कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माछाको पकेट क्षेत्र विस्तार 

विनोद भण्डारी

विराटनगर — मोरङलाई माछामा आत्मनिर्भर बनाउन सरकारले यहाँका किसानलाई करिब ४ करोड रुपैयाँ अनुदान दिएको छ । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत दिइएको उक्त अनुदानबाट जिल्लामा थप १२४ हेक्टर क्षेत्रफलमा माछापालन हुनेछ ।

परियोजनाले मोरङको कटहरी र धनपालथान गाउँपालिका तथा रंगेली नगरपालिकालाई माछा पकेट क्षेत्र घोषणा गरी पोखरी खन्न किसानलाई ३ करोड ७२ लाख रुपैयाँ दिइसकेको छ । यो अनुदानले मोरङमा थप १२४ हेक्टर क्षेत्रफलमा पोखरी खनेर माछापालन विस्तार गरिएको परियोजना प्रमुख नुनुलाल उरावले बताए ।


परियोजनाले प्रतिहेक्टरमा पोखरी खन्दा किसानलाई ३ लाख रुपैयाँ अनुदान दिएको छ । गत वर्षसम्ममा परियोजनाअन्तर्गत ५४ हेक्टर क्षेत्रफलमा नयाँ पोखरी खनेर माछापालन सुरु गरिएको छ । उरावले यस वर्ष थप ७० हेक्टर जमिनमा नयाँ पोखरी खनेर माछापालन व्यवसाय सुरु गर्ने तयारी गरिएको जानकारी दिए ।


परियोजनाअन्तर्गत जिल्लामा थप ११० जना माछापालक किसान समेटिएका छन् । उरावका अनुसार थप १ सय ४५ जना किसानलाई पुरानो पोखरी मर्मतका लागि जनही १५ हजार रुपैयाँ अनुदान दिइएको छ ।


मोरङमा माछा पाल्ने कृषकको संख्या ३ हजार ५ सय नाघेको भए पनि पूर्ण व्यावसायिक रूपमा माछापालन गर्ने करिब ५ सय छन् । पशुविज्ञ केन्द्रका अनुसार जिल्लामा करिब ३ हजार ५ सय माछा पोखरी छन् । केन्द्रको तथ्यांकअनुसार ती पोखरीबाट गत वर्ष ३२ लाख १२ हजार २ सय २८ किलो माछा उत्पादन भएको थियो । जिल्लाको यो उत्प्ाादन बजार मागको २० प्रतिशत पनि नभएको सम्बद्ध व्यवसायीको भनाइ छ ।


भारतीय माछा छ्याप्छ्याप्ती

विराटनगरको गुदरी बजारमा मात्र दैनिक सरदर ५ टनसम्म माछाको खरिद बिक्री हुन्छ । त्यसमध्ये झन्डै ४ टन भारतीय माछाको खपत छ । माछाका थोक व्यापारी मालबाबु सहनीले भने, 'स्थानीय उत्पादन नगन्य मात्रामा बजारमा उपलब्ध हुन्छ ।' सरकारले आयातमा रोक लगाए पनि भारतीय माछा भित्रिन नछाडेको सहनीको भनाइ छ । थोक मूल्यमा प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ ।


आयातमा रोक नलाग्दा भारतीय माछा थोक कारोबारमा प्रतिकिलो २५० सम्ममा पाइन्थ्यो । अहिले प्रतिकिलो २९० देखि ३ सयसम्म पुगेको छ । थोक मूल्यमा सामान्य वृद्धि भएको उल्लेख गर्दै सहनीले भने खुद्रा व्यापारमा कारोबारीले मूल्य निकै बढाएको गुनासो आएको छ ।


भारतीय माछा नभित्रिने हो भने स्थानीय माछाको मूल्य प्रतिकिलो हजार रुपैयाँभन्दा पनि बढी पर्ने अवस्था छ । 'भारतीय माछाले नै बजार धानेको छ । चोरी पैठारीबाट भए पनि भारतीय माछा आयात भइरहेकाले बजारमा अभाव छैन,' सहनीले भने, 'आयात नहुने हो भने स्थानीय उत्पादन प्रतिकिलो हजार रुपैयाँमा पनि पाइँदैन ।'


खुला बजारमा साताअिघ प्रतिकिलो ३५० रुपैयाँमा पाइने माछा अहिले ७ सयसम्म पुगेको छ । 'सरकारले भारतीय माछा आयातमा रोक लगाए पनि बजारमा सर्वत्र पाइन्छ । त्यही माछा साताअघि प्रतिकिलो ३५० रुपैयाँसम्ममा पाइन्थ्यो,' होटल व्यवसायी भूषण श्रेष्ठले भने, 'अहिले त्यही माछालाई किलोको ७ सय रुपैयाँ पर्छ ।' उनले आयातमा रोक लगाएको नाममा व्यापारीले शतप्रतिशत मूल्य बढाएर उपभोक्ता ठग्दासमेत सम्बन्धित निकायले बजार अनुगमन नगर्दा उपभोक्ता मारमा परेको गुनासो गरे ।

प्रकाशित : वैशाख २९, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?