रक्सौल–काठमाडौं रेलमार्ग : भारतले बुझायो पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन

प्रतिवेदन अध्ययन गरी ब्रोड गेज कि स्ट्यान्डर्ड गेज भन्ने टुंगो लगाएपछि डीपीआरको काम अघि बढ्छ । डीपीआर कम्तीमा एक वर्षमा तयार हुनेछ : बलराम मिश्र
सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — भारतले रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन (प्रि–इन्जिनियरिङ एन्ड ट्राफिक सर्भे) टुंगो लगाएको छ । भारतीय उच्च अधिकारीहरूका अनुसार करिब एक महिनाअघि पूर्वसम्भाव्यता प्रतिवेदन नेपाल सरकारलाई बुझाइएको हो । यही अध्ययनका आधारमा विस्तृत परियोजना अध्ययन (डीपीआर) तयार पारिने भारतीय अधिकारीले जनाएका छन् ।


काठमाडौंमा गत भदौमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं–रक्सौल रेलसेवाको पूर्वसम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । भारत सरकारको स्वामित्व रहेको कोंकण रेल्वे कर्पोरेसन लिमिटेडले नेपाल सरकारसँगको समन्वयमा करिब आठ महिना लगाएर तयार प्रतिवेदन तयार पारेको हो ।

अध्ययन प्रतिवेदनमा रक्सौल–काठमाडौं रेलमार्गको कुल लम्बाइ, एलाइन्टमेन्टलगायतका प्राविधिक पक्षहरू विस्तारमा खुलाइएको छ । अध्ययन प्रतिवेदनमा एलाइन्मेन्टका दुइटा विकल्प दिइएको छ । पहिलो विकल्पअन्तर्गत रेलमार्गको लम्बाइ करिब दुई सय किलोमिटर हुनेछ । यसमा भारतमा जस्तै रेलमार्गको उतारचढाव (ग्रेडिएन्ट) बढीमा १ प्रतिशत मात्र रहनेछ । कम ग्रेडिएन्ट राखिएकाले यसको लम्बाइ बढी हुन गएको हो । दोस्रो विकल्पअन्तर्गत भने ग्रेडियन्ट १.५ प्रतिशत हुनेछ । यो मार्ग करिब १३५ किमि हुनेछ । सुरुङको लम्बाइ भने दुवै विकल्पमा उस्तै रहनेछ । रिपोर्टमा रेलमार्गको करिब ४० देखि ५० किमि खण्डका लागि सुरुङ निर्माण गर्नुपर्ने अध्ययनले औंल्याएको छ । प्रतिवेदनमा दुइटा विकल्प अघि सारिए पनि छोटो भएका कारण दोस्रो विकल्प छनोटमा पर्ने सम्भावना छ ।

अध्ययन प्रतिवेदनअनुसार रेलमार्ग रक्सौल/वीरगन्जको सुक्खा बन्दरगाहबाट सुरु भएर जितपुर हुँदै प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको स्थान निजगढको डुमरवाना पुगेर उत्तरतिर लाग्नेछ । त्यहाँबाट निर्माणाधीन निजगढ–काठमाडौं द्रुतमार्गको समानान्तर हुँदै चोभारमा गएर टुंगिनेछ । प्रतिवेदनमा चोभारलाई जिरो प्वाइन्ट तोकिएको छ । यसबीचमा दुई ठाउँमा रेलमार्गले द्रुतमार्गलाई क्रस गर्ने पनि प्रतिवेदनमा उल्लेख छ । रक्सौलदेखि चोभारसम्ममा १२ वटा स्टेसन प्रस्ताव गरिएको छ ।

