कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परीक्षण तयारीबिनै रोकियो तरकारी 

राजु चौधरी

काठमाडौँ — सरकारले तयारीबिनै निकासी पैठारीसम्बन्धी आदेश दिँदा ठूलो परिमाणमा तरकारी तथा फलफूल भन्सार नाकाहरूमै रोकिएको छ । आयात प्रतिस्थापन र स्वदेशी उत्पादन बढाउन आदेश परिमार्जन गरी जारी गरे पनि प्रक्रिया नपुर्‍याउँदा भन्सार नाकामा समस्या भएको हो ।

परीक्षण तयारीबिनै रोकियो तरकारी 

असार २ गते राजपत्रमा प्रकाशित आदेशमा ‘ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रूपमा गर्नु पर्नेछ’ भन्ने वाक्यांश उल्लेख छ ।


जसअनुसार व्यवसायीहरूले तरकारी तथा फलफूल आयात गर्दा अनिवार्य परीक्षण गर्नुपर्छ । भन्सार नाकामा विषादीको मात्रा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गरी कानुनी कारबाही गर्नुपर्छ । विभागसँग विषादी परीक्षण गर्ने प्रयोगशाला छैन । परीक्षण गर्नका लागि दक्ष कर्मचारी पनि छैनन् ।


‘सरकारले गर्न खोजेको उचित थियो तर कार्यान्वयन गर्नुपूर्व सबै प्रक्रिया पुर्‍याउनुपर्थ्यो,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक अधिकारीले भने, ‘हचुवाको भरमा बिनातयारी जारी गरियो । कार्यान्वयन गर्न खोज्दा समस्या देखियो ।’


ती अधिकारीका अनुसार उत्पादन पर्याप्त हुँदा समस्या थिएन । तर, अहिले स्वदेशी उत्पादनले माग धान्दैन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटी बजारमा मात्रै भारतबाट करिब ४० प्रतिशत भित्रिन्छ । तर, पूर्वतयारीबिनै कार्यान्वयन गर्दा आपूर्ति प्रणालीमा नै समस्या देखिन थालेको हो ।


‘विषादी परीक्षणका लागि प्रयोगशाला, प्रयोगशालाका लागि चाहिने केमिकल छ/छैन त्यो हेर्नुपर्थ्यो,’ ती अधिकारीले भने, ‘खाद्य प्रविधिको हकमा नाकामा परीक्षण गर्ने केमिकल छैन । प्रयोगशालासँगै दक्ष जनशक्ति पनि छैन ।’ हाल प्याक्टको सहयोगमा कृषि विभागले ५ स्थानमा क्वारेन्टाइन स्थापना गरेको छ ।


तर, त्यसमा पनि पर्याप्त जनशक्ति छैन । समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार परीक्षण र कारबाही गर्ने हिसाबले खाद्य प्रविधिले नै विषादीको परीक्षण गर्नुपर्छ । तर, खाद्य प्रविधिसँग पनि छैन । श्रेष्ठका अनुसार पर्याप्त मात्रामा भित्रिन नसक्दा व्यवसायीहरूले गुनासो गर्दै आएका छन् । सिजनकै फलफूल पनि भित्रिन सकेको छैन ।


‘भन्सारमा परीक्षण गराउन समस्या छैन, भन्सारमा आएका सामान काठमाडौं परीक्षण गरी रिर्पोट भन्सार नाकामा पठाउँदा थप ३/४ दिन लाग्छ,’ व्यवसायीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘व्यवसायीहरूले नाकामै परीक्षणको व्यवस्था हुनुपर्ने माग गरेका छन् । तर, सरकारसँग पर्याप्त छैन ।’


आयातित ताजा तरकारी तथा फलफूल भन्सार नाकाहरूमै रोकिएपछि आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि विकास मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा भन्सार विभागबीच छलफलसमेत भएको थियो । त्यसक्रममा पनि कृषि मन्त्रालय र खाद्य प्रविधिबाट सहभागी प्रतिनिधिहरूले आपत्ति जनाएका थिए । खाद्य प्रविधिका प्रतिनिधिहरूले प्रयोगशाला विषादीको विषयमा आफूहरूसँग परामर्शबिनै जारी गरेको असन्तुष्टि व्यक्त गरेका थिए ।


आपूर्ति महानिर्देशक योगेन्द्र गौचनले कृषिका कर्मचारीलाई अधिकार दिएर परीक्षण गरेरै मात्र छाड्ने निष्कर्ष निस्केको बताए । ‘भन्सारमा यत्तिकै हुँदा बिग्रेन सम्भावना हुन्छ । प्रयोगशाला पठाउँदा थप २–३ दिन लाग्छ,’ महानिर्देशक गौचनले भने, ‘ती विषयमा कृषि मन्त्रालय र खाद्य प्रविधि विभागले मिलाउने सहमति भएको छ ।’


आदेश राजपत्रमै प्रकाशित भएकाले क्वारेन्टाइन र विषादी परीक्षण अनिवार्य लागू हुने बताए । उनले विषादी परीक्षणबिनै तरकारी तथा फलफूल नभित्रिने बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले पनि निर्णय कार्यान्वयन गरिने बताए ।


कार्यान्वयनका क्रममा आवश्यक स्रोत साधान सरकारले उपलब्ध गराउने उनले बताए । ‘कार्यान्वयनको पाटो र आवश्यक साधन स्रोतको विषयमा वाणिज्य तथा आपूर्ति सचिव र कृषि सचिवबीच छलफल भएको छ,’ उनले भने, ‘सबै नाकामा प्रयोगशाला राख्छौं । अहिले देखिएको समस्या एक–दुई दिनमै समााधान हुन्छ ।’ उनले आउने वर्षमा विषादीरहित हुने बताए ।


