कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रानी, जमरा सिँचाइ आयोजना : पहिलो चरण सकिँदै

गणेश चौधरी

टीकापुर — राष्ट्रिय गौरवको आयोजना रानी, जमरा र कुलरिया सिँचाइ आयोजनाको पहिलो चरणको काम सम्पन्न भएको छ । पहिलो चरणबाट १४ हजार ३ सय हेक्टरमा सिँचाइ पुगेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख मधुकर रानाले भने, ‘मूल नहरको काम करिब सकिएको छ । अब किसानको खेतसम्म पानी जाने ससाना कुलाको व्यवस्थापन गर्ने काम पनि आयोजनाले गर्छ ।’ 

रानी, जमरा सिँचाइ आयोजना : पहिलो चरण सकिँदै

पहिलो चरणमा कर्णाली पुलको तलतिर मूल इन्टेक निर्माण गर्ने, इन्टेकबाट करिब ९ किलोमिटर मूल नहर निर्माण गर्ने योजना थियो । साथै १४ किलोमिटरको शाखा नहर निर्माण गर्ने, कृषक सञ्चालित नहर प्रणालीहरूको पुनर्निर्माण तथा सुधार गर्ने, कृषि सडकको सुधार गर्ने योजनाहरू निर्धारित थिए । निर्धारित सबै कामहरू लगभग पूरा भएको आयोजनाले जनाएको छ ।


मुख्य इन्टेकमा ढोका लाउन बाँकी रहेको र हाइड्रो पावरको काम बाँकी रहेकाले मुख्य इन्टेकबाट पानी पठाउन नसकिएको रानाले बताए । हाइड्रोपावरको काम गर्दा जमिनमुनिबाट अत्यधिक पानी निस्कँदा संरचना बनाउन समस्या भएकाले ढिलाइ भएको उनले बताए । मुख्य इन्टेकबाट रानी, जमरा र कुलरिया कुलोका लागि आएको करिब ५५ क्युमेक पानीबाट ४ मेगावाट बिजुली निकाल्ने योजना रहेको रानाले बताए ।


पहिलो चरणअन्तर्गत कुलोको कमान्ड एरियामा १ सय १७ किलोमिटर सडक ग्राभेल गरिएको र ३५ किलोमिटर तटबन्धको काम भएको आयोजनाले जनाएको छ । दोस्रो चरणमा पथरैया नदीसम्म लम्कीचुहा नगरपालिकाको वडा नम्बर ४, ६ र ८ मा नहर विस्तार गरिरहेको छ । लम्की क्षेत्रमा करिब साढे १४ किलोमिटर नहर बनिरहेको छ । यसबाट करिब ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने जनाइएको छ ।


६ किलोमिटर जंगल क्षेत्र र साढे ८ किलोमिटर आवादी क्षेत्रमा मुख्य नहर जाने र मुख्य नहरबाट ५ वटा शाखा नहर बन्ने आयोजना प्रमुख रानाले बताए । उनले भने, ‘तेस्रो वर्षमा बल्ल काम सुरु भयो, अब २ महिना जतिमा जंगल क्षेत्रमा पक्की नहर सकिन्छ । त्यसपछि आवादी क्षेत्रमा मुआब्जा दिएर काम सुरु हुन्छ ।’


उनका अनुसार जंगल क्षेत्रमा रूख कटानीको काममै करिब २ वर्ष खर्च भयो । तेस्रो वर्षमा बल्ल काम भइरहेको छ । दोस्रो चरणअन्तर्गतको नहर निर्माणमा करिब ३० बिघा नम्बरी र ३० बिघा ऐलानी जग्गाको मुआब्जा दिनुपर्ने अवस्था रहेको रानाले बताए । उनले भने, ‘मुआब्जा दिने प्रक्रिया अघि बढाइसकेका छौं । नापी र मालपोतले जग्गा सिँचाइको नाममा नगरिदिँदा ढिला भइरहेको छ । नापी र मालपोतलाई चिठी पठाएको २ महिना भइसकेको छ । काम भएको छैन ।’


नहरमा परेका घर र रुखको छुट्टाछुट्टै र जग्गाको छुट्टै मुआब्जा दिने र मुआब्जाका लागि करिब एक अर्ब बजेट विनियोजन गरिएको आयोनजाले जनाएको छ । तेस्रो चरणमा कन्द्रा नदीसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ काम अघि बढाएको छ । तेस्रो चरणमा १८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।


सिँचाइ कुलोको पानी बाँडिने

राष्ट्रिय गौरवको आयोजना रानी, जमरा र कुलरिया कुलो सिँचाइ आयोजनाको दोस्रो चरणअन्तर्गत लम्कीचुहा नगरपालिकामा सिँचाइका लागि भइरहेको काम सम्पन्न भएपछि करिब आधा मात्र पानी रानी जमरा र कुलरियामा आउनेछ ।


