कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खस्कियो नेपालगन्जको होटल व्यवसाय

मधु शाही

बाँके — स्थानीय तह कार्यान्वयसँगै गाउँगाउँमा मुकाम (केन्द्र) स्थापना भएपछि नेपालगन्जमा व्यापारिक चहलपहल घटेको छ । होटल व्यवसाय त्यसको प्रत्यक्ष मारमा परेको छ । कुनैबेला नेपालगन्ज मध्य तथा सुदूरपश्चिमको व्यावसायिक ‘हब’ थियो ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्था, ठूला परियोजना र सरकारी कार्यालयका कार्यक्रमले यहाँ बेग्लै चहलपहल हुन्थ्यो । संघीयताले नयाँ केन्द्र बनेपछि व्यापार–व्यवसाय ओरालो लागेको छ ।


पहिले सरकारी र गैरसरकारी संस्थाको उपस्थितिले होटल भरिभराउ हुन्थे । अहिले प्रायः सुनसान छन् । संघसंस्था र ठूला सरकारी कार्यालय सरेका छन् । होटल व्यवसायीका अनुसार यहाँस्थित ७५ प्रतिशत मझौला होटलको व्यापार सुकेको छ । जिल्लामा साना–ठूला गरेर २ हजार ५ सयको हाराहारीमा होटल सञ्चालित छन् । यसमा मझौला होटलको संख्या ३ देखि ५ सय हाराहारी छ । नेपालगन्जमा अहिले ८ वटा तारे होटल सञ्चालनमा छन् । चारवटा खुल्ने क्रममा छन् ।


नेपालगन्जको नयाँ सडकमा मात्र ६३ वटा होटल सञ्चालनमा थिए । त्यसमध्ये ३० प्रतिशतले होटल बन्द गरेको होटल व्यवसायी संघ जिल्ला अध्यक्ष भीम कँडेलले बताए । ‘नेपालगन्ज टुहुरोजस्तो भएको छ,’ उनले भने, ‘सबै शक्ति प्रदेश राजधानीमा पुग्यो, हामीलाई सुदूर बनाएर गयो ।’


संघले विशिष्ट, ‘क’, ‘ख’ र ‘ग’ वर्ग गरी चार श्रेणीमा होटल छुट्याएको छ । तारे होटलबाहेक मध्यमखाले होटल ‘क’ वर्गमा पर्छन् । स्थानीय तह सञ्चालनपछि मझौला होटल मर्कामा परेको व्यवसायीको भनाइ छ ।


स्थानीय सरकार आएलगत्तै एक वर्षयता चहलपल कम भएको कँडेलले सुनाए । विभिन्न कार्यक्रम र सेमिनारसमेत वडास्तरमा सञ्चालन हुन थालेको उनले बताए । ९ वर्षदेखि इन्द्रेणी होटल सञ्चालन गर्दै आएका उनले विगतमा महिनाभरि सेमिनार र कार्यशाला सञ्चालन हुने गरेको सम्झना गरे । अहिले चिया नास्तामा चित्त बुझाउनुपरेको छ । धेरैले होटलसँगै रोजगारको अरू विकल्प पनि खोज्न थालेको उनले सुनाए । बाँकेमा होटल व्यवसायमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानी छ ।

प्रकाशित : असार १६, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?