काठमाडौं–सौराहा पदमार्गको खोजी

काठमाडौंको चन्द्रागिरीबाट चितवनको सौराहासम्म पुग्न सकिने
विमल खतिवडा

धादिङ — उपत्यकाबाट नजिक पर्ने गरी नयाँ पदमार्गको खोजी सुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै नयाँ रुट पहिल्याउन लागिएको हो । मंगलबारबाट यसको रुट पहिचानका लागि स्थलगत अध्ययन तथा अनुसन्धान थालिएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजना र धादिङको बेनीघाट रोराङ गाउँपालिकाको सहआयोजनामा विज्ञ टोली खटाएर रुट पहिल्याउन सुरु गरिएको छ । ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान) ले प्रवर्द्धन गरेको टिममा पर्यटन बोर्ड, टान र सञ्चारकर्मीको सहभागिता रहेको छ ।

उक्त टिमले ५ दिनसम्म खटेर रुट पहिल्याउनेछ । धादिङको धुनीबेंसी नगरपालिका ७ बाट सुरु भई जोगिमाराको हुग्दीमा पुगेर यात्रा टुंगिनेछ । रुटमा मकवानपुरको सलामपुर, धादिङ र चितवनको सिमाना कान्द्राङगढीलगायत क्षेत्र पर्नेछन् । यो क्षेत्रमा तामाङ र चेपाङ समुदायको बाक्लो बसोबास छ । गुफा, पहाडले पर्यटकलाई लोभ्याउनेछ ।

पदमार्ग पहिल्याउन जानेहरूलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक पुष्पराज कँडेलले बिदाइ गरेका थिए । ‘पर्यटन महत्त्वपूर्ण क्षेत्र हो,’ उनले भने, ‘कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रको योगदान साढे २ प्रतिशत रहेको छ ।’ काठमाडौंको प्रदूषित वातावरणबाट २/४ दिन यो ठाउँमा आएर रमाउन सकिने उनले बताए । ‘कहाँकहाँ बस्ती बसाउन सकिन्छ, होमस्टे कहाँ बनाउन सकिन्छ, के के संरचना निर्माण गरेर आन्ततिरक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ,’ उनले भने, ‘यसतर्फ ध्यान जान जरुरी छ ।’

अहिले चेपाङ महाभारत ट्रेकिङ ट्रायल नाम राखेर यात्रा सुरु गरिएको हो । अध्ययन र अनुसन्धानपश्चात् यसबारे छलफल गरी रुटको नाम तय गरिनेछ । रुट पहिचान गरेपछि काठमाडौंको धुवाँधुलोबाट आजित हुनेकाहरूका लागि राम्रो गन्तव्य बन्नेछ । यो रुट हुँदै चितवनको सौराहासम्म पुग्न सकिनेछ । त्यति मात्र होइन । यही रुटमा पदमार्गपश्चात् त्रिभुवन राजमार्ग हुँदै मुलुकका नाम चलेका पर्यटकीय गन्तव्यहरूसम्म जान सकिनेछ ।

राजमार्गमा निस्किएपछि पोखरा, लुम्बिनी वा सौराहा, जहाँ इच्छा लाग्छ, त्यतैको यात्रा तय गर्न सकिनेछ । एक दिनदेखि ११ दिनसम्म पद यात्रा गर्न मिल्नेछ । ‘अहिले बाटाको अध्ययन हुनेछ,’ टानका प्रथम उपाध्यक्ष जीवन थापामगरले भने, ‘रुट पहिचान गरी सञ्चालनमा आएपछि स्थानीयको जीवनस्तरमा समेत परिवर्तन आउनेछ ।’

रुट सञ्चालनमा आएपछि स्थानीयस्तरमा उत्पादन भएका खाद्यान्न गाउँघरमै खपत हुनेछ । पर्यटकले स्वच्छ वातावरणमा अर्गानिक खानाको स्वाद लिन पाउनेछन् । रुट सञ्चालनमा आए स्थानीय होमस्टे सञ्चालन गर्ने तयारीमा छन् । पद यात्रा काठमाडौंको चन्द्रागिरिबाट नै सुरु गर्न सकिनेछ ।

सांसद भूमि त्रिपाठीले महाभारत समृद्धिका लागि ट्रेकिङ रुट खोल्न आवश्यक रहेको बताए । ‘यो रुट राम्रो छ, पद यात्रा गर्नेहरू हिँडेरै सौराहा पुग्न सक्छन्,’ उनले भने, ‘त्यसैले गाँजाको जोन भएकाले गाँजा ट्रेक हिल राख्दा राम्रो हुन्छ ।’ जुन ठाउँ जेले चर्चित छ, त्यही नाम राख्दा फरक नपर्ने उनले बताए । रुटको अध्ययन थालेसँगै स्थानीय दंग छन् ।

