कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्राधिकरणका आयोजनाबाट लक्ष्यभन्दा कम उत्पादन

भारतले पानी नियन्त्रण गर्दा नवलपरासीस्थित १५ मेगावाटको गण्डक आयोजनाबाट २८ प्रतिशत कम ऊर्जा उत्पादन
विजय तिमल्सिना

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेका १४ विद्युत् आयोजनाले गत वर्ष लक्ष्यभन्दा कम विद्युत् उत्पादन गरेका छन् । प्राधिकरणले तय गरेको ऊर्जा उत्पादनको लक्ष्यभन्दा यी आयोजनाबाट ८ प्रतिशत कम विद्युत् उत्पादन भएको हो ।

प्राधिकरणका आयोजनाबाट लक्ष्यभन्दा कम उत्पादन

गत वर्ष प्राधिकरणका आयोजनाबाट लक्ष्यभन्दा १ लाख १५ हजार ५ सय २३ मेगावाट आवर ऊर्जा कम उत्पादन भएको छ । प्राधिरकणले गत वर्ष यी १४ वटा आयोजनाबाट १४ लाख ८३ हजार ८ सय मेगावाट आवरभन्दा बढी ऊर्जा उत्पादनको लक्ष्य राखेको थियो । लक्ष्यमध्ये १३ लाख ६८ हजार ३ सय ५५ मेगावाट आवर ऊर्जा उत्पादन कम भएको छ ।


प्राधिकरणको स्वामित्वमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, ६० मेगावाटको कुलेखानी, २४ मेगावाटको त्रिशूली, १५ मेगावाटको गण्डकजस्ता आयोजनाबाट विद्युत् उत्पादन कम भएको हो ।


गत आर्थिक वर्ष कुलेखानी पहिलो र दोस्रोबाट लक्ष्यभन्दा क्रमशः ३७ र ३१ प्रतिशत कम विद्युत् उत्पादन भएको थियो । कुलेखानी प्रथम र कुलेखानी दोस्रो क्रमशः ९० र ६० मेगावाट क्षमताका आयोजना हुन् । यी आयोजनाबाट गत वर्ष क्रमशः करिब ९८ हजार मेगावाट आवर र ४६ हजार मेगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरिएको थियो ।


भार प्रेषण केन्द्रको निर्देशनमा आवश्यकताअनुसार सञ्चालन हुने भएकाले कुलेखानीबाट लक्ष्यअनुसार विद्युत् उत्पादन नभएको प्राधिकरणले जनाएको छ । त्रिशूली जलविद्युत् आयोजनाबाट अनुमानभन्दा १० प्रतिशत कम विद्युत् उत्पादन भएको छ ।


यो आयोजना ५ दशकअघि सञ्चालनमा आएको आयोजनाको मेसिन पुरानो भएको र हेडवक्र्समा लिकेजको समस्या देखिएकाले लक्ष्यअनुसार विद्युत् उत्पादन गर्न नसकेको प्राधिकरणले जनाएको छ । गत पुसमा आयोजनामा आगलागी हुँदा केही समय उत्पादन बन्द भएको थियो ।


त्रिशूलीकै क्यासकेट देवीघाट जलविद्युत् आयोजनाबाट पनि गत वर्ष लक्ष्यभन्दा १५ प्रतिशत कम विद्युत् उत्पादन भएको छ । देवीघाट आयोजनाबाट गत वर्ष १ लाख १ हजार मेगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यमध्ये ८६ हजार मेगावाट आवर मात्रै उत्पादन भएको प्राधिकरणको तथ्यांक छ । त्रिशूली जलविद्युत् केन्द्र बन्द हुँदा देवीघाटको उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ ।


नवलपरासीस्थित १५ मेगावाटको गण्डक आयोजनाबाट गत वर्ष लक्ष्यभन्दा २८ प्रतिशत कम विद्युत् उत्पादन भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले गण्डक आयोजनाबाट २४ हजार २ सय मेगावाट आवर ऊर्जा उत्पादन गर्ने लक्ष्य राखे पनि ६ हजार ७ सय मेगावाट आवर कम उत्पादन भएको थियो ।


गण्डक जलविद्युत् केन्द्रका लागि आवश्यक पानीको बहाव भारतको नियन्त्रणमा रहेकाले प्राधिकरणले चाहेअनुसार उत्पादन गर्न नसक्ने प्राधिकरणको भनाइ छ ।


चतरा र पनौतीजस्ता साना विद्युत् आयोजनाबाट पनि लक्ष्यभन्दा कम विद्युत् उत्पादन भएको छ । चतरा विद्युत् आयोजनाको सुदृढीकरणको काम भइरहेको र पनौतीबाट उत्पादित पानी स्थानीयको सिँचाइमा निर्भर रहने प्राधिकरणले जनाएको छ । पनौती २ दशमलव ४ मेगावाट क्षमताको आयोजना हो ।

प्रकाशित : वैशाख २६, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?