कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौतम बुद्ध विमानस्थलको धावन मार्ग तयार

माधव ढुंगाना

भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थलको धावन मार्ग (रनवे) निर्माण पूरा भएको छ । तीन किलोमिटर लामो धावनमार्गमा चार तहको कालोपत्रे मंगलबार साँझ सकिएको हो । धावनमार्ग ६० मिटर चौडा छ । धावनमार्ग निर्माणसँगै आयोजनाको भौतिक प्रगति ७३ प्रतिशत पुगेको छ । 

‘धावन मार्ग र टर्मिनल भवन प्रत्येक विमानस्थलका मुटु हुन्,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘धावनमार्ग निर्माण पूरा भएको छ । अब द्रुत गतिमा टर्मिनल भवनको काम हुनेछ ।’


धावनमार्गमा साढे तीन सय मिटर भिजिबिलिटीमा पनि विमान अवतरण गर्न मिल्ने उपकरण रहेको उनले बताए । विमानस्थलको ०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए । यस अवधिमा मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प, मुख्य ठेकेदार र सहठेकेदारबीचको द्वन्द्वलगायतले आयोजना निर्धारित मितिमा पूरा हुन सकेन ।


०७४ मा मुख्य ठेकेदार कम्पनीले व्यवस्थापन जिम्मेवारीमा परिवर्तन गरेर अर्को व्यक्ति खटाएपछि गति लिएको थियो । आयोजनाका अनुसार धावनमार्गमा कालोपत्रे (पिच) को काम गत कात्तिकदेखि सुरु भएको थियो । ठेकेदारले इन्धनका लागि आवश्यक खर्च जुटाउन नसक्दा दुई साताअघि काम अवरुद्ध भएको थियो ।


ठेकेदारले पाउनुपर्ने भुक्तानीमध्येको १० करोड रुपैयाँ उपलब्ध हुनासाथ काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाले गिट्टी–बालुवाको दर बढाएपछि आपूर्ति रोकिएको थियो । चौतर्फी दबाबपछि उपमहानगरपालिकाले पुरानै दरमा गिट्टी–बालुवा उपलब्ध गराउने निर्णय गरेको थियो ।


सबै पक्षको सहयोगले यही अनुपातमा काम अघि बढेमा आउँदो जनवरीको पहिलो साताभित्रमा यस विमानस्थललाई सञ्चालनमा ल्याउने लक्ष्य प्राधिकरणले राखेको गौतमले बताए । ‘विमानस्थल निर्माणका क्रममा धेरै समस्यासँग जुध्नुपर्‍यो,’ उनले भने, ‘अब त्यस्ता समस्या र व्यवधान नआए आउँदो जनवरी पहिलो साताभित्रमा विमानस्थल सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ ।’ उनका अनुसार भौतिक पूर्वाधारसँगै उपकरण जडानका कार्य पनि आउँदो नोभेम्बरसम्ममा पूरा गर्ने लक्ष्य छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तुलनामा थप आधुनिक विमानस्थल बनाउने गरी उपकरणको प्रयोग गरिएको छ ।


आयोजनाअन्तर्गत ट्याक्सी वेको अन्तिम चरणको कार्य जारी छ । विमान पार्किङ ढलानको काम सम्पन्न भएको छ । टर्मिनल भवनमा ट्रस्टको छानो हाल्ने काम भइरहेको छ । टर्मिनल भवनको फिनिसिङका काम भइरहेका छन् । आठतले कन्ट्रोल टावरको अन्तिम तलाको काम जारी छ । पेरिमिटरमा तारबार लगाउने र नालाका काम भइरहेका छन् । एप्रोनको निर्माण कार्य सम्पन्न भइसकेको छ । धावनमार्ग पिच भएपछि त्यहाँ लाइनिङको काम हुनेछ ।


आयोजना प्रमुख प्रवेश अधिकारीले अबको निर्माण कार्य टर्मिनल भवन र अन्य साना संरचनामा केन्द्रित रहने जनाए । उनका अनुसार आयोजनाका लागि सुरुमा गरिएको सम्झौता रकम ६ अर्ब २२ करोड रुपैयाँमध्ये हालसम्म करिब ४८ प्रतिशत रकम पुगेको छ । सुरुको सम्झौता रकममा आधुनिक प्रविधि उपकरण जडानका लागि ४० करोड रुपैयाँ लागत थपिएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?