कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ३ को बजेट ४७ अर्ब ६० करोड ७८ लाख, पूर्वाधारमा जोड

उत्साह जगाउने गरी बजेट आएन । कसरी काम गरिन्छ भन्ने पनि छैन । पूरै गोलमटोल रूपमा बजेट आएको छ । – कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ

(हेटौंडा) — प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित बजेट आइतबार सार्वजनिक गरेको छ । प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट पेस गरे । यो चालु आवको तुलनामा ११ अर्ब ९९ करोड २१ रुपैयाँ बढी हो । 

प्रदेश ३ को बजेट ४७ अर्ब ६० करोड ७८ लाख, पूर्वाधारमा जोड

आगामी आर्थिक वर्षको चालु खर्चतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१ प्रतिशत तथा पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात् ४८ प्रतिशत छ । चालु आर्थिक वर्षमा पुँजीगत (विकास) तर्फ ६१ प्रतिशत बजेट विनियोजन गरिएको थियो । प्रदेश सरकारले बजेटमा पहिलोपटक ३० करोड रुपैयाँ वित्तीय व्यवस्थासमेत गरेको छ ।


सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वतर्फ १५ अर्ब ४९ करोड ९६ लाख, अन्तरसरकारी अनुदान १८ अर्ब ६ करोड १३ लाख, अन्य राजस्वतर्फ ७ अर्ब ३० करोड तथा राजस्व बचततर्फ ६ अर्ब ७५ करोड १६ लाख ८६ हजार रुपैयाँ हुने अनुमान गरेको छ । उसले चालु आर्थिक वर्ष २०७५/७६ मा प्रदेशको कुल सरकारी खर्चको तुलनामा ७८ प्रतिशत अर्थात् २७ अर्ब ८८ करोड १२ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमानसमेत गरेको छ । चालु आर्थिक वर्षमा आन्तरिक राजस्व परिचालन ८ अर्ब ३५ करोड १० लाख संशोधित अनुमान गरिएको मन्त्री ढुंगेलले जानकारी दिए । यस आधारमा लक्ष्यको तुलनामा आन्तरिक राजस्व संकलन ९८ करोड २६ लाख न्यून हुने उनको भनाइ छ ।


बजेटमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानस्वरूप १ अर्ब ३० करोड, समपूरक अनुदान २ अर्ब ४० करोड, स्थानीय तहलाई विशेष अनुदान ४० करोड, स्थानीय तहलाई ससर्त अनुदान एक अर्ब २५ करोड, शिक्षा तथा स्वास्थ्यतर्फ स्थानीय तहमा ससर्त अनुदानतर्फ ५८ करोड ८१ लाख र स्थानीय तह पूर्वाधार विकास कार्यक्रमका लागि ससर्त अनुदान १ अर्ब २५ करोड विनियोजन गरिएको छ । प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि एक अर्ब ९८ करोड रुपैयाँ छुट्याएको छ

बजेटमार्फत औद्योगिक क्षेत्रलाई प्रदेश सरकार मातहत ल्याउने, मकवानपुरको मनहरी र सिन्धुलीको मरिणमा औद्योगिक क्षेत्र स्थापना गर्ने, एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम स्थापना गर्ने र चार वर्षभित्र सम्पूर्ण स्थानीय तहको केन्द्रसम्म बाह्रै महिना सञ्चालन हुने सडक सञ्जाल निर्माण गर्ने, पुष्पलाल प्रदेश चक्रपथ र पोस्टबहादुर बोगटी सुरुङमार्ग निर्माण गर्ने महत्त्वाकांक्षी योजनाका लागि बजेट विनियोजन गरेको छ । काठमाडौं उपत्यकासँगको पहुँचको दूरी छोट्याउन चौतारा सिपाघाट–कात्तिके–काठमाडौं सडक र टोखा–छहरे–नुवाकोट सडक विस्तार तथा स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।


‘एक घर एक धारा,’ सुक्खा क्षेत्रमा खानेपानी योजना, ढल व्यवस्थापन कार्यक्रम सञ्चालन, काठमाडौं उपत्यकालाई सफा र हरित सहरका रूपमा विकास गर्न २० करोड रुपैयाँ छुट्याइएको मन्त्री ढुंगेलले जानकारी दिए । प्रदेशका १० जिल्लामा प्रहरी भवन एकाइ निर्माण गर्न ८२ करोड ६५ लाख, सहिद बेपत्ता परिवारलाई सहयोग प्रदान गर्न ५ करोड, सहिदको नाममा पार्क बनाउन १० करोड र पूर्वाधार निर्माणका लागि स्थानीय तह साझेदारी कार्यक्रम सञ्चालन गर्न दुई करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।


प्रकाशित : असार १, २०७६ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?