कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

ढल्केबर सबस्टेसन पुसभित्रै 

भारतसँग ९ सय मेगावाटसम्म विद्युत् आदानप्रदान हुन सक्ने

काठमाडौँ — धनुषामा निर्माणाधीन ४ सय केभीको ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालनमा आउने भएको छ । ४ सय केभी क्षमतामा सबस्टेसन सञ्चालनमा आएपछि नेपाल र भारतबीच ठूलो परिमाणमा विद्युत् व्यापारमा सहज हुने प्राधिकरणले जनाएको छ ।

अहिले यो सबस्टेसन २२० केभी क्षमतामा सञ्चालनमा छ । ४०० केभी प्रणालीमा आधारित यो नेपालकै पहिलो सबस्टेसन हो ।


मुलुकभित्र र अन्तरदेशीय प्रसारण प्रणाली सुधार्नेसहित यो सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसन सञ्चालनमा आएपछि नेपाल–भारतबीच ९ सय मेगावाट विद्युत् आदानप्रदानका लागि पूर्वाधार तयार हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।


नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन सम्पन्न भइसकेको छ । अहिले यो २२० केभी क्षमतामा सञ्चालनमा छ । ढल्केवर सबस्टेसनको काम सकिएपछि प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालन हुनेछ । ढल्केबर सबस्टेसनको स्तरोन्नतिको काम सकिएपछि भारतसँग विद्युत् आयात र निर्यात सहज हुने प्राधिकरणको विश्वास छ ।


नेपाल र भारतबीच सहमति जुटेको इनर्जी बैंकिङ कार्यान्वयनका लागि पनि ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन महत्त्वपूर्ण मानिन्छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सकिएपछि नेपालमा वर्षायाममा विद्युत् बढी हुने अनुमान छ ।


नेपालमा विद्युत् बढी हुँदा भारत लैजाने र नेपाललाई आवश्यक पर्दा पुनः ल्याउने गरी नेपालले गरेको प्रस्तावमा भारतले सहमति जनाइसकेको छ । दुई देशबीच विद्युत् व्यापारका लागि न्यु बुटवल–गोरखपुर प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरिए पनि यसको निर्माणको मोडालिटी टुंगो लागेको छैन । विद्युत् प्राधिकरण र भारतको केन्द्रित विद्युत् प्राधिकरणले यसको टुंगो लगाउने जिम्मा पाएका छन् ।


अहिले २२० केभी क्षमतामा सञ्चालित ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट भारतबाट पिक समयमा दैनिक २२० मेगावाटसम्म विद्युत् आयात भइरहेको छ । अन्य विन्दुको तुलनामा मुजफ्फपुरबाट आयात हुने विद्युत्को मूल्य सस्तो छ ।


नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले शनिबार सबस्टेसन निर्माण प्रगतिको स्थलगत निरीक्षण गरी निर्धारित समयमै काम सम्पन्न निर्देशन दिएका छन् । घिसिङले यो सबस्टेसन सरकारको उच्च प्राथमिकताको आयोजना भएकाले कुनै पनि बहानामा निर्माणमा ढिलाइ गर्न नहुने बताए ।


सबस्टेसन निर्माणको ठेक्का पाएको भारतीय कम्पनी एबीबीले ठेक्का सम्झौतामा निर्धारित समय अर्थात् ३१ डिसेम्बर २०१९ भित्र सबस्टेसन काम सकी चार्ज गर्ने प्रतिबद्धता जनाएको छ । सबस्टेसनको इन्जिनियरिङको ९५ प्रतिशत, उपकरणको उत्पादन तथा आपूर्तिको ६० प्रतिशत र जडान तथा सिभिल कार्यको प्रगति ४० प्रतिशत छ । प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसेम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले मकवानपुरको हेटौडा र सुनसरीको इनरुवामा पनि ४००/२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ ।


माघमा पोखरामा बसेको नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनको नेपालतर्फको सबै काम सन् २०१८ भित्रमा सक्ने सहमति गरेको थियो ।


उक्त बैठकले नेपाल र भारतबीच रहेको अन्य प्रसारण लाइनहरूको स्तरोन्नति र निर्माण अघि बढाउने विषयमा पनि सहमति गरेको थियो ।


बैठकले १३२ केभी सिंगल सर्किट रक्सौल–परवानीपुर एवम् कटैया–कुशवाह प्रसारण लाइन डबल सर्किटमा स्तरोन्नति गर्ने साथै प्रस्तावित ४ सय केभीको न्यु लम्की–बरेली एवम् नयाँ दुवही–पूर्णिमा प्रसारण लाइनको अध्ययन गर्ने विषयमा प्राविधिक समितिले तयार पारेको प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।

प्रकाशित : असार २, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?