फलफूल तथा तरकारी भन्सार नाकामा रोकिएपछि बजारमा सामान्य मूल्य बढ्ने सरकारी अधिकारीहरू नै बताउँछन् । ‘एक–दुई दिन ढिलाइले तरकारी तथा फलफूल केही नोक्सानी हुन सक्छ । त्यसले व्यवसायीसँगै उपभोक्तालाई केही समय महँगो हुन आउँछ,’ महानिर्देशक गौचनले भने, ‘आयातमा कडाइ हुँदा उत्पादनमा जोड हुन्छ । खेती बढ्छ ।’


विराटनगरमा पनि रोकियो

विराटनगर– विषादी परीक्षण निकाय नहुँदा भारतलगायत तेस्रो मुलुकबाट ल्याइएको फलफूल र तरकारी भन्सारमै रोकिएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले ताजा फलफूल, तरकारीको क्वारेन्टाइन र जीवनाषक विषादी अनिवार्य रुपमा परीक्षण गरी मात्रै पैठारी गर्न भनेपछि यस्तो अवस्था आएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले बताए ।


‘मन्त्रालयको सूचना अनुसार जीवनाषक विषादी परीक्षण गर्ने निकाय यहाँ नभएकाले तरकारी र फलफूलको भन्सार जाँचपास रोकेका छौं,’ उनले भने, ‘विराटनगरमा क्वारेन्टाइन कार्यालय भए पनि जीवनाषक विषादी परीक्षण कार्यालय नभएकाले समस्या भएको हो ।’


यसअघि, विराटनगर भन्सार कार्यालयबाट दैनिक ५ देखि ७ ट्रक आलु, प्याज, १० ट्रकसम्म हरियो तरकारी र आँप भारतबाट, चीनबाट स्याउ आउने गरेको पौडेलले बताए । जाँचपासमा रोक लगाएदेखि तरकारी र फलफूल नेपालतर्फ पैठारी हुन नसकेको उनले सुनाए ।


भारतीय तरकारी निर्बाध नेपाल भित्रिएपछि स्थानीय उत्पादन बिक्री नभएको भन्दै कृषकहरूले बिरोध गर्दै आएका थिए । अहिले स्थानीय उत्पादन माग भन्दा बढी रहेकाले भारतबाट तरकारी पैठारी नहुँदा पनि बजारमा कुनै असर देखिएको छैन । कटहरीका अगुवा कृषक कोपिन्द्र सिंहले भारतीय तरकारी निर्बाध पैठारी हुँदै आएकाले आफूहरूले गरेको उत्पादनले मूल्य नपाइरहेको अबस्थामा सरकारको यो निर्णय स्वागत योग्य भएको बताए ।


‘अहिले स्थानीय तरकारी नै आवशयकताभन्दा बढी उत्पादन भएकाले भारतीय तरकारी पैठारी भएर नआउँदा पनि बजारमा कुनै असर देखिएको छैन,’ उनले भने, ‘अहिले तरकारी उत्पादनको मुख्य सिजन भएकाले असर देखिएको छैन तर बर्षा भएपछि बजारमा स्थानीय उत्पादनले मूल्य पाउँछ ।’


विराटनगरस्थित क्वारेन्टाइन कार्यालयका प्रमुख अरुण घिमिरेले मन्त्रालयले गरेको पत्राचार अनुसार आफूहरूले पहिले देखि नै जाँच गरेर मात्रै कुनै किसिमको तरकारी तथा फलफूल पैठारी हुन दिएको बताए । उनले जीवनाषक विषादी आफूहरूको मातहत नपरेको र त्यो परीक्षण गर्ने निकायसमेत यहाँ नभएकाले समस्या भएको बताए ।

कहाँ हुन्छ विषादी परीक्षण ?

पर्सा– भारतबाट हरियो तरकारी र फलफूल आयात गर्दा विषादी अवशेष परीक्षण अनिवार्य गरिएपछि मुलुकको प्रमुख नाका वीरगन्जबाट आयात ठप्प भएको छ ।


वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतोका अनुसार शुक्रबारदेखि आयात रोकिएको हो । यो नाका मुलुककै सर्वाधिक तरकारी र फलफूल आयात हुने नाका हो । भारतको बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, गुजरात राज्यसमेतबाट यो नाका हुँदै मौसमी तथा बेमौसमी हरियो तरकारी आउँछ । भारतकै जम्मु कस्मिर र अन्य राज्यमा उत्पादित स्याउलगायत फलफूल आयात हुने गरेको छ ।


नयाँ नियमले दैनिक ७ देखि १० गाडीसम्म भित्रिने तरकारी तथा फलफूलको आयात ठप्प भएको छ । महतोले प्लान्ट क्वारेन्टाइन परीक्षण वीरगन्जमै हुने भए पनि विषादी अवशेष परीक्षण कहाँ हुन्छ भनी यकिन नभएकाले आयातकर्ता तथा आफूहरूसमेत अन्योलमा रहेको बताए । यसले आयातकर्तालाई पनि अन्योलमा पारेको छ ।


‘वाणिज्यले रोक त लगायो तर विषादी अवशेष परीक्षण कहाँ गरिन्छ भनी हामीलाई पनि सूचना दिन सकेन,’ उनले भने, ‘सर्लाहीमा यस्तो प्रयोगशाला छ भनी हामीले सुनेका छौं तर कहाँ छ र हाल कस्तो हालतमा छ भनी हामीलाई पनि यकिन छैन ।’

प्रकाशित : असार ९, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?