व्यापारिक केन्द्र बन्दै माछाखोला

हरिराम उप्रेती

गोरखा — उत्तरी गोरखाको प्रवेशद्वार हो धार्चे गाउँपालिका ५ को माछाखोला । ट्र्याक खुलेर गाडी चलेपछि यो ठाउँ व्यापारिक केन्द्र बन्दै गएको छ । होटल खुल्ने क्रम बढ्दो छ । घरघरै खुद्रा र थोक किराना पसल खुलेका छन् ।



माछाखोला व्यापारिक केन्द्र बन्दै जाँदा धार्चे मात्र नभई चुमनुब्री गाउँपालिकाका सातवटै वडाका बासिन्दालाई किनमेल सजिलो भएको छ । माछाखोलासम्म गाडी चलेपछि उत्तरी गोरखाका बासिन्दाको पैदल दूरी छोट्टिएको छ ।

यसअघि सोतीबाट दैनिक उपभोग्य सामग्री खच्चडमा बोकाएर ढुवानी गर्नेहरू हिजोआज माछाखोलाबाटै कारोबार गर्छन् । तिब्बतको सिमाना लार्के जोड्ने सडकको ट्र्याक खोल्ने क्रममा माछाखोलासम्मको खण्डमा गत पुसबाट गाडी चल्न थालेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । स्थानीय तह निर्वाचनको बेला गुम्दामा रहेको गाउँपालिका केन्द्र जनप्रतिनिधिकै जोडबलमा माछाखोला सरेको छ ।

‘चुनावका बेला भोट माग्दा सबैलाई पायक पर्ने ठाउँमा केन्द्र राख्छौं भनेका थियौं,’ उनले भने, ‘त्यही प्रतिबद्घता पूरा गर्न माछाखोला केन्द्र भयो ।’ बारपाक, लाप्राक र गुम्दासम्मका बासिन्दालाई सुविधाका लागि माछाखोलाबाट गुम्दाको लप्सीबोटसम्म ट्र्याक खन्न सुरु भएको उनले बताए । वैशाखभित्रै यहाँ बैंक स्थापना हुने गाउँपालिकालेजनाएको छ ।

तल्लो क्षेत्रबाट जाने र चुमनुब्री गाउँपालिकाको सामागाउँ, छेकम्पार, चुम्चेत, विही, सिर्दिबास, ल्हो, प्रोकबाट तल्लो क्षेत्र झर्ने स्थानीय र पर्यटक पैदल यात्रा गर्दा माछाखोला बास बस्न आइपुग्ने गरेका छन् ।

व्यवस्थापन योजना
व्यापारिक गतिविधि बढेर व्यस्त बनेको बजारलाई अव्यवस्थित हुन नदिन तीन साताअघि स्थानीयको भेला भएको थियो । उक्त भेलाले कान्छा गुरुङको अध्यक्षतामा १७ सदस्यीय माछाखोला बजार व्यवस्थापन तथा संरक्षण समिति गठनसँगै बजार क्षेत्रलाई व्यवस्थित बनाउन योजना तयार पारेको छ ।

बजारभित्र खच्चड बास बसाउन रोक लगाइएको छ । खच्चड हिँड्न बगरबाट वैकल्पिक बाटो बनाइएको छ । ‘खच्चड हिँड्दा धेरै फोहोर गर्छ । करेसाबारी पनि नष्ट गर्छ, तल्लो र माथिल्लो बजारमा खच्चड बास बसाउन रोक लगाउने निर्णयगरेका छौं,’ गुरुङले भने, ‘माछाखोलाको बगरमा बास बसाउने व्यवस्था मिलाएका छौं ।’

बूढीगण्डकीको कटानबाट बजार जोगाउन ग्याभिन वाल राख्न पहल गर्ने समितिका अध्यक्ष गुरुङले बताए । ‘माछाखोला र बूढीगण्डकी नजिकै बस्ती रहेकाले बाढी पहिराको डर छ,’ उनले भने, ‘सिमेन्टको पक्की पर्खाल उठाएर बस्ती जोगाउँछौं ।’ प्राविधिक ल्याएर कटान हुन सक्ने सम्भावित क्षेत्रको अध्ययन गराउने तयारी छ । पहिराबाट बजारलाई जोगाउन माथिको थास्कु पाखामा वृक्षरोपणको योजना पनि छ ।

