कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युतीय फोहोर व्यवस्थापनका लागि साझेदारी

सीमा तामाङ

काठमाडौँ — विद्युतीय सामानले गरेको प्रदूषण र त्यसले बढाएको फोहोरलाई रोक्न दुई व्यावसायिक कम्पनीबीच साझेदारी सुरु भएको छ ।
विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा चौधरी ग्रुप तथा ब्लु वेस्ट टु भ्यालुबीच विद्युतीय फोहोर व्यवस्थापनका लागि सम्झौता भएको हो ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र ब्लु वेस्ट टु भ्यालुका प्रमुख कार्यकारी अधिकृत नवीन विकास महर्जनले सम्झौतापत्रमा मंगलबार हस्ताक्षर गरेका हुन् । विद्युतीय सामानको समय सकिएपछि वा बिग्रिएपछि फोहोर भन्दै फ्याँक्ने प्रवृत्ति रहेकाले त्यसको व्यवस्थापन गर्न यो सम्झौता भएको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । ‘सरकारबाट विद्युतीय फोहोर व्यवस्थापनका लागि नियम कानुन आउन समय लाग्न सक्छ तर हामील आफ्नो तर्फबाट सक्दो योगदान गर्नुपर्छ,’ उनले भने ।

चौधरी ग्रुप विद्युतीय उपकरण वितरण तथा बिक्री गर्ने कार्यमा अग्रणी स्थानमा रहेकाले यसको फोहोर व्यवस्थापनको थालनी पनि ग्रुपबाटै भएको उनले बताए ।


सम्झौताअनुसार सीजी र एलजीका सबै आउटलेटमा ग्राहकले जुनसुकै कम्पनीको विद्युतीय फोहोर हस्तान्तरण गर्न सक्नेछन् ।

टीभी, फ्रिज तथा वासिङ मेसिनजस्ता भारी सामानका लागि भने घरदैलोमा लिन आउने व्यवस्था र यी तीन सामानमा ग्राहकले छुट पनि पाउने व्यवस्था गरिएको छ ।


विद्युतीय सामानको प्रयोग तथा सुरक्षित फोहोर व्यवस्थापनका लागि आउटलेटबाट संकलन भएका फोहोर ब्लु वेस्ट टु भ्यालुको रिसाइक्लिङ केन्द्रले फोहोर विस्थापन गर्नेछ । विद्युतीय फोहोरलाई पहिले मर्मत गर्ने र मर्मत गर्न नमिल्नेलाई आवश्यक सावधानी अपनाई छुट्याएर अन्य सामानको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने ब्लु वेस्ट टु भ्यालुका प्रमुख कार्यकारी अधिकृत महर्जनले बताए ।


‘विद्युतीय फोहोरमा हानिकारक रसायन तथा धातुको प्रयोग हुने भएकाले फोहोर व्यवस्थापनको काम चुनौतीपूर्ण छ तर चुनौतीलाई सामना गर्दै अघि बढ्छौं,’ उनले भने । २०१७ मा गरिएको एक अध्ययनले काठमाडौंमा १७ हजार ७ सय ३० टन विद्युतीय फोहोर उत्सर्जन भएको कम्पनीले जनाएको छ ।


यस्तो फोहोर दिनप्रतिदिन बढदो क्रममा भएकाले उचित समयमा व्यवस्थापन गर्न नसके त्यसले भयावह रूप लिने अवस्था एकातिर छ भने अर्कातिर त्यसैलाई प्रयोग गरेर अर्थोपार्जन गर्न सकिने अवसर पनि छ । ब्लु वेस्ट टु भ्यालुले त्यही फोहोरमा खेर गइरहेको अवसरलाई छोप्न खोजेको जनाएको छ ।


विद्युतीय फोहोर व्यवस्थापनका लागि चौधरी ग्रुप र ब्लु वेस्ट टु भ्यालुको भन्दा सर्वसाधरणको मुख्य भूमिका विद्युतीय फोहोर व्यवस्थापनका प्रोजेक्ट नेतृत्वकर्ता मनश्री नेवाले बताइन् । ‘आम मानिसले आफ्ना घरमा भएका पुराना विद्युतीय फोहोरलाई चौधरी ग्रुपको आउटलेटमा ल्याई विद्युतीय फोहोर व्यवस्थापन कार्यलाई सफल बनाउन सक्छन्,’ उनले भनिन् ।

प्रकाशित : जेष्ठ २३, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?