कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३० महिनामै टिमुरेमा बन्दरगाह

नेपाल र चीनबीच हुने द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्नका लागि टिमुरेमा सुक्खा बन्दरगाह निर्माण हुन लागेको छ
बलराम घिमिरे

रसुवा — टिमुरेमा सुक्खा बन्दरगाह निर्माणका लागि आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति र चिनियाँ निर्माण कम्पनी प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

इन्टरमोडलका सिभिल इन्जिनियर प्रमोद आचार्यले सम्झौतामा हस्ताक्षर भएको र अबको एक महिनाभित्र निर्माणको काम सुरु हुने जानकारी दिए । बन्दरगाह निर्माण गर्न चीन सरकारका तर्फबाट टिबेट फुली कन्स्ट्रक्सन ग्रुप कम्पनी छनोट भएको छ । सरकारका तर्फबाट इन्टरमोडलका उपनिर्देशक हरेकृष्ण मिश्र र निर्माण कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर याङ इनलिनले सम्झौतापत्रमा हस्ताक्षर गरे । द आर्किटेक्चरल रिकोनाइसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीले टिमुरेमा निर्माण हुने सुक्खा बन्दरगाहको लागत इस्टिमेटसहितको फाइनल डिजाइन तयार पारेको हो ।


लगत इस्टिमेटसहितको फाइनल डिजाइन तयार गर्नका लागि चीनको छेन्दुमा नेपाल सरकार र चीन सरकारबीच सन् २०१८ जनवरी १५ मा डिजाइनपत्र स्वीकृत गरी हस्ताक्षर भएको थियो । चीन सरकारको सहयोगमा निर्माण हुन लागेको यो सुक्खा बन्दरगाह उत्तरी नाकामा दोस्रो हो ।


नेपाल र चीनबीच हुने द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्नका लागि रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण हुन लागेको हो । टिमुरेमा बन्ने सुक्खा बन्दरगाह आधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको हुनेछ । सुक्खा बन्दरगाह रसुवागढी नाकाबाट साढे दुई किलोमिटर वर टिमुरेमा निर्माण हुनेछ । बन्दरगाह निर्माणमा चीन सरकारको आर्थिक र प्राविधिक सहयोग हुनेछ । सुक्खा बन्दरगाह निर्माणको लागत करिब १२ करोड ४० लाख चिनियाँ युआन रहेको छ । निर्माण कार्य ३० महिनाभित्र सम्पन्न गर्ने चिनियाँ निर्माण कम्पनीले जनाएको छ ।


सम्झौताअनुसार चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । चीन सरकारले सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति जनाएको थियो । बन्दरगाह ८.५ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ । संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट ५ र सर्वसाधाणको ३.५ हेक्टर जमिन अधिग्रहण गर्ने काम भइसकेको छ ।


उक्त बन्दरगाहमा ५ हजार स्क्वायर वर्गमिटरको सुविधासम्पन्न ५ तले जाँचपास भवन निर्माण हुनेछ । भवनमा भन्सारका लागि अफिस र क्वाटरसहितको दुवै सुविधा हुनेछ । त्यसमा प्रशासनिक कार्यकक्ष, क्वारेन्टाइन, बैंक, ल्याब, सुरक्षालगायतका कार्यालयहरू रहनेछन् । बन्दरगाहमा ३ सय ५० भन्दा बढी ट्रक तथा कन्टेनर राख्न सकिने पार्किङस्थल निर्माण हुने आचार्यले बताए ।


‘२ वटा जाँचपास कक्ष, कार्गो गोदाम, लिटिगेसन गोदामसहितको आधुनिक सुविधासम्पन्न सुक्खा बन्दरगाह निर्माण हुनेछ,’ उनले भने । रसुवागढी नाका हुँदै चीनबाट आयात हुने वस्तु यसै बन्दरगाह मार्फत नेपाल भित्रिनेछ । चीनले पनि आफ्नो भूभाग रसुवागढी नाकाबाट करिब ३० किलोमिटर टाढा केरुङमाथि पाङसिङमा आधुनिक बन्दरगाह निर्माण गर्ने बताएको छ । चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी करिब ४ सय ५० किमि छ ।


चीनले सन् २०२३ सम्म केरुङलाई रेल सञ्जालबाट जोड्ने लक्ष्य राखेको छ । पछिल्लो समय चीनसँग स्थलमार्गबाट यही नाका हुँदै व्यापार भइरहेको छ । चीनसँगको प्रमुख व्यापारीक नाका भएकाले यसको व्यावसायिक महत्त्व बढदै गएको छ । रेलबाट ल्याएको सामानलाई सीधै ट्रकमा लोड गरी सुक्खा बन्दरगाहमा ल्याएर आवश्यक प्रक्रिया पूरा गर्न सजिलो हुनेछ ।

प्रकाशित : वैशाख ३१, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?