कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ महिनामै भेरीको पानी बबईमा

भेरीको पानी बबईमा खसेपछि बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ 
ठाकुरसिंह थारु

बर्दिया — राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको काम निर्धारित समयभन्दा एक वर्षअघि नै पूरा भएपछि यहाँका बासिन्दा खुसी छन् । छ महिनापछि पहिलो चरणमा भेरीको पानी बबई नदीमा मिसाइनेछ ।

६ महिनामै भेरीको पानी बबईमा

पहिलोपटक भेरीबाट बबई नदीमा ८ देखि १० घनमिटर प्रतिसेकेन्ड पानी छोडिनेछ । त्यसपछि यहाँको जमिनमा बाह्रै महिना सिँचाइ हुने खबरले किसान खुसी छन् ।


‘वर्षाका बेला आकासे–पानीबाट खेती हुन्छ । पानी नचाहिएका बेला नहरभरि पानी हुन्छ । सुक्खायाम सुरु हुनेबित्तिकै सुक्छ,’ बाँसगढी नगरपालिकाका किसान मोहन चौधरीले भने, ‘हिउँदमा बढी चाहिन्छ । त्यो बेला नहरमा पानी नहुँदा सिँचाइ गर्न पाइँदैन ।’


संविधानसभा निर्वाचनका बेला दलका नेताहरूले बबई डाइभर्सनबाट बाह्रै महिना सिँचाइ सुविधा दिने प्रतिबद्धता जनाएका थिए । ‘बबईबाट मात्र सिँचाइ पुगेन । त्यसैले भेरी नदीबाट पानी आउने खबरले खुसी छौं,’ चौधरीले भने, ‘बाह्रै महिना सिँचाइ सुविधा पाएपछि किसानलाई अरू के चाहियो !’


उक्त आयोजनाका निर्देशक सञ्जीव बरालले सुरुङ निर्माणको काम सकिएपछि बबईमा पानी खसाल्ने तयारी भइरहेको बताए । त्यसका लागि प्राविधिक काम अगाडि बढाइएको छ । बबईमा पानी खसेपछि किसानले प्रत्यक्ष फाइदा पाउनेछन् । भेरीको पानी बर्दियाको चेपाङ हुँदै ४० किलोमिटर दक्षिण बबई इरिगेसनसम्म पुग्नेछ । आयोजना सम्पन्न भएपछि भेरी नदीको पानी प्रतिसेकेन्ड ४० घनमिटरका हिसाबले बबई नदीमा खस्नेछ ।


‘पहिलो फेजमा बबईमा पानी खसालेर त्यसको प्रभाव हेर्छौं । प्रभावका आधारमा सुधार गर्नुपरे गर्छौं,’ निर्देशक बरालले भने, ‘त्यसबाट किसानलाई कति फाइदा भयो, अध्ययन गर्छौं ।’ आयोजनाको दोस्रो चरणको निर्माणका लागि ठेक्का भइसकेको छ । हेड वर्क, पावर हाउसलगायतका काम सुरु हुनेछन् ।


आर्थिक वर्ष ०६८/६९ मा काम सुरु भई ०७९/८० मा सकिने गरी काम भइरहेको आयोजनाले जनाएको छ । भेरीको पानी बबईमा खसेपछि बर्दिया र बाँकेका ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ पुग्ने विश्वास गरिएको छ ।


यो नेपालको पहिलो बहुउद्देश्यीय तथा अन्तर जलाधार स्थानान्तरणको राष्ट्रिय गौरवको आयोजना हो । बबई नदीबाट पानी खसालेर ४६.८ मेगावाट जलविद्युत् उत्पादन गरिनेछ । उक्त जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ । सुर्खेतको छिन्चुस्थित चिप्लेमा करिब १५ मिटर अग्लो बाँध बनाएर १२.२ किलोमिटरको सुरुङबाट बबई नदीमा पानी पुग्नेछ । आयोजना सुरु भएयता करिब ६ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।


बबईमा पानी खसेपछि बर्दियाको चेपाङ पर्यटकीय क्षेत्रका रूपमा विकास हुने विश्वास गरिएको छ । बबई नदीमा र्‍याफ्टिङ गर्न उपयुक्त हुनेछ । यसले पर्यटकलाई आकर्षण गर्ने विश्वास गरिएको छ । ‘पाइलटिङ प्रोजेक्ट’ का रूपमा अघि बढाइएको यो आयोजना पूर्वाधार विकासको नमुनाका रूपमा अघि बढेको छ ।

प्रकाशित : वैशाख १४, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?