कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिब्बतबाट आयात बढ्दो

लक्ष्मी लम्साल

बेइजिङ — तिब्बतबाट नेपालतर्फ आयात बढ्दो छ । २०१९ को पहिलो ५ महिनामा नेपालतर्फ १२ प्रतिशतले निर्यात बढेको ल्हासाको भन्सार कार्यालयले जनाएको छ । 

भन्सार कार्यालयका अनुसार जनवरीदेखि मे महिनासम्ममा तिब्बतको वैदेशिक व्यापार परिमाण १ अर्ब ३८ करोड आरएमबी पुगेको छ ।


बेल्ट एन्ड रोड इनिसिएटिभमा जोडिएका मुलुकमध्ये तिब्बतको निर्यात लगभग पूरै नेपालमाथि निर्भर छ । विगत ५ महिनामा तिब्बतले नेपालमा गरेको निर्यात अघिल्लो वर्षको तुलनामा ११ दशमलव ८५ प्रतिशतले वृद्धि हुँदै १अर्ब ३७ करोड ८ लाख पुगेको छ अर्थात् २० लाख आरएमबी बराबरको निर्यात मात्रै नेपालबाहेक अन्य मुलुकमा भएको छ ।


हाल भन्सार क्लियरेन्स प्रक्रिया र सञ्चालन विधि अद्यावधिक गरिएको छ भने सम्बन्धित आयात र निर्यात शृंखला सुपरीवेक्षण दस्तावेज पनि संगठित रूपमा अघि बढाइएको छ । पहिले साढे ४ घण्टा लाग्ने भन्सार क्लियरेन्स अहिले करिब आधा घण्टामै सकिने गरेको तिब्बती अनलाइनहरूले जनाएका छन् ।


अन्तर्राष्ट्रिय भन्सार, अनुगमन तथा क्वारेन्टाइन, सूचना आदानप्रदान, रोकथाम, प्राविधिक आदान–प्रदान र पेसागत दक्ष जनशक्ति उत्पादनका क्षेत्रमा सक्रिय भएर आदान–प्रदान गर्दै जाने कार्यालयले जनाएको छ । तिब्बतको वैदेशिक व्यापारको मूल ढोका नेपाल भए पनि २०७२ वैशाखको भूकम्पपछि पुनः खुलेको तातोपानी नाकामा भने पहिलाको जस्तो चहलपहल अझै देखिएको छैन ।


४ वर्षको अन्तरालमा गत मध्य जेठमा खुलेको तातोपानी नाकामा नेपालबाट गएका रित्ता ट्रकले चिनियाँ ऊन भित्र्याए पनि नेपालतर्फको निर्यात शून्य बराबर छ भने स्थानीय बजारमा पनि रौनक छाउन सकेको छैन ।


परराष्ट्रमन्त्री ज्ञवाली तालियानमा

उत्तरपूर्वी ल्याउनिङ प्रान्तको तालियान सहरमा सोमबारदेखि हुने विश्व आर्थिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन आइपुगेका छन् ।


जुलाई १ देखि ३ तारिकसम्म हुने सम्मेलनका लागि उनी आइतबारको मध्य राति ल्याउनिङ प्रान्तमा उत्रिएका हुन् । मन्त्री ज्ञवालीसँगै बेइजिङबाट राजदूत लीलामणि पौड्याल पनि सो प्रान्त पुगेका छन् । ज्ञवालीले विश्व आर्थिक मञ्चका विभिन्न सत्रमा भाग लिएपछि बुधबारदेखि बेइजिङको भ्रमण गर्ने कार्यक्रम छ ।


चीनले आफ्नो उच्च महत्त्वमा पारेको विश्व आर्थिक मञ्चको तयारी पनि भव्य गरेको छ । चिनियाँ सञ्चार माध्यमहरूका अनुसार नयाँ युगमा बौद्धिकताको बाँडचुँड एवं विश्वव्यापीकरणका समस्याबारे विश्वका १ सय देशबाट भेला भएका १९ सयभन्दा बढी राजनीतिज्ञ, उद्योगी, बुद्धिजीवी र सञ्चार माध्यमहरूले विचार विमर्श गर्नेछन् ।

प्रकाशित : असार १६, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?