कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्चार उद्यमी क्लिनफिडको पक्षमा

काठमाडौँ — सरकारले ल्याएको विज्ञापनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा भएको ‘क्लिन फिड’ नीतिका पक्षमा सञ्चार उद्यमी उभिएका छन् । नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रसारक संघ (अक्युराव), ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) र नेपाल विज्ञापन संघले विधेयकमा भएको क्लिनफिड लागू गर्ने कानुनी व्यवस्थाको स्वागत गर्दै बुधबार विज्ञप्ति जारी गरेका छन् । 

‘स्वदेशी उत्पादन र उद्योगलाई समेत यो नीतिले सहयोग र विस्तारका लागि प्रवर्द्धन गर्नुका साथै परनिर्भरतलाई समेत कम गर्न सघाउ पुर्‍याउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको क्लिन फिड नीतिलाई हामी पूर्ण रूपमा स्वागत गर्दछौं ।’


विदेशी च्यानलमा विज्ञापनरहित स्वच्छ र छनोट गरिएको कन्टेन्ट मात्र हेर्न पाउनु प्रत्येक नेपाली नागरिकको संविधानले व्यवस्था गरेको उपभोक्ता अधिकार भएको विज्ञप्तिमा स्मरण गराइएको छ । ‘पैसा तिरेर पनि अन्य मुलुकको विज्ञापन हेर्नुपर्ने बाध्यकारी व्यवस्था अन्त्य हुनु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ ।


विज्ञप्तिमा क्लिन फिड लागू भएपछि नेपाली कला, संस्कृति र सिर्जनशीलताको समेत विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । टेलिभिजन प्रसारक व्यवसायीले भने विधेयकको विरोध गरेका छन् । उनीहरूले सोमबारदेखि २४ घण्टा प्रसारण बन्दसमेत गरेका थिए । क्लिन फिड नीति कार्यान्वयन नहुँदा नेपाली बजारलाई विदेशी विज्ञापनले प्रदूषित गरिरहेको र यसले नेपाली मौलिक उत्पादन र राष्ट्रिय उत्पादनलाई नकारात्मक असर पारिरहेको दाबी बुधबार जारी विज्ञप्तिमा गरिएको छ ।


‘संसारका अधिकांश राष्ट्रले क्लिन फिड लागू गरिरहेको परिवेशमा नेपालमा पनि लागू गर्न ढिलाइ भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ । नेपाली बजारलाई लक्षित गरेर प्रसारण भएका विदेशी च्यानल क्लिन फिड कसैविरुद्ध लक्षित नभएको दाबी विज्ञप्तिमा गरिएको छ । नेपालमा क्लिन फिड लागू गर्ने विषय एक दशकदेखि चर्चामा थियो ।


विज्ञप्तिअनुसार हाल नेपालमा टीभी विज्ञापनमध्ये ७० प्रतिशत विज्ञापन छिमेकी देशका बहुराष्ट्रिय कम्पनीद्वारा सिर्जित छन् । स्वीकृति प्राप्त झन्डै डेढ सय विदेशी च्यानलमध्ये सयभन्दा बढी पे च्यानल छन् । पे च्यानल विज्ञापनरहित छैनन् ।


क्लिन फिड नीति लागू भएपछि भारतीय तथा अन्य वैदेशिक सामग्रीहरूको नेपालमा सित्तैमा विज्ञापन गर्ने प्रचलनको अन्त्य हुने र स्वदेशमै उत्पादित सामग्रीले राम्रो बजारीकरणको अवसर पाउने विज्ञप्तिमा दाबी गरिएको छ । ‘विदेशी च्यानललाई विज्ञापनरहित गर्नु भनेको आयात निरूत्साहित गरेर नेपालको व्यापार घाटा कम गर्ने र उत्पादनशील क्षेत्रलाई लागत प्रतिस्पर्धी बनाउने एउटा महत्त्वपूर्ण कदम हो,’ विज्ञप्तिमा उल्लेख छ ।


विज्ञप्तिअनुसार क्लिन फिड नीतिले उपभोक्तालाई छनोटको अधिकार दिने अपेक्षा छ । कुनै पनि नागरिकले आफ्नो आवश्यकता र आर्थिक क्षमताअनुसार सेवा उपभोग गर्नेछन् । विदेशी कम्पनीहरूले नेपालमा खर्च नगरी करोडौं मूल्यको प्रचारप्रसार पाइरहेका छन् । ती च्यानल प्रसारण गर्न दिएबापत ठूलो रकम पनि असुल भइरहेको छ ।

प्रकाशित : असार १२, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?