफर ल्याएको थियो । गत वर्ष कुनै पनि बैंकले थप २ हजार ५ सय खाता खोल्न सकेका छैनन् । गत फागुनसम्म २ करोड ५६ लाख ५८ हजार निक्षेप खाता खुलेका छन् । गत वर्षको तुलनामा यो करिब साढे ४१ लाखले बढी हो ।

प्रकाशित : वैशाख २, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?