निजी आवास पुनर्निर्माणमा ८२ प्रतिशत प्रगति

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । निजी आवास पुनर्निर्माणका सम्बन्धमा ८२ प्रतिशत उपलब्धि हासिल गरेको प्राधिकरणको वक्तव्यमा छ । उक्त प्रयोजनका लागि अनुदान सम्झौता गरेकामध्ये ५२ प्रतिशतले पुनर्निर्माण सम्पन्न गरेको र ३० प्रतिशतले घर बनाउँदै गरेको प्राधिकरणले जनाएको छ । 

संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २ लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको जानकारी दिए । निजी आवास पुनर्निर्माणका लागि हालसम्म ७ लाख ६७ हजार २ सय ४८ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये ९९ प्रतिशतले प्रथम किस्ता, ७६ प्रतिशतले दोस्रो किस्ता र ५७ प्रतिशतले तेस्रो किस्ता भुक्तानी लिएको जारी विज्ञप्तिमा छ ।

सरकारले निजी आवास पुनर्निर्माणमा पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । ‘निजी आवास पुनर्निर्माणलाई सबैभन्दा महत्त्व दिएर काम गरेका छौं,’ ज्ञवालीले भनेका छन्, ‘शैक्षिक संस्था, स्वास्थ्य संस्था, सम्पदालगायत भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माणका मूलभूत कार्य पूर्वनिर्धारित समयमा नै सम्पन्न गर्नेछौं ।’

सांसद खिमकुमार विकले पुनर्निर्माणमा भएका उपलब्धिले आशा जगाएको भन्दै भूकम्पपछिको चुनौतीलाई अवसरका रूपमा लिएर काम गरिरहेको बताए । उनले गलत विवरण दिएर कतिपय गुनासो पेस गरिएको भन्दै प्रस्तावहरूलाई अस्वीकार गर्न प्राधिकरणलाई आग्रहसमेत गरे । सांसद रमेशजंग रायमाझीले कतिपय एकीकृत बस्ती गाउँमैत्री नभएको टिप्पणी गर्दै गाईवस्तु पाल्ने ठाउँ नराखिएकामा आलोचना गरे ।

प्रकाशित : जेष्ठ २९, २०७६ २०:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अत्यधिक वर्षाका कारण चीनमा १७ को मृत्यु

रासस

काठमाडौँ — चीनको दक्षिण-पश्चिम क्षेत्रमा अत्यधिक वर्षाका कारण १७ जनाको मृत्यु भएको छ । गौन्छी झुङ स्वशासित क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण उनीहरुको मृत्यु भएको आपत्कालीन विभागका अधिकारीहरुले बुधबार जनाएका छन् । झण्डै एक हप्तादेखि अविरल वर्षाका कारण ५ लाख ९० हजार मानिस प्रभावित भएको उनीहरुको भनाइ छ ।

प्राप्त पछिल्लो विवरणअनुसार ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । उनीहरुलाई अन्य ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । अत्यधिक वर्षाका कारण बाढी पनि आएको छ । बाढीले ३४ हजार ६ सय हेक्टर जमिनको बाली नष्ट गरिदिएको छ ।

अधिकारीहरुले दिएको जानकारी अनुसार अहिलेसम्म झण्डै एक हजार ७४७ घरमा वर्षा र बाढीले असर पारेको छ भने तीमध्ये ९६६ वटा घर नराम्रोसँग क्षति भएका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७६ १९:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्