कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब सजिलै ढोरपाटन–फोक्सुन्डो 

हरि गौतम

रुकुम पूर्व — ढोरपाटन सिकार आरक्षबाट मैकोट हुँदै डोल्पाको फोक्सुन्डो पुग्ने पदयात्रीलाई खुसीको खबर छ । ढोरपाटन सिकार आरक्षबाट पुथाउत्तरगंगा गाउँपालिकाको मैकोट हुँदै डोल्पा उक्लनेलाई लक्षित गरी ढोरपाटन–मैकोट–फोक्सुन्डो पदमार्ग निर्माण थालिएको छ ।

‘पर्यटन पूर्वाधार विकास’ शीर्षकमा पदमार्ग निर्माणको काम भइरहेको हो । पर्यटन मन्क्रालयको त्रमागत योजना अनुसार यस वर्ष २५ लाख रुपैयाँ लगानीमा निर्माण सुरु गरिएको छ । यस वर्ष २ हजार ८ सय मिटर मार्ग निर्माण गरिनेछ । एउटा यात्रु प्रतीक्षालय बनाउने योजना पनि छ । पुथाउत्तरगंग १ मैकोटबाट निर्माण थालनी गरिएको छ । स्थानीयले कुटो, कोदालो, गैंटी, बेल्चा र सावेल प्रयोग गरेर धमाधम पदमार्ग निर्माण गरिरहेका छन् ।


‘सरकारले तय गरेका एक सय नयाँ गन्तव्यअन्तर्गतको एउटा योजना हो,’ पर्यटन पूर्वाधार विकास समितिका अध्यक्ष भरतकुमार पुनमगरले भने, ‘ढोरपाटन–मैकोट–फोक्सुन्डो पर्यटन पदमार्ग शीर्षकमा रहेर धमाधम काम भइरहेको छ ।’ हाल मैकोटदेखि हान्पा लेक हुँदै फर्कम्बा खण्ड निर्माणको काम भइरहेको उनले बताए ।


मैकोट र हान्पा लेकको बीचमा पर्यटनमैत्री यात्रु प्रतीक्षालय बनाइने उनले बताए । उकालोमा पदयात्रीलाई आराम गर्न सजिलो बनाउन प्रतीक्षालय निर्माण योजना बनाएको समितिले जनायो । सरकारले जिल्लाबाट सय गन्तव्यको सूचीमा पदमार्गलाई राखेको थियो ।


साँघुरो र सानो बाटाका कारण अहिले उक्त रुट भएर हिँड्नेले अप्ठ्यारो भोगिरहेका छन् । पदमार्ग विस्तार भएपछि पर्यटक बढ्ने र त्यसको लाभ पेल्मा, मैकोटलगायत क्षेत्रका स्थानीयले लिन सक्नेछन् । आगामी वर्ष आउने बजेटबाट थप निर्माण गरिनेछ । ५ देखि ७ दिनमा पदयात्रा पूरा हुन्छ । पदमार्ग निर्माण थालिएपछि स्थानीय खुसी भएका छन् ।

अन्य कामकाजमा पनि फराकिलो मार्ग हुँदा सजिलो हुने स्थानीय रमेश विकले बताए । ‘यो रुटले पाहुनालाई मात्र होइन स्थानीयलाई पनि ठूलो सहयोग पुग्छ,’ विकले भने, ‘पहिलो वर्ष बजेट पर्याप्त भएन, अर्को वर्ष पनि सरकारले दिनुपर्छ ।’ यो रुट भएर वर्षमा दुई सिजन पर्यटक ओहोरदोहोर गर्छन् ।


ढोरपाटन सिकार आरक्षबाट मैकोट हुँदै फोक्सुन्डो पुग्छन् । असोजदेखि कात्तिकको अन्तिमसम्म यो रुट भएर पदयात्री आउजाउ गर्छन् । अर्को सिजनमा फागुनदेखि असारसम्म पर्यटक आउँछन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?