‘महाभारतको लेकलाई रुट बनाउन आवश्यक छ,’ धुनीबेंसी नगरपालिकाका मेयर बालकृष्ण आचार्याले भने, ‘जुन रुट काठमाडौंको धुलोधुवाँले उकुसमुकुस भएकाहरूका लागि उपयुक्त हुनेछ ।’ उनका अनुसार तोप्लाङको डाँडाबाट हिमशृंखला देखिने भएकाले भ्यु टावर आवश्यक छ । ‘भ्यु टावर बनाउन सकिए ८ वटा ठूला हिमाल हेर्न पाइन्थ्यो,’ उनले भने, ‘पद यात्रामा निस्कनेहरूले पहिलो दिन हिमाल हेर्न पाउँथे, त्यसपछि खुसी हुँदै यात्रा गर्थे ।’ टोली फर्किएर आएपछि रुटका सम्बन्धमा छलफल गरी निष्कर्ष निकालिने पर्यटन बोर्डले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सहकारीबाट जथाभावी ऋण

हुँदै नभएको जग्गा धितोमा करोडभन्दा बढी कर्जा प्रवाह 
दीपक परियार

लेखनाथ — पोखराको कुँडहर बचत तथा ऋण सहकारीबाट १ करोड १० लाख रुपैयाँ ऋण लिएर तनहुँका विद्यासागर पौडेल फरार भए । ऋणको किस्ता बुझाउन नआएपछि धितो राखिएको जग्गा मालपोतमा रोक्का गर्न सहकारीका कर्मचारी पुगे ।

त्यतिबेला विद्यासागरले धितो राखेको जग्गा नै नरहेको पत्ता लाग्यो । उनले नक्कली लालपुर्जा बनाएर धितो राखी ऋण लिएको खुल्यो । उनको जालझेलमा सहकारी सजिलै फसेको तथ्य बाहिर आयो ।

तनहुँ म्याग्दे गाउँपालिका जामुने स्थायी घर भएका पौडेल पोखरा १० चाउथेमा बस्दै आएका थिए । गत वर्षको असोजमा पोखरा ३३ भरतपोखरीको कित्ता नम्बर ४७५ को ४ रोपनी ८ आना जग्गा देखाएर सहकारीसँग कर्जा माग गरे । न्यु स्टार इन्जिनियरिङ कन्सल्टेन्सीले जग्गाको मूल्यांकन गर्‍यो । कन्सल्टेन्सीका इन्जिनियर आनन्द सापकोटा, सहकारीका अध्यक्ष ओमबहादुर केसी, कर्जा उपसमितिका प्रतिनिधि स्वयं धितो राखिएको जग्गा हेर्न पुगे । सञ्चालक समितिले ७० लाख रुपैयाँ कर्जा स्वीकृत गर्ने निर्णय गर्‍यो ।

गत पुसमा उनले पोखरा ३१ को आफ्नो नामको जग्गा धितोमा राखेर भाइ विशाल पौडेलको नाममा सहकारीबाटै ऋण झिके । कित्ता नम्बर ४३९ को एक रोपनी जग्गा धितोमा राखेर ४० लाख रुपैयाँ भाइको नाममा ऋण लिए । सहकारीका प्रबन्धक वृहस्पति अधिकारीका अनुसार पौडेलले केही समय किस्ता र ब्याजबापतको रकम बुझाए ।

अन्य सहकारीमा पनि त्यही जग्गा धितो प्रस्ताव गर्दै कर्जा माग गर्न गए । वैशाखमा किस्ता बुझाउन पनि आएनन् । कुँडहर सहकारीले उक्त कुरा चाल पाएपछि जग्गाको आधिकारिकता बुझ्न मालपोत कार्यालय पुग्यो ।

मालपोतले पहिलो जग्गा फिल्डमै नभएको र दोस्रो जग्गा पनि पौडेलको नाममा नरहेको पुष्टि गर्‍यो । प्रबन्धकअधिकारीले नक्कली लालपुर्जा धितोमा रहेको थाहा पाउने बित्तिकै प्रहरीमा खबर गरेको बताए । सहकारीले विद्यासागर, उनका भाइ विशाल र अन्य तीनजनाविरुद्ध वैशाख २० मा किटानी जाहेरी दियो ।

प्रहरीले विशाललाई पक्रिएर हिरासतमा राखे पनि दाजु विद्यासागर फरार छन् । कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले दस्तखत र कागजात किर्ते गरेर ठगी गरेको आरोपमा पाँचजनाका नाममा किटानी जाहेरी दर्ता भएको बताए । आवश्यक कागजात संकलन भइरहेकाले अनुसन्धानमै रहेको उल्लेख गरे । किर्ते कागज बनाउने योजना विद्यासागरको भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी यसअघि पनि यस्तै प्रकृतिको घटनामा संलग्न रहेको पाइएको छ । यसअघि ३४ लाख ९९ हजार रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।