मूल नहरबाट प्रतिसेकेन्ड ८० क्युमेक पानी आउने र त्यो पानीमध्ये करिब ४० क्युमेक लम्कीचुहातिर जाने आयोजनाले जनाएको छ ।

‘सुरुमा रानी, जमरा र कुलरिया कुलोमा नै ८० क्युमेक पानी आउने भनिएको थियो,’ जमरा कुलो जल उपभोक्ता समितिका अध्यक्ष लालवीर चौधरीले भने, ‘१४ हजार ३ सय हेक्टरमा रानी, जमरा र कुलरिया कुलोबाट सिँचाइ हुने भनिएको छ । त्यति पानीले पुग्छ पुग्दैन थाहा छैन । अहिले भने पानी प्रशस्त छ ।’


लम्कीचुहा नगरपालिकामा नहर विस्तार हुँदा त्यहाँ रहेका पथरैयालगायतका खोलाको पानी नहरमा मिसाउने योजना रहेकाले पानीको कमी नहुने आयोजना प्रमुख रानाले बताए । उनले भने, ‘पानी कम हुन्न ।’


सिँचाइमा लगानी

सिँचाइ आयोजना सम्पन्न गर्न नेपाल सरकार, विश्व बैंक र उपभोक्ताको लगानी छ । विश्व बैंकले नदी नियन्त्रण, बाटोको स्तर सुधार तथा सहायक नहर निर्माणमा लगानी गर्ने र नेपाल सरकारले मूल इन्टेक तथा मुख्य नहर निर्माणमा लगानी गर्ने सम्झौता छ ।


पहिलो चरणमा ४३ मिलियन अमेरिकी डलर खर्च भएको र दोस्रो चरणमा ७२ मिलियन अमेरिकी डलर विनियोजन भएको आयोजनाले जनाएको छ । ७२ मिलियन अमेरिकी डलरमध्ये ३ मिलियन नेपाल सरकारको र ३ मिलियन उपभोक्ताको लगानी रहने आयोजनाले जनाएको छ ।


किसानको आशा

सिँचाइ आयोजनाले यी कुलामा बाह्रै महिना पानी उपलब्ध हुने र खेतीपातीका लागि देशावर जाने बाध्यता नरहने यहाँका किसानको आशा छ । व्यवस्थित सिँचाइ नभएका कारण यहाँका किसानले प्रत्येक वर्ष करिब ४ महिनासम्म रानी, जमरा र कुलरिया कुलोको मुहान खनेर वर्षे धानका लागि सिँचाइको व्यवस्था गर्दै आएका हुन् । कर्णाली कुलो सिँचाइ प्रणालीको मुहानमा करिब डेढ किलोमिटर लामो, २० फिट जति चौडा र १५ फिट जति गहिरो मुहान प्रत्येक वर्ष खन्नुपर्ने बाध्यता थियो ।


कर्णाली नदीले बगाएर ल्याएको ढुंगा तथा बालुवाले हरेक वर्ष कुलाको मुहान पुर्ने भएकाले हरेक हिउँद याममा किसानले कुलो मर्मत र सफा गर्दै आएका हुन् । यहाँका किसानले बर्सेनि मुहान खन्न श्रमदान गर्दै आएका भए पनि सिँचाइ प्रणाली व्यवस्थित नभएका कारण यहाँका हजारौं किसानको मिहिनेत बर्सेनि बालुवामा पानीजस्तै हुँदै आएको थियो ।


कृषि उत्पादन बढाउन छुट्टै कार्यालय

रानी, जमरा र कुलरिया कुलो सिँचाइ आयोजनाले यो क्षेत्रको जमिन सिञ्चित बनाउने मात्र होइन कृषि उत्पादनमा वृद्धि गर्न कृषिमा व्यवसायिकीकरण र यान्त्रीकरण गर्न यहाँ छुट्टै कार्यालय स्थापना गरिएको छ । आयोजनाको यहाँको कृषिमा लगानी पनि बढेको छ । सिँचाइ आयोजना लागू हुनुभन्दा पहिले यस क्षेत्रमा कृषिमा लगानी शून्यप्रायः थियो । सिँचाइ आयोजनासँगै कृषि उत्पादन बढाउन कृषिमा लगानी बढेको हो ।


विश्व बैंकको आर्थिक सहयोगमा कृषि कार्यक्रम सञ्चालन भएको सिँचाइ आयोजनाको कृषितर्फको आयोजना एकाइ कार्यालयलले जनाएको छ । पहिलो चरणमा करिब ९ मिलियन अमेरिकी डलर कृषि कार्यक्रममा खर्च भएको र दोस्रो चरणमा करिब १३ मिलियन अमेरिकी डलर खर्च गर्ने योजना आयोजनाको छ ।