बजारलाई प्लास्टिकमुक्त क्षेत्र बनाउन अभियान सञ्चालन गर्ने पनि भेलामा सहमति भएको छ । उनले भने, ‘दुई–चारवटा फोहोर फाल्नेखाल्डा खनेर डस्टविन राख्न सके बजार सफा देखिन्छ ।’

तिब्बतको सिमाना लार्के जोड्ने सडकको ट्र्याक खोल्ने क्रममा माछाखोलासम्म चल्ने बोलेरो र ट्रकले यात्रुसँग मनलाग्दी भाडा असुलेपछि समितिले नियन्त्रणको प्रयास पनि थालेको छ । ‘सोतीबाट माछाखोलासम्म ट्रकले जनही तीन सय, जिपले पाँच सय लिने गरेको गुनासो बढ्यो,’ उनले भने, ‘अब ट्रकलाई सय, जिपलाई २ सय ५० मात्र लिन भनेका छौं ।’

व्यवस्थित पार्किङका लागि बसपार्क बनाउने पनि योजना छ । उत्तरी क्षेत्रको व्यापारिक केन्द्र भएकाले हाटबजार सञ्चालन गर्न पनि पहल भइरहेको छ । ‘यहाँ नजिकै सय डेढ सय रोपनी जग्गा छ । त्यहाँ ट्रस हालेर हाटबजार चलाउन सके यहाँ उत्पादन भएका कृषि उपजले मार्केट पाउँछ,’ उनले भने ।

प्रकाशित : वैशाख ५, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्

‘होमो लुजोनेन्सिस’ भेटियो

कान्तिपुर संवाददाता

फिलिपिन्सको लुजोंन आइल्यान्डको एक गुफाबाट नयाँ मानव प्रजातिको उत्खनन भएको छ  । यो मानव प्रजातिको नाम– होमो लुजोनेन्सिस राखिएको छ  ।

केही हात र खुट्टाका हाड, तिघ्राको हाड अनि ७ वटा दाँत उक्त गुफामा भेटिएको छ । भेटिएका सम्पूर्ण हाड मसिना अनि साना थिए, जसले ती मानिस पक्कै गान्टा रहेको भन्ने बुझाउँछ । कार्बन डेटिङ गर्दा उक्त मानव लगभग ५०–६० हजार वर्षअघि उक्त आइल्यान्डमा रहेको कुरा पनि सार्वजनिक भएको छ । सन् २००४ मा वैज्ञानिकहरूले यस्तै प्रकृतिको अर्को गान्टे मानव प्रजातिको उत्खनन गरेका थिए । होमो फ्लुरोएन्सिस जसलाई अहिले ‘हभिट मानव’ भनी चिनिन्छ । प्राकृतिक स्रोत अनि खानेकुराको अभावमा विभिन्न आइल्यान्डमा बसोबास गर्ने यी मानव प्रजाति गान्टा भएको हुनसक्ने पनि दाबी छ । लुजोनेन्सिसका दाँतहरूमा प्राचीन तथा आधुनिक मानव दाँतको मिश्रण पाइएको छ । अहिलेसम्म भेटिएका अन्य मानव प्रजातिमा यस्तो मिश्रण पाइएको थिएन ।
अफ्रिकाबाट होमो इरेक्टस मानव बसाइँ सर्दै दक्षिण एसियामा पुगेको र आइल्यान्डको वातवरण अनुसार परिवर्तित भएको हुनसक्ने दाबी गरिएको छ । ककुजोनेन्सिसको खुट्टाको बुढी औंलाको हाड अलिक घुमेको छ, जुन आधुनिक मानिस (होमो सेपिएन्स) मा एकदम सिधा छ । घुमाउरो हाड भएको रुख चढ्ने अर्को मानव प्रजाति अस्ट्रेलोपिथेकसमा पनि रहेको पाइएको थियो, जुन अफ्रिकाको होमो इरेक्टसको पनि पुर्खा थिए । जसरी विभिन्न प्रजातिका बाँदर, कुकुर अहिले संसारका विभिन्न भागमा पाइन्छन्, त्यसरी नै ५० हजार वर्षअघि होमो सेपिएन्स, होमो निएन्डर्थलेन्सिस, होमो फ्लुओरेन्सिस, होमो लुजोनेन्सिस, होमो डेनिसोभ्यान्स जस्ता विभिन्न प्रजातिका मानव पनि पाइने रहेछन् ।
– सौगात बोलखे, पनौती–२, काभ्रे

प्रकाशित : वैशाख ५, २०७६ ०९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्