सहकारीमा प्रबन्धक वृृहस्पति अधिकारी नियतबस नभई अञ्जानमा गल्ती भएको दाबी गर्छन् । मालपोत कार्यालयमा धितो रोक्का गर्न अनुभवी प्रतिनिधि तीर्थराज घिमिरे भए पनि दुवैपल्ट संयोगबस अर्का प्रतिनिधि सुरज श्रेष्ठ गएको उनले बताए ।

‘मालपोतमा धितो रोक्का गर्न संस्थाका तर्फबाट खटिएका कर्मचारीबाट त्रुटि भएकै हो,’ उनी भन्छन्, ‘कार्यालय प्रमुखकोमा अन्तिम दस्तखत, मोठ भिडाउँदा, कम्प्युटरमा रोक्का गर्दा प्रतिनिधि पुग्नुपर्ने हो । उहाँ भने बाहिरै बस्नुभएछ ।’ लेखापढी व्यवसायीले कागजात तयार गरेर मालपोतभित्र प्रवेश गरेपछि कार्यालयमा नगई अन्यत्र कतैबाट किर्ते भएको आएको उनको दाबी छ । भन्छन्, ‘सम्बन्धित ठाउँमा गएर नभिडाउनु कमजोरी देखियो ।’

सहकारीको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विश्वबन्धु थापाले विद्यासागरका बुबाआमाले धितो सुरक्षण गरेको जानकारी दिए । उनका अनुसार पौडेल परिवारको चाउथेमा तीन आनामा बनेको तीनतले घर र तनहुँको ५ रोपनी जग्गा सहकारीले सुरक्षण स्वरूपराखेको छ । ‘धितोमा हामी पूर्ण रूपमा सुरक्षित भएका छौं,’ उनले भने ।

उता पोखराकै धौलागिरि बचत तथा ऋण सहकारीसमेत संकटग्रस्त अवस्थामा पुगेको छ । बिनाधितो ऋण प्रवाह गर्दा संकटमा परेको हो । संस्थाका अध्यक्ष तोकबहादुर गुरुङ तथा बोर्ड सदस्यले आफूखुसी नजिकका मान्छेलाई बिनाधितो ऋण प्रवाह गरेको आरोप छ ।

आर्थिक अनियमितताकै कारण संस्थाको आर्थिक वर्ष २०७४/०७५ को लेखापरीक्षण हुन सकेको छैन । सहकारीले कर कार्यालयबाट आव २०७३/०७४ को कर चुक्ताको प्रमाणपत्रसमेत पाउन सकेको छैन । आर्थिक वर्ष सकिएको तीन महिनाभित्र लेखापरीक्षण गराइसक्नुपर्ने भए पनि अनियमितताकै कारण संस्थाले अहिलेसम्म पनि लेखापरीक्षण गर्न नसकेको हो । सहकारीमा हाल १५ सय सेयर सदस्य छन् । १३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी महाशाखाले सकारीसँग स्पष्टीकरण मागेको छ ।

महाशाखा प्रमुख बद्रीनाथ अधिकारी केही सहकारीले संक्रमणकालीन समयको फाइदा लिएर आफूखुसी ऋण प्रवाह गर्दा सर्वसाधारणको लगानी जोखिममा रहेको बताउँछन् । महाशाखामा जनशक्ति कम भएकाले अनुगमन गर्न नसकिएको उनले बताए । ‘अहिले सहकारी संघ, प्रदेश र स्थानीय तहअन्तर्गत छन्,’ उनले भने, ‘नीतिगत अप्ठ्याराको फाइदा सहकारीले लिइरहेका छन् ।’

जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारी सहकारी आफैंले स्वयंलाई अनुशासनमा राख्नुपर्ने बताउँछन् । कतिपय सहकारीले सावधानी नअपनाउँदा सर्वसाधारणको लगानी असुरक्षित भएको उनले बताए । ‘केही सहकारीमा प्राविधिक गडबडी र केही ठाउँमा जानाजान गल्ती भएका छन्,’ उनी भन्छन्, ‘केहीले बुझेर चलाए पनि धेरैले नबुझी सहकारी चलाउँदा यस्ता गल्ती हुन्छन् ।’ संघका अनुसार कास्कीमा बचत तथा ऋण, कृृषि, दुग्ध, मत्स्य, कफी, उपभोक्तालगायत गरी ६५० सहकारी छन् । ती सहकारीमा झन्डै २० अर्ब रुपैयाँलगानी छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT