कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेयर निष्कासन ३४ प्रतिशतले घट्यो

काठमाडौँ — यो वर्ष सेयर बजारमा ३५ अर्ब रुपैयाँ बराबरको प्राथमिक निष्कासन भएको छ । गत वर्षको तुलनामा कुल प्राथमिक सेयर निष्कासन ३४ प्रतिशतले कम हो ।

सेयर निष्कासन ३४ प्रतिशतले घट्यो

यो चालु आर्थिक वर्षमा आईपीओ, हकप्रद, एफपीओ, ऋणपत्र र सामूहिक लगानी कोषले निष्काशन गरेको कुल रकम हो ।


आर्थिक वर्ष ०७४/७५ मा कुल ५३ अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन भएको थियो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पुँजी वृद्धिका लागि दिइएको २ वर्ष गत वर्ष सकिएको छ । यसकारण यो वर्ष प्राथमिक निष्कासनमा कमी आएको बोर्डले जनाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न बुधबार आयोजित कार्यक्रममा बोर्डले यो तथ्यांक सार्वजनिक गरेको हो ।


यो वर्ष बजारमा सूचीकृत कम्पनी संख्या साढे ७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष नेप्सेमा सूचीकृत कम्पनी संख्या १ सय ९६ रहेकामा यो वर्ष बढेर २ सय ११ पुगेको बोर्डले जनाएको छ ।


निर्देशित पुँजी पुर्‍याउनकै लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष ०७४/७५ र ०७३/७४ मा ठूलो परिणाममा सेयर निष्कासन गरेका थिए । जसमध्ये गत वर्ष ५३ अर्ब र अघिल्लो वर्ष ५९ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन भएको बोर्डको तथ्यांक छ ।


यो वर्षको ११ महिनामा २५ कम्पनीले ७ अर्ब २४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेका थिए । गत वर्ष २१ कम्पनीद्वारा ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन भएको थियो ।

आर्थिक वर्ष ०७४/७५ मा २५ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन भएको बजारमा यो वर्ष ४ अर्ब ३३ करोड रुपैयाँ बराबरको मात्र निष्काशन भएको बोर्डको तथ्यांक छ । यो वर्ष कुनै पनि कम्पनीले थप निष्काशन (एफपीओ) जारी गरेका छैनन । गत वर्ष ६ वटा कम्पनीले साढे ११ अर्ब रुपैयाँ बराबरको एफपीओ निष्कासन भएको थियो ।


यो वर्षको ११ महिनामा तीन वटा कम्पनीले साढे १९ अर्बको ऋणपत्र र ४ वटा कम्पनीले ३ अर्ब ९० करोडको सामूहिक लगानीकोष निष्कासन गरेका छन् । गत वर्षको तुलनामा ऋणपत्र निष्कासन बढेको हो भने सामूहिक लगानी कोषको निष्कासन घटेको हो ।


यसैगरी यो वर्ष करिब ९७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २० प्रतिशतले कम हो । अघिल्लो वर्ष १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । वार्षिक सेयर कारोबार घटेसँगै दैनिक औसत कारोबार रकम पनि करिब ५१ प्रतिशतले घटेको बोर्डले जनाएको छ ।


यो वर्ष दैनिक औसत सेयर कारोबार ४३ करोड ८९ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा यस्तो कारोबार दैनिक ८९ करोड १४ लाख रुपैयाँ थियो ।


वार्षिक कारोबार रकममा कमी आए पनि गत वर्षको तुलनामा यो वर्ष सेयर कारोबार सख्या भने करिब १३ प्रतिशतले बढेको छ । यो वर्ष ३३ करोड २९ लाख कित्ता सेयर किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब साढे २९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस्तै कुल बजार पुँजीकरणमा कारोबारको प्रतिशत २७.८ प्रतिशतले घटेको छ । गत वर्ष यस्तो प्रतिशत २३ प्रतिशतले घटेको थियो ।


यसैगरी गएको एक वर्ष कुल बजार पुँजीकरण १० प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो पुँजीकरण २२.७ प्रतिशतले घटेको थियो । गत जेठसम्म सूचीकृत धितोपत्रको बजार पुँजीकरण १५ खर्ब ७९ अर्ब रुपैयाँ छ । गत वर्षको सोही अवधिमा यस्तो पुँजीकरण १४ खर्ब ३५ अर्ब रुपैयाँ थियो ।


प्रकाशित : असार ४, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?