कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लघुवित्त मर्जर गर्नुस् : गभर्नर

काठमाडौँ — राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले लघुवित्त वित्तीय संस्थालाई मर्जर नगरे मौद्रिक नीतिमा बाध्यात्मक व्यवस्था गर्ने बताएका छन् । 

आगामी वर्षको मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाको मर्जरसम्बन्धी व्यवस्था समेटिने पनि उनले बताए । ‘हामी आगामी वर्षको मौद्रिक नीतिको गृहकार्यमा छौं,’ उनले भने, ‘एक महिनाभित्र उपयुक्त संस्था खोजेर मर्ज गर्नुहोस् । अन्यथा रोइकराइ गरेर केही हुनेवाला छैन ।’


मौद्रिक नीतिसम्म मर्जर नगरे त्यसका लागि तयार भएर बस्न भने । ‘मर्जरका लागि सबै तयार भएर बस्नुहोस्,’ आईबीएन मिडिया एन्ड रिसर्च सेन्टरले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘लघुवित्त वित्तीय संस्थाको दिगो

विकास र स्थायित्वका लागि मर्जरमा जानैपर्छ ।’


हाल झन्डै एक सय लघुवित्त वित्तीय संस्थाहरू छन् । अझै थप भएर ११५ को हाराहारीमा पुग्ने निश्चित छ । यसलाई घटाउने योजना राष्ट्र बैंकले बनाउन थालेको हो । बैंक तथा वित्तीय संस्थाको मर्जरमा राष्ट्र बैंक पूर्ण रूपमा सफल भएको जनाउँदै गभर्नर नेपालले भने, ‘अबको पालो लघुवित्त वित्तीय संस्थाको हो, तपाईंहरूको गल्ती हामीलाई पनि थाहा छ ।


यसकारण राष्ट्रले तोकेरै मर्जरमा लानुपर्ने अवस्था नआओस् ।’ मर्जर तथा एक्विजिसन प्रक्रिया निरुत्साहित पार्न वित्तीय संस्थाहरू उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वमा हारगुहार गर्न जाने प्रवृत्ति रहेकोतर्फ इंकित गर्दै उनले भने, ‘भनसुनका आधारमा राष्ट्र बैंकले मानिहाल्छ भन्ने नसोच्नुहोला । भनसुनले केही हुनेवाला छैन ।’ केही लघुवित्त वित्तीय संस्थाले लय छोडेकाले तीनको व्यवस्थापनका लागि पनि मर्जरमा लानुपरेको उनको भनाइ थियो । मर्जरमार्फत लघुवित्त वित्तीय संस्थाको संख्या घटाएर ग्राहकलाई च्याप्प समातेर ऋण दिने प्रवृत्ति नियन्त्रण गरिने उनले बताए ।


लघुवित्त संस्थाले पनि सिधै विदेशबाट ऋण लिन सक्ने भएकाले धेरैभन्दा धेरै विदेशी मुद्रा नेपाल भित्र्याउन उनले आग्रह गरे । ‘तपाईंहरूलाई अवसर छ, अन्तर्राष्ट्रियस्तरमा पनि आफ्नो पहिचान दरिलो बनाउनुहोस्,’ उनले भने, ‘यसले संस्था र मुलुक दुवैलाई फाइदा पुग्छ ।’


मुलुकमा वित्तीय पहुँच विस्तार र गरिबी निवारणमा लघुवित्त संस्थाको योगदान मूल्यांकन गर्नुपर्ने बेला भएको राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । लघुवित्त वित्तीय संस्थाको संख्यात्मक वृद्धिसँगै स्थायित्वको कुरा पनि उठेकाले अब त्यसतर्फ लाग्नुपर्ने उनले बताए । ‘अब पनि लघुवित्त वित्तीय संस्थाहरू वाणिज्य बैंककै भरमा मात्र बस्नु भएन,’ उनले भने, ‘स्रोत जुटाउनका लागि विभिन्न विकल्पबारे पनि योजना बनाउनुपर्‍यो ।’


लघु वित्त वित्तीय संस्थाको ब्याजदर तुलनात्मक रूपमा धेरै रहेकाले ब्याज निर्धारण प्रक्रियाबारे पनि अध्ययन अनुसन्धान हुनुपर्ने बताए ।


गत पुससम्म सञ्चालनमा रहेका ८२ संस्थामध्ये १० वटा घाटामा र बाँकी नाफामा रहेकाले आर्थिक अवस्था त्यत्ति कमजोर नरहेको बताए । राष्ट्र बैंकले स्वैच्छिक मर्जरलाई प्रोत्साहन गरेकाले लघुवित्त वित्तीय संस्थाले पनि त्यसलाई स्विकारेर अघि बढ्न उनले आग्रह गरे ।


हाल लघुवित्त वित्तीय संस्थामा तरलता (रकम) को समस्या रहेको लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले बताए ।

संस्था निरन्तर रूपमा थपिँदै गए पनि फन्डको स्रोत नबढदा समस्या रहेको उनको भनाइ थियो । ‘यही अवस्था हो भने लघुवित्त क्षेत्रमा ठूलै समस्या आउने सम्भावना छ,’ उनले भने, ‘नयाँ संस्था भित्रिएपछि अस्वस्थ प्रतिस्पर्धा पनि बढेको छ ।’

प्रकाशित : जेष्ठ ३२, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?