कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्ययनमै अड्कियो पुल निर्माण

विमल खतिवडा

काठमाडौँ — चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा पुल निर्माणको काम अझै सुरु हुन सकेको छैन । पुल निर्माण गर्ने ठाउँको अध्ययन गर्ने भनिए पनि विस्तृत अध्ययन हुन नसक्दा निर्माणले गति लिन नसकेको हो । उक्त खण्डमा १८ वटा पक्की पुल छन् ।

अध्ययनमै अड्कियो पुल निर्माण

जसमध्ये ४ वटाको मात्र निर्माण भइरहेको छ । १४ पुलको अहिलेसम्म ठेक्का लाग्न सकेको छैन । सबैभन्दा बढी समस्या मुग्लिन खण्डमा देखिएको छ । पुल निर्माण गर्ने ठाउँको भौगोलिक बनावट जटिल भएकाले निर्माणमा ढिलाइ भएको पुल महाशाखाले जनाएको छ ।


महाशाखाले ती क्षेत्रमा पुगेर पटकपटक सर्भे गरे पनि कसरी निर्माण गर्न सकिन्छ भन्नेमा निक्र्योल गर्न सकेको छैन । सबैभन्दा बढी समस्या मुग्लिन खण्डमा देखिएको छ । खहरे, चिसेन्जी र तुइन खोलाका पुल भीरमा भएकाले सर्भे गर्न समस्या भएको हो । महाशाखाले नसकेपछि चिनियाँ विज्ञ टोली गुहारेको महिनौं बितिसक्यो । विज्ञ टोली आउने अहिलेसम्म निश्चित छैन । पुल महाशाखाका प्रमुख दीपक भट्टराईका अनुसार उक्त स्थानमा पहाड काटेर पुल बनाउन निकै समस्या छ ।


'महाशाखाले १४ वटा पुल बनाउनु छ, त्यसमा चारवटा पुल बनाउन निकै जोखिम छ,' उनले भने, 'निर्माण सुरु गर्ने बित्तिकै पहिरो खस्ने खतरा बढी छ, ती क्षेत्रको अध्ययन अझै पुगेन भन्ने लागेको छ ।' जोखिम क्षेत्रमा विस्तृत रूपमा अध्ययन गर्न जरुरी रहेको उनले बताए । 'चिनियाँ विज्ञ टोली कुरिरहेका छौं,' उनले भने, 'प्राविधिकसहित गएर निकैपटक उक्त क्षेत्रको अध्ययन गरिसकेका छौं, अब विदेशी टोली आएपछि मात्र निर्माणको टुंगो लाग्नेछ ।' सबै पुलको ठेक्का एकैचोटि लगाएर निर्माण सक्ने योजना पुल महाशाखाको छ ।


'ठयाक्कै कहिले ठेक्का हुन्छ भन्ने यकिन छैन,' उनले भने, 'राम्रोसँग अध्ययन गरेर मात्र निर्माणको काम अगाडि बढाऔं भन्ने हो, निर्माण सुरु गर्दा बाटो बन्द भयो भने समस्या हुन्छ ।' मुख्य समस्या चारवटा पुलमा भए पनि अरूमा नभएको भट्टराईले बताए ।

'१० वटा पुलमा समस्या छैन, ती पुल ठेक्का लगाउन सक्ने अवस्थामै छौं,' उनले भने । यसमा वल्र्ड बैंकको फन्ड हुने भएकाले बैंकको सहमति लिनुपर्ने उनले बताए ।


सुरुमै सडक बनाउँदा पुल बनाउनुपर्ने हो । फन्डको समस्या भएर छुटेको उनले बताए । 'काम सुरु भएपछि सवारी साधन प्रभावित हुन्छन्,' उनले भने, 'त्यही भएर सबै पुलको एकैचोटि काम सुरु गर्ने र समस्यालाई धेरै नलम्ब्याउने पक्षमा हामी छौं ।' उनका अनुसार कन्ट्रयाक्टरले नै डिजाइन गर्ने गरी काम हुनेछ । पटकपटक पुल निर्माण सुरु गर्ने भनिए पनि विज्ञ नआएकै कारण अहिलेसम्म रोकिएको छ ।


नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको एक वर्ष भयो । काठमाडौं उपत्यकामा उपभोग्य वस्तु यही सडक भएर भित्रने गर्छ । सडक 'लाइफ लाइन' का रूपमा परिचित छ । पुल निर्माणको काम अझै सुरु हुन नसक्दा साँघुरा पुलले सडक जाम हुने गरेको छ । यो सडकमा दैनिक सवारी चाप हुन्छ । जलवीरे, मौरी, खानी र दासढुंगामा भने पुल निर्माण धमाधम भइरहेको छ ।


नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार अहिलेसम्म निर्माण प्रगति सन्तोष जनक छ । 'निर्माण सुरु भएका चारवटा पुलको काम तीव्र रूपमा भइरहेको छ,' उनले भने ।


यो सडक भएर दैनिक करिब १० हजार सवारी साधन ओहोरदोहोर गर्छन् । पुल जीर्ण छन् । ठूला मालबाहाक सवारी साधन साँघुरा पुलले गर्दा जाममा पर्ने गर्छन् । दुईतर्फी रूपमा सञ्चालन गर्नसमेत समस्या भएको छ । पुराना पुलका रेलिङसमेत भाँचिएका छन् ।

प्रकाशित : वैशाख २९, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?