कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

विमानस्थल निर्माण प्रभावित

माधव ढुंगाना

भैरहवा — स्थानीय तहले सम्झौताअनुसार नदीजन्य सामग्री उपलब्ध नगराएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित भएको छ ।

विमानस्थल निर्माण प्रभावित

मूल्य कम भएको भन्दै बुटवल उपमहानगरपालिकाले सम्झौताअनुसारको सामग्री दिन आनाकानी गर्दै आएको छ । समयमै निर्माण सामग्री उपलब्ध नभए अर्को साताबाट काम रोकिने आयोजनाले जनाएको छ ।


आयोजनाले बुटवल उपमहानगरपालिकासँग एक महिनाअघि १७ हजार २ सय २८ घनमिटर परिमाणको नदीजन्य निर्माण सामग्री उपलब्ध गराउने सम्झौता गरेको थियो । अहिले न्यून मूल्य भएको भन्दै सामग्री निकाल्न रोक लगाएको हो ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले सम्झौता गरिएको मूल्य चलनचल्तीभन्दा धेरै कम भएकाले मूल्य बढाएर मात्र उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकले गरेको बताए । ‘निकै कम मूल्यमा सम्झौता भएको रहेछ,’ उनले भने, ‘सम्झौता र कार्यादेश जे जस्तो भए पनि नगरपालिकाको पछिल्लो निर्णय नै लागू हुने निर्णय भइसकेको छ ।’ सम्झौतामा प्रतिफुट ६ रुपैयाँ र १३ प्रतिशत भ्याट लाग्ने उल्लेख छ । अहिले नगरपालिकाले प्रतिफुट १५ रुपैयाँ र १३ प्रतिशत भ्याट माग गरेको छ ।


विमानस्थल आयोजनाको मुख्य चिनियाँ ठेकेदार कम्पनी ‘नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ लाई माटो, ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य निर्माण सामग्री उपलब्ध गराउने जिम्मा ‘स्वसाम कन्स्ट्रक्सन प्रालि’ ले लिएको थियो । उपमहानगरपालिका ११ तिनाउ खोला किनारबाट निकाल्ने कार्यादेश पाएको कन्स्ट्रक्सनले १७ हजार २ सय २८ घनमिटरका लागि प्रतिफुट ६ रुपैयाँ र भ्याटसमेत गरी ३७ लाख रुपैयाँ नगरपालिकाको राजस्व शाखामा जम्मा गरिसकेको छ ।


प्रदेश सरकारले नदीजन्य निर्माण सामग्री खोला नदीबाट उत्खनन गर्दा प्रतिफुट ६ रुपैयाँ र १३ प्रतिशत भ्याट लाग्ने कानुन बनाएको छ । ‘सम्झौताअनुरूप निर्माण सामग्री निकाल्न तोकिएको स्थलमा पुग्दा उपमहानगरपालिकाले रोक लगायो,’ स्वसाम कन्स्ट्रक्सन प्रालिका सञ्चालक सुनिल रायमाझीले भने, ‘चिनियाँ ठेकेदारले नदीजन्य निर्माण सामग्री चाहियो भनेर बारम्बार ताकेता गरिरहेको छ ।’ नगरपालिकाले सम्झौताविपरीत प्रतिफुट १५ रुपैयाँका दरले रकम माग गरेको उनले बताए ।


नगरपालिकाले मागेअनुरूपको थप रकम उपलब्ध गराउन चिनियाँ ठेकेदार कम्पनीको मुख्यालयबाटै स्वीकृत गराउनुपर्ने हुन्छ । जसका लागि उसको निर्णय आउन कम्तीमा डेढ/दुई महिनाको समय लाग्छ । जेठ मसान्तदेखि खोला नदीबाट निर्माण सामग्री निकाल्न मिल्दैन । आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनास्थलमा रहेको नदीजन्य निर्माण सामग्री यथावत् रूपमा उपलब्ध हुन नसके काम रोकिने बताए ।


‘सामग्री अभाव नहोस् भनेर नगरपालिकालाई पत्राचार गरेका छौं,’ उनले भने, ‘असारअघि नै आवश्यक परिमाणको सामग्री निकाल्न नसके तोकिएको समयमा आयोजना सम्पन्न हुन सक्दैन ।’ उनका अनुसार आयोजनाको मुख्य संरचना धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनको काम तीव्र गतिमा भइरहेको छ ।


धावनमार्गको चारैतिर निर्माण गरिने पेरिमिटर सडक, कार पार्किङ क्षेत्र, टर्मिनल भवनअगाडिको क्षेत्र, निर्माणाधीन भवनको प्लास्टरलगायत काम बाँकी छन् । सम्झौताअनुसार आयोजना आउँदो असार १३ गते सम्पन्न गर्नुपर्नेछ ।

प्रकाशित : वैशाख १४, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?