प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भए पनि कुन प्रकारको गेज (लिकबीचको दूरी) ब्रोड वा स्ट्यान्डर्ड गर्ने भन्ने अन्योल यथावत् छ । भारतीय अधिकारीहरूका अनुसार अध्ययनमा ब्रोडगेजलाई नै आधार बनाइएको छ । भारतमा प्राय: सबैजसो रेल सञ्जाल ब्रोडगेज प्रविधिमा आधारित भएकाले उसको जोड पनि ब्रोडगेजमै रहेको बुझिन्छ । नेपाली प्राविधिकहरूले भने ब्रोड गेज पुरानो भइसकेको र निर्माणाधीन पूर्व–पश्चिम विद्युतीय रेलमार्ग पनि स्ट्यान्डर्ड गेजमै आधारित हुने भएकाले रक्सौल–काठमाडौं रेलमार्ग स्ट्यान्डर्ड गेज नै हुनुपर्ने अडान राख्दै आएका छन् । प्रस्तावित केरुङ–काठमाडौं रेलमार्ग पनि स्ट्यान्डर्ड गेजमै बनाउने निधो भएकाले एकरूपता ल्याउन स्ट्यान्डर्ड गेज नै हुनुपर्नेमा नेपाली अधिकारीहरूको जोड छ ।

रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले भने भारतीय पक्षले अध्ययन प्रतिवेदन नेपाललाई बुझाइसकेको भन्ने खबर पाए पनि आफूले हेर्न नपाएको बताए । ‘केही दिनअघि भारतीय पक्षले प्रतिवेदन हाम्रो परराष्ट्र मन्त्रालयलाई बुझाएको भन्ने खबर पाएका छौं तर अहिलेसम्म हाम्रो हातमा परेको छैन,’ उनले भने ।

प्रतिवेदन अध्ययनपछि मात्र ब्रोड गेज र स्ट्यान्डर्ड गेजसम्बन्धी विषय टुंगो लगाइने उनको भनाइ छ । ‘हामी त स्ट्यान्डर्ड गेज नै हुनुपर्छ भन्दै आएका छौं,’ मिश्रले भने ।

सरकारी अधिकारीहरूका अनुसार स्ट्यान्डर्ड र ब्रोड गेजलगायतका प्राविधिक विषयमा दुवै पक्ष सहमत भएपछि त्यसकै आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अघि बढ्नेछ । महानिर्देशक मिश्रका अनुसार डीपीआर तयार पार्न कम्तीमा एक वर्ष लाग्नेछ । जबकि नेपाल र भारतबीच रक्सौल–काठमाडौं रेलमार्गसम्बन्धी सम्झौतामा एक वर्षभित्रै पूर्वसम्भाव्यतासँगै (डीपीआर) समेत सक्ने उल्लेख छ । ‘प्रतिवेदन हेरेर टुंगो लगाएपछि डीपीआरको प्रक्रिया के–कसरी अगाडि बढाउने भन्ने निर्णय लिइनेछ,’ मिश्रले भने । डीपीआर टुंगो लागेपछि मात्र रेलमार्ग निर्माणमा लाग्ने खर्चको यकिन हुनेछ । डीपीआरको खर्च कसले बेहोर्ने भन्ने पनि प्रस्ट छैन ।

१. ग्रेडिएन्ट : १ प्रतिशत, लम्बाइ २ सय किमि
२. ग्रेडिएन्ट : १.५ प्रतिशत, लम्बाइ १३५ किमि
सुरुङ : ४०–५० किमि
जिरो प्वाइन्ट : चोभार
स्टेसन : १२ वटा

प्रकाशित : जेष्ठ २७, २०७६ १०:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भेटिएन भारतीय सेनाको विमान

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — केही दिन मात्र भएको थियो भारतीय वायुसेनाका फ्लाइट लेफटनेन्ट राजेश थापा आफ्नो कार्यक्षेत्र असमको जोराहाट फर्केको । नयाँदिल्ली छेउको फरिदाबादस्थित घरबाट बिदा हुनुअघि ६६ वर्षीया हजुरआमा रमामाया थापालाई उनले चाँडै असम घुमाउने वाचासमेत गरेका थिए ।

नातिको कुरा सुनेर हजुरआमा पनि निकै दंग थिइन् तर उनको त्यो खुसी धेरै दिन टिकेन किनकि एकसाता नबित्दै उनले एकाएक नाति राजेश चढेको हवाईजहाज बेपत्ता भएको खबर सुन्नुपर्‍यो ।