यो रकमले कृषि वस्तुको उत्पादन तथा उत्पादकत्व बढाउने, जमिन र जलको अधिकतम प्रयोग गर्ने, कृषि वस्तुहरूको व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरणमा सहयोग गर्ने लक्ष्य आयोजनाको रहेको बताइएको छ । उद्देश्य प्राप्तिका लागि किसानलाई बीउ र कृषि यन्त्रमा सहयोग, कृषक पाठशाला सञ्चालन, उन्नत प्रविधिको प्रदर्शन, सहकारी बीउ भण्डारण गृह निर्माण आयोजना एकाइ कार्यालयले गर्दै आएको छ ।


सिँचाइ प्रणाली व्यवस्थित भएपछि पूर्वी कैलालीमा प्रतिहेक्टर ७० क्विन्टलसम्म धान उत्पादन गर्न सके वार्षिक १ लाख ७ हजार टन खाद्यान्न उत्पादन गर्न सकिने टीकापुर नगरपालिकाको कृषि शाखा प्रमुख गौरीशंकर गुप्ताले बताए । उनले भने, ‘खेतीयोग्य जमिन प्लटिङ गरी घर घडेरी बनाउने तीव्र गतिले भने यो सिँचाइ परियोजनाको उपादेयता कति हुने भन्ने खतरा पनि छ ।’


सिँचाइसँगै बिजुली

सिँचाइ आयोजनाको मुख्य इन्टेकबाट तीनवटै कुलोका लागि आएको ५५ क्युमेक पानीबाट करिब ५ मेगावाट बिजुली निकाल्ने सिँचाइ आयोजनाले जनाएको छ ।


सिँचाइ आयोजनाको डिजाइन गर्दा बिजुली निकाल्ने योजना नभए पनि सिँचाइ कुलोमा आउने पानीबाट सस्तोमा बिजुली निकाल्न सकिने सम्भावना देखिएपछि बिजुली निकाल्ने काम अघि बढाइएको आयोजनाले जनाएको छ । यसका लागि करिब ५० करोड रुपैयाँ लगानीमा हाइड्रोपावर स्टेसन तयार हुने बताइएको छ ।


सिँचाइ आयोजनाको डिजाइन गर्दा बिजुली निकाल्ने योजना नभए पनि कुलोमा आउने पानीबाट सस्तोमा बिजुली निकाल्न सकिने सम्भावना देखिएपछि बिजुली पनि निकाल्न थालिएको हो । आयोजना प्रमुख रानाले भने, ‘सिँचाइका लागि ल्याइएको पानीलाई बिजुली उत्पादनमा उपयोग गरी पुनः सिँचाइकै लागि पठाइनेछ ।’ बिजुलीको अभाव झेलिरहेको अवस्थामा सिँचाइ कुलोबाट निकालिएको बिजुली कैलालीका लागि पर्याप्त हुने सिँचाइ आयोजनाका इन्जिनियर बताउँछन् ।


यसरी बन्यो रानी, जमरा

रानी, जमरा र कुलरिया कुलो यहाँका किसानहरूको श्रम र पसिनाले बनेको हो । सिँचाइका लागि किसान आफैंले देशावरमार्फत यी तीन कुलो बनाएका हुन् । प्रत्येक हिउँदमा यहाँका किसानले कुलो खन्दै आएका हुन् । कुलो खन्न थालेको दुई पुस्ता बितिसकेको जमरा कुलो जलउपभोक्ता समितिका अध्यक्ष लालवीर चौधरीले बताए ।


उनका अनुसार कैलालीको पूर्वी क्षेत्रमा रहेका रानी, जमरा र कुलरिया कुलोमध्ये रानी कुलो सबभन्दा पुरानो हो । उक्त कुलो करिब ११२ वर्ष पहिले रानी पदमकुमारी शाहले निर्माण गर्न लगाएकी हुन् । रानी पदमकुमारीकै नामबाट आजसम्म पनि यस कुलोलाई रानी कुलोको नामले चिनिन्छ । रानी पदमकुमारीले यहाँका थारूलाई कुलो खन्न लगाएको लालवीरले बताए ।


‘राणाकालमा सुवर्णशमशेरको क्षेत्र थियो यो,’ लालवीरले भने, ‘बिर्ता क्षेत्र भएकाले बस्ती विस्तारका लागि दाङबाट थारू जातिलाई ल्याएर कुलो बनाउन लगाए ।’ उनका अनुसार त्यतिखेर थारूलाई कुलो खन्न पठाउने र कुलो खनेबापत सुँगुर काटेर खुवाउने चलन थियो । अहिले रानी कुलोले यस क्षेत्रका करिब ४८ गाउँमा सिँचाइ सुविधा उपलब्ध गराएको छ ।

प्रकाशित : असार १, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?