कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीमा पुल निर्माण तीव्र

ज्योति कटुवाल

दैलेख — कर्णाली राजमार्गमा रहेका विभिन्न खोलामा लामो समयपछि २५ पुल निर्माणको कामलाई तीव्रता दिइएको छ । विश्व बैंकको सहयोगमा सडक विभागले पुल निर्माणको कामलाई तीव्रता दिएको हो । 

कर्णाली राजमार्गमा कुवाखोला, कालेखोला, पालतडा, कानेखोला, दहीखोला, पातलेखोला, मट्टेखोला, रतिखोला, छेडाखोला, लोहाखोलालगायत पुलको काम धमाधम भइरहेको छ । कतिपय खोलाका पुल सम्पन्न भई उद्घाटनको तयारीमा छन् ।


सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर देवेन्द्र भट्टराईका अनुसार भौगोलिक कठिनाइका कारण केही पुल निर्माणमा ढिला भएको हो । उनका अनुसार तीन चरणमा विभाजन गरेर पुल निर्माणको काम भइरहेको हो । ‘भौगोलिक विकटता, सामान ढुवानीमा समस्यालगायत कारणले पुल निर्माणमा ढिलाइ भएको हो,’ उनले भने, ‘दैलेख-सुर्खेतको सिमानासम्म बन्न लागेका पुलमा जेठभित्रै सवारी साधन गुड्नेछन् । उनका अनुसार जुम्ला-कालीकोट सडकखण्डअन्तर्गत सात पुल निर्र्माणाधीन अवस्थामा छन् ।


पुल निर्माणको जिम्मा लिएका अधिकांश ठेकेदार लामो समयदेखि सम्पर्कविहीन भएपछि लामो समयसम्म पुल निर्माणको काम रोकिएको थियो । सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार दैलेख-सुर्खेत-जुम्ला सडकमा एक सय ३२ किलोमिटर पुल बनाउन थालिएको हो । एमएस/जयबुद्ध/नेपाल मेघा बुल्डर जेभीले बोटखोला पुलको काम ९० प्रतिशत सम्पन्न गरेको छ । दुई करोड ६८ लाख रुपैयाँमा सम्झौता गरिएको कम्पनीले जेठसम्म निर्माणको काम सक्नेगरी काम भइरहेको जनाएको छ ।


त्यस्तै कुमाले खोला पुलको काम पनि ९० प्रतिशत सम्पन्न भएको छ । दुई करोड २८ लाखको लगानीमा निर्माण हुन लागेको पुल ५० को काम अन्तिम चरणमा रहेको एमएस रोशन श्याम/शंकर जेभीले जनाएको छ । दुवै पुलका लागि २०७४ सालमा सम्झौता गरिए पनि दोस्रो पटक म्याद थपेर निर्माण पूरा गर्न लागिएको हो ।

प्रकाशित : जेष्ठ २, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?