घटना अघिल्लो सोमबारको हो । पूर्वी उत्तरी राज्य असमको जोरहाटबाट मध्याह्न १२ बजेर २५ मिनेटमा उडेको भारतीय वायु सेनाको एन्टोनोभ एन् ३२ विमान त्यसको ३५ मिनेटपछि सम्पर्कविहीन हुन पुग्यो । चीनको सिमाना नजिक रहेको अरुणाचलको मेचुका विमानस्थलका लागि उडेको उक्त मालवाहक विमानमा चालक दलका ८ सदस्यसहित अन्य पाँच यात्रु सवार थिए । तिनै १३ जनामध्ये थिए रमामायाका नाति राजेश पनि ।

रूसमा निर्मित दुइटा इन्जिन भएको ट्रबोप्राप उक्त जहाज भारतीय सेनाले विशेष गरी सेना र मालसामान ढुवानीका लागि प्रयोग गर्दै आएको थियो । विमान हराइरहेको क्षेत्र भौगोलिक हिसाबले कठिन हुनुका साथै घना जंगल रहेको बताइन्छ । जहाज खोजीका लागि भारतीय सेनाले भएभरको संयन्त्र प्रयोग गरेको दाबी गर्दै आए पनि अहिलेसम्म विमान र त्यसमा रहेका यात्रुका बारेमा कुनै पनि सूचना प्राप्त गर्न सकेको छैन । यद्यपि सेनाले भने ट्वीटरमार्फत जहाजको खोजीका लागि हरसम्भव प्रयास गरिहेको बताउँदै आएको छ । खोजी कार्यको पछिल्लो अवस्था बुझन भारतीय वायु सेनाका प्रमुख करमवीर सिंह आफैं शनिबार जोरहाट पुगेका थिए ।

विमान र त्यसमा रहेका यात्रुको अवस्था थाहा नहुँदा पूरै थापा परिवार अहिले शोकमा छ । करिब तीन साता हजुरआमासँगै बिताएर २७ मेमा मात्र राजेश ड्युटीमा फर्केका थिए । सोमबार साँझ करिब छ बजे भारतीय वायु सेनाका तर्फबाट जहाज बेपत्ता भएको खबर पाएदेखि नै रमामाया नातिको चिन्तामा भावविह्वल छिन् ।

सानै उमेरमा हजुरआमा रमामाया थापाको पछि लागेर उनी दिल्ली आए । आफैंले हुर्काएको हुँदा रमामायाका सबभन्दा प्यारा थिए राजेश । थापाले फरिदाबादकै सेन्ट जोन्स स्कुलबाट पढाइ गरे । उनी करिब पाँच वर्षअघि मात्र भारतीय वायु सेनामा भर्ना भएका थिए । काका रवीन्द्रका अनुसार परिवारका जेठा छोरा राजेशको बिहेका लागि कुराकानी पनि चलिरहेको थियो । छोरो चढेको विमान बेपत्ता भएको खबर थाहा पाउनासाथ लमजुङमा रहेका बुबा हरि थपा र आमा शिवा थापा पनि दिल्ली आइपुगेका छन् । ‘नसोचेको घटना भयो, केही दिनअघि मात्र दंग हुँदै ड्युटीमा फर्केको थियो,’ रवीन्द्रले भने ।

यसैबीच खोजी कार्यक्रममा ठोस प्रगति नभएपछि भारतीय वायु सेनाले शनिबार बेपत्ता विमानका बारेमा भरपर्दो सूचना दिनेलाई ५ लाख भारु नगद पुरस्कार दिने घोषणा गरेको छ । अन्तत: वायु सेनाले विमानमा रहेका २९ जनाका परिवारलाई पत्र लेख्दै सबैको मृत्यु भएको हुन सक्ने भन्दै अपरेसन टुंगिएको जानकारी गराइसकेको छ । ‘जहाज नभेटिइन्जेलसम्म केही भन्न सकिँदैन, सेनाले खोजीका लागि सक्दो प्रयास गरिरहेको छ, अझै हाम्रो छोरा सकुशल फर्कन्छ भन्नेमा विश्वास छ,’ राजेशका काका रवीन्द्रले भने ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०९:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT