कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुपारीको लगानी जोखिममा

अर्जुन राजवंशी

बिर्तामोड — निरन्तर मूल्य घट्दा सुपारी व्यवसायीको लगानी जोखिममा परेको छ । लागतभन्दा बजार मूल्य सस्तो हुँदा गोदाममै थन्किएको छ । झापामा मात्र वार्षिक १० हजार टनभन्दा बढी तयारी सुपारी उत्पादन हुन्छ ।

सुपारीको लगानी जोखिममा

कृषिजन्य नगदेबाली भए पनि मुलुकभित्र सुपारीको पर्याप्त बजार छैन । छिमेकी मुलुक भारतमा नेपाली सुपारीको माग उच्च छ । कानुनी जटिलताका कारण नेपाली सुपारी भारत निकासीमा रोक लगाइएको छ । नजिकैको सीमावर्ती बजारमा सुपारीको उचित मूल्य र ठूलो बजार भए पनि नेपाली व्यवसायी त्यसतर्फ आकर्षित हुन नसक्दा नेपाली सुपारी व्यवसाय जोखिममा परेको छ ।


‘२-३ वर्षदेखि सुपारी राम्ररी बिकेको छैन,’ व्यवसायी हरिकिसन गुप्ताले भने, ‘सुपारीको मूल्य बर्सेनि घट्दै गइरहेको छ । घट्दो मूल्यले सुपारी उत्पादनमा लाग्ने खर्चसमेत उठाउने स्थिति छैन ।’ उनले फाला सुपारी उत्पादन गर्दा प्रतिकेजी ३२० रुपैयाँसम्म खर्च लाग्ने गरेको बताए । फाला सुपारीको मूल्य भने अहिले २ सय ७० रुपैयाँ केजी मात्र रहेको गुप्ताले बताए ।


‘हाम्रो लागत मूल्यभन्दा ५० रुपैयाँ कम बजार मूल्य छ । एक केजीमा ५० रुपैयाँ घाटा सहेर कसरी सुपारी बेच्नु ?’ उनले भने । मूल्य नपाएका कारण गत वर्षकै करिब ६० क्विन्टल सुपारी गोदाममा थन्किएको उनले बताए ।


जिल्लामा सुपारी खेती भने बढ्दो छ । नेपाल सुपारी खेती विकास संस्था केन्द्रीय कार्यालयको तथ्यांकअनुसार मुलुकका १८ जिल्लामा सुपारी खेती गरिन्छ । तीमध्ये सबैभन्दा बढी झापामा २ हजार ६ सय ३१ हेक्टर क्षेत्रफलमा सुपारी खेती भइरहेको संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले जानकारी दिए ।


‘सुपारी उत्पादन उत्साहजनक भए पनि यसको बजार नहुँदा व्यवसायी पलायनको अवस्था छ,’ व्यवसायी सुरेन्द्र साहले भने, ‘कानुनी प्रक्रिया स्पष्ट छैन । कृषिजन्य नगदेबाली भनिएको छ । खुलेर व्यवसाय गर्न पाउने अवस्था छैन ।’ उनले भारत निकासी रोकिएदेखि नै नेपाली सुपारीको बजार गुमेको दाबी गरे । साहले सरकारले नेपाली सुपारीलाई प्रवर्द्धन नगरी विदेशी आयात गर्नुले पनि व्यवसाय धरापमा परेको टिप्पणी गरे ।


व्यवसायी रघुनाथ गुप्ताले खतरामा परेको नेपाली सुपारी व्यवसाय बचाउन सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरे । उनले सरकारले बजार सुनिश्चित नगरे व्यवसायीको करोडौं लगानी र हजारौं किसान प्रत्यक्ष मारमा पर्ने बताए ।


‘सरकारले सुपारी उत्पादन बढाउन किसानलाई प्रत्साहन गरिरहेको छ । उत्पादित सुपारी कहाँ लगेर बेच्ने भन्ने कुनै निश्चित छैन,’ गुप्ताले भने, ‘सरकारको यस्तो अस्पष्ट नीतिले सुपारी व्यवसाय कसरी अगाडि बढाउन सकिन्छ ?’


सरकारले गत वर्ष जिल्लाका तीनवटा पालिकामा ‘सुपारी जोन’ कार्यक्रम घोषणा गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिकाको १, २, ३ र ४ नम्बर वडामा जोन कार्यक्रम सञ्चालित छ । उक्त कार्यक्रमअन्तर्गत चालु वर्ष ३० लाख रुपैयाँ बजेट प्राप्त भएको सुपारी जोन सञ्चालक समितिका अध्यक्ष शेखरनाथ अधिकारीले जानकारी दिए ।


जिल्लाको बाहुनडाँगी, शान्तिनगर, बुधबारे, शनिश्चरे, अर्जुनधारामा ठूलो क्षेत्रफलमा सुपारी खेती गरिएको छ । दमक, मेचीनगर, भद्रपुर, ज्यामिरगढी, दुहागढी, धाइजन, गरामनी, चारपाने, सुरुङ्गा, खुदुनाबारी, चन्द्रगढी, तोपगाछी, सतासीलगायत क्षेत्रका किसानले पनि सामान्य रूपमा सुपारी खेती गर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?