कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुन र इन्धन निजी क्षेत्रलाई खुला

काठमाडौँ — सरकारले नुन र इन्धन निजी क्षेत्रलाई खुला गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकासी पैठारीसम्बन्धी आदेशमा परिमार्जन गरी उक्त व्यवस्था गरेको हो ।

नुन र इन्धन निजी क्षेत्रलाई खुला

‘देशको आपूर्ति व्यवस्था र सार्वजनिक हितलाई दृष्टिगत गरी कुनै वस्तु कुनै सार्वजनिक संस्था वा निकाय वा प्रचलित कानुनबमोजिम दर्ता भएको कम्पनी वा संस्थाबाट पैठारी गर्ने गरी नेपाल सरकारले आवश्यक व्यवस्था गर्न सक्नेछ,’ असार २ गते राजपत्रमा प्रकाशित सूचित आदेशमा भनिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार नयाँ व्यवस्थाअनुसार निजी कम्पनीले पनि नुन र इन्धनको कारोबार गर्न पाउने छन् ।


‘नुनको कारोबार साल्ट ट्रेडिङ कर्पोरेसन्स र इन्धनको कारोबार आयल निगमले मात्रै गर्दै आएका छन् । नयाँ व्यवस्थाअनुसार आपूर्ति व्यवस्था र सार्वजनिक हितलाई दृष्टिगत गरी सरकारले निजी कम्पनीलाई पनि दिनेछ,’ विभागका महानिर्देशक गौचनले भने ।


सूचनामा पनि एकीकृत गरेको छ । यसअघि कृषि मन्त्रालय, स्वास्थ्य, वन मन्त्रालयले आफैंले राजपत्रमा सूचना प्रकातिश गर्दै आएका थिए । अब भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मात्रै पत्रपत्रिकामा सूचना प्रकाशित गर्न पाउने गौचनले बताए ।


‘कुनै वस्तुलाई निकासी पैठारीका लागि पूर्ण वा आंशिक रूपमा बन्देज नियन्त्रण वा नियमन गर्न आवश्यक भएमा सम्बन्धित निकायले लेखी पठाएको आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना प्रकाशित गरी त्यस्तो बन्देज, नियन्त्रण वा नियमनको आदेश जारी गर्ने प्रणाली कायम गरिएको छ,’ आदेशमा भनिएको छ ।


मन्त्रालयले क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक), प्लास्टिक, लाइटलगायतमा आयातमा भने बन्देज लगाएको छ । स्वास्थ्य तथा वातावरणलाई हानिकारक भएको जनाउँदै मन्त्रालयले बन्देज लगएको हो । ‘आयातमा पूर्ण बन्देज, मौलिक वस्तुमा निर्यात प्रोत्साहनसहितको परिर्माजित निकासी पैठारीसम्बन्धी सूचित आदेश असार २ गतेको राजपत्रमा प्रकाशित भएको छ, ‘गौचनले भने, ‘सूचित आदेश प्रकाशित भएको मितिबाट लागू हुनेछ ।’


२० माइक्रोनको सट्टा ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला तथा सिटको पैठारीमा बन्देज लगाइएको उल्लेख छ । यीबाहेक मादक तथा लागु पदार्थको सट्टा मादक शब्द हटाइएको र लागू औषध (नियन्त्रण) ऐन, २०३३ मा परिभाषा गरिए बमोजिमका लागु पदार्थहरू थप गरिएको जनाएको छ ।


बेट ब्लु छाला निकासीको सम्बन्धमा निकासीकर्ताले छाला निकासी परिमाणको न्यूनतम तीस प्रतिशत क्रस्ट वा पूण प्रशोधित छाला वा छालाको वस्तु सोही आर्थिक वर्षमा निकासी गर्नुपर्ने जनाएको छ ।


चामलको निकाासीमा परिमाणात्मक बन्देज लागेकामा हाल त्यस्तो व्यवस्थामा केही खुकुलो गरेको छ । गौचनका अनुसार हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने स्थानीय मौलिक प्रजातिका चामल सम्बन्धित निकायको सिफारिसमा निकासी गर्न परिमाणात्मक बन्देज लाग्ने छैन । दालजन्य वस्तु (रहर) को निकासी खुला गरिएको गरिएको छ ।


पैठारीसम्बन्धी विशेष व्यवस्थाअनुसार उपभोग अवधि भन्सार बिन्दुमा आइपुग्दा कम्तीमा पनि ७५ प्रतिशत बाँकी भएको उपभोग्य वस्तुको मात्र पैठारी गर्न पाइनेछ । जीवनरक्षक औषधिको पैठारीको हकमा औषधि व्यवस्था विभागको सिफारिसबमोजिम हुने उल्लेख छ ।


नेपाल राष्ट्र बैंकबाट स्वीकृत बैंकिङ प्रणालीबाहेक कसैले पनि अमेरिकी डलर दुई हजारसम्मको वस्तु पैठारी गरेमा नेपाल राष्ट्र बैंकले सो को स्रोत अध्ययन गरी सिफारिस गरेको आधारमा शतप्रतिशत पैठारी दस्तुर लिई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पैठारीको स्वीकृृत दिन सक्ने जनाइएको छ ।


प्रकाशित : असार ४, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?