कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अलकत्रा आयातमा साफ्टा सुविधा दुरुपयोगको शंका

विमल खतिवडा

काठमाडौँ — अलकत्रा (बिटुमिन) आयातमा दक्षिण एसियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा) ले दिने सुविधाको दुरुपयोग भएको आशंकामा सरकारले छानबिन गरेको छ । वीरगन्ज भन्सार कार्यालयले अलकत्रा आयातका तीनवटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

भारतकै सामग्री भनेर कागज बनाएर इरानबाट आयात गरेको तथ्य फेला पारेपछि ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । ‘अलकत्रा आयात/निर्यातको कागजात हेर्दा अलकत्रा भारतमा बनेको देखाउँछ,’ वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता मनीष महतोले भने, ‘स्टिकर हेर्दा इरानको जे आयल कम्पनीको देखियो । शंका लागेपछि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’


ट्रकहरू नियन्त्रणमा लिएको एक साता भयो । ‘मानौं भारत वा सार्क मुलुकहरूबाट बिटुमिन आयात गर्दा साफ्टा सहुलियतअन्तर्गत ७ दशमलव २५ प्रतिशत भन्सार महसुल लाग्छ,’ उनले भने, ‘तेस्रो मुलुकबाट आयात गरे १५ प्रतिशत भन्सार महसुल तोकिएको छ ।’ त्यसकारण इरानको बिटुमिन भारतको भनी आयात गरेको हुन सक्ने आशंका गरिएको छ ।


वीरगन्ज भन्सारले यसबारे भन्सार विभागमा पत्राचार गरिसकेको छ । ‘विभागबाट के निर्देशन आउँछ, त्यहीअनुसार अघि बढ्नेछौं,’ उनले भने । भारतमा जे आयलको कुनै ब्रान्ड नभएको महतोले दाबी गरे । ‘भारतमा बिटुमिन उत्पादन गर्ने जम्मा तीनवटा कम्पनी मात्र छन्, उनीहरूले साफ्टा सर्टिफिकेट उपलब्ध गराउँदैनन्,’ उनले भने, ‘त्यसैले जे आयल इरानकै कम्पनी हो ।’ भारतका तीनवटा कम्पनीले बिटुमिन उत्पादन गर्छन् । ती कम्पनीले इरानबाट ल्याई भारतकै भन्ने देखाई साफ्टा सुविधाको दुरुपयोग गर्ने चलन बढेको भन्दै सरोकारवाला निकायहरू भारतीय दूतावास, भन्सार कार्यालयहरूलाई जानकारी गराएका थिए ।


यता निर्माण व्यवसायीहरूले अलकत्रा आयात रोकिएको भन्दै निर्माण कार्य प्रभावित भएको दाबी गरेका छन् । अत्यावश्यक निर्माण सामग्री बिटुमिन आयात नहुँदा निर्माण व्यवसायी समस्यामा परेको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अहिले नदीजन्य निर्माण समग्रीको असारको पहिलो सातादेखि नै नदीनालाबाट उत्खनन बन्द हुँदा देशभरका व्यवसायीहरू थप मारमा परेको महासंघले जनाएको छ ।


महासचिव दाहालले जति सक्दो चाँडो बिटुमिन आयात तथा अन्य निर्माण समग्री सहज रूपमा उपलब्ध हुने व्यवस्था मिलाई निर्माण कार्यलाई सहज बनाउन विज्ञप्तिमार्फत सम्बन्धित निकायहरूसमक्ष अनुरोध गरेका छन् । ‘इरान वा साउदी जहाँबाट ल्याएको हो, त्यहीँको हो भन्नुपर्नेमा भारतकै हो भन्दै फर्जी कागज बनाएर साफ्टा सुविधा दुरुपयोग गरिएको भन्ने सुनियो,’ निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने, ‘यस्तो कार्यलाई रोक्नुपर्छ, यस्तो दुरुपयोग धेरै भएको हुन सक्छ ।’


उनले बिटुमिन आयात नहुँदा निर्माण कार्य प्रभावित बनेको दाबी गरे । निर्माणलाई प्रभावित गर्ने गरी बिटुमिन आयात नरोकिएको भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले बताए । ‘आयात रोकिने कुनै कारण छैन,’ उनले भने, ‘आयातकर्ता उहाँहरू आफैंले साफ्टाको सुविधा माग्नुभएको छ, त्यसका लागि साफ्टाको प्रमाणित कागजपत्र पेस गर्नुपर्छ, यो पेस नगरी सुविधा पाउनु हुन्न ।’ साफ्टा सार्क मुलुकमा उत्पादित वस्तुलाई दिइने सुविधा हो । यसका लागि निश्चित मापदण्ड पुर्‍याउनुपर्ने हुन्छ ।


‘भारतमा उत्पादित सबै वस्तुले साफ्टा सुविधा पाउँछन् भन्ने होइन,’ उनले भने, ‘मापदण्ड मिल्नुपर्छ, त्यहाँ उत्पादन भएको, सरकारले प्रमाणित गरेको, त्योअनुसारको सर्टिफिकेट जारी गरेको हुनुपर्छ ।’ यी सबै कागजात पेस गरेर आएको खण्डमा मात्र साफ्टा सुविधा पाइनेछ ।


भारतमा उत्पादन नभएको वस्तुले सुविधा खोजेर नपाइने उनले बताए । ‘नक्कली कागपत्र बनाएको भए रोकिने मात्र होइन, जफत नै हुन्छ,’ उनले भने, ‘तर आयातमा रोकतोक छैन ।’ बिटुमिन वीरगन्ज, भैरहवा र विराटनगरको भन्सार नाकाबाट आयात हुँदै आएको छ ।

प्रकाशित : असार